लन्डन । दिनभर परिरहेको झरी पर्वाह नगरि आइतबार केम्पटन पार्क रेस कोर्समा हजारौं नेपाली ओइरिए । बेलायतका नेपालीलाई तानेको थियो नेपाली मेलाले । नेपालमै दुर्लभ लाग्ने सांस्कृतिक झांकी, नृत्य र भेषभुषाले ‘मिनी नेपाल’ झैं लाग्थ्यो त्यहांको माहोल ।
मेलामा दुई दर्जन नेपाली संघसंस्थाले झांकी र करिब डेढ दर्जनले नृत्यमा प्रतिष्पर्धा गरेर आफ्नो मौलिक कला संस्कृति उजागर गरे ।
सोरठी, घांटु, बालन, लाखे, कृष्ण चरित्र नाच, धान नाच, चुडका, कौडा, रत्यौली देखि तीज र टहोंटे पर्व झल्काउने मौलिक प्रस्तुतिले रंगीयो रेस कोर्स । झांकीमा नेपालमै दुर्लभ ढिकी जांतो, डोको नाम्लो, हलो जुवा, कुटो कोदालो, स्याखु, चर्खा, राडी, गुन्द्री, चर्खा, ठेकी मदानी जस्ता करिब तीन दर्जन सामाग्री देखाएर लमजुङ समाज यूकेले नेपालमात्र बिर्साएन, एम्बासडर कप नै जित्यो ।
‘मेलामा सिंगो नेपाल झल्किएको आभास हुन्थ्यो’, मेला हेर्न पुगेकी एकजना दर्शक अलिसा सुवेदीले भनिन्, ‘यसले नेपाली कला संस्कृति जगेर्नामा अवश्य टेवा पुग्नेछ ।’
ति दर्शकले भनेजस्तै उद्देश्य लिएर तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावास र अन्य संघसंस्थाको सहकार्यमा गरेको हो दशौं नेपाली मेला । मेलाले नयां पुस्तामा नेपाली भाषा, कला र संस्कृति हस्तान्तरण हुने आशा समेत तमुधिं यूकेको छ । बेलायतमा नेपालीले गर्ने ‘इभेन्ट’ मध्ये गोर्खा कप पछि वृहत मानिन्छ नेपाली मेला । सन् २००९ देखि वर्षेनी नेपाली मेला हुंदै आएको छ ।
मेला अवलोकन गर्न बेलायतका लागि यमन, इराक, यूएइ, उज्वेकिस्तान, ट्युनिसियाका राजदूतहरु एवं बहमास, बंगलादेश, जोर्डन, रोमानिया, माल्दिभ्स, केन्या, इजिप्ट, स्वाजील्याण्ड, आइसल्याण्ड, एल साल्भाडोर, ताजिकिस्तान, बुल्गेरियाबाट प्रतिनिधित्व गर्ने विभिन्न तहका कुटनीतिज्ञ र बेलायतको विदेश मन्त्रालय (एफसीओ) का प्रतिनिधि पनि प्रत्यक्ष सहभागी थिए । कुटनीतिज्ञ निम्त्याउने चांजोपांजो नेपाली दूतावासले गरेको हो ।
सम्वोधनका क्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली मेला बेलायतको नेपाली समाजमा एउटा इतिहास, पर्व र अभिन्न अंग भइसकेको बताए । ‘मेला नेपाली संस्कृतिको रुपमा परिचित भइसकेको छ र यसले बेलायतभर छरिएर रहेका नेपालीमाझ एकता र भातृत्वको सन्देश दिएको छ’, राजदूतले भने ।
केक काटेर मेलाको दशौं संस्करण मनाइरहंदा आयोजक तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले मेला आयोजनाको उद्देश्य प्रकाश पार्दै यसलाई जीवन्त राख्न समस्त नेपालीको अठोट आवश्यक रहेको औंल्याए । तमुधिं यूके महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक हितकाजी गुरुङले स्वागत मन्तव्यसहित सहयोगीप्रति आभार व्यक्त गरे ।
मेलामा प्रमुख आकर्षण बन्यो झांकी र नृत्य । उत्कृष्ट झांकी र नृत्य गरि लमजुङ समाज यूकेले एम्बासडर कप जित्यो भने सिक्लेस पार्चे समाज यूके दोश्रो र घान्द्रुक वेलफेयर सोसाइटी यूके तृतीय भए । सांस्कृतिक नृत्यमा घान्द्रुक समाज यूके प्रथम, लमजुङ समाज यूके दोश्रो र सिक्लेस पार्चे समाज यूके तेश्रो भयो ।
झांकी तथा नृत्य प्रतियोगितामा उत्कृष्ट हुने संस्थालाई नेपाली दूतावास लन्डनले सन् २०१० देखि प्रायोजन गर्दै आएको एम्बासडर कप र गत वर्ष देखि एनआरएनए यूकेले प्रायोजन गरेको एनआरएनए यूके कप, मेडल, प्रमाणपत्र र ११ सय पाउण्ड नगद प्रदान गरियो । साथै, उपविजेतालाई ७ सय पाउण्ड र तेश्रो हुनेले ५ सय पाउण्ड नगद, मेडल र प्रमाणपत्र पाए । त्यस्तै नृत्य तर्फको प्रथम हुने समूहलाई ५ सय पाउण्ड, दोश्रोलाई ४ सय पाउण्ड र तेश्रोलाई तीनसय पाउण्ड प्रदान गरिएको थियो ।
उक्त प्रतियोगिताको निर्णायक मण्डलमा संयोजक एकेन्द्र गुरुङ र अन्य विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्तिहरु अतिप्रसाद पुन, तारा गुरुङ, नरेश खपांगीमगर, उत्तरमान लिम्बु र सनमकुमार बैराग निर्णायकमा थिए ।
मेला सफल बनाउन ६५ सदस्यीय तयारी समितिले तीन महिना यता निरन्तर गृहकार्य गरिरहेको थियो । मेला सफलताका लागि नेपालका उपराष्ट्रपति, परराष्ट्रमन्त्री र तमुधिं यूके संरक्षक शेष घलेले शुभकामना पठाएका थिए ।
तस्विर सौजन्य- मिलन तमु/शिव भण्डारी
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा