बेलायतलाई आतंकवादी आक्रमणको डर, ६७६ सम्भाव्य घट्नाबारे अनुसन्धान

लन्डन । गत मंगलबार बिहान बेलायती संसद भवन बाहिर पैदल तथा साइकल यात्रुमाथि जानी जानी कार ठोक्काउने सालिह खातेरलाई हत्या प्रयासको दुई भिन्न अभियोग लगाइएको छ । सुडानी मुलका २९ वर्षीय खातेर बेलायतको बर्मिङहम निवासी हुन् । तीन जना घाइते हुने गरि भएको उक्त घट्नालाई मेट प्रहरीले आतंकवादी आक्रमणका रुपमा हेरेको छ । सालिह सोमबार वेष्टमिनिष्टर म्याजिस्टे«टस कोर्टमा उपस्थित हुनेछन् ।

यो घट्नापछि बेलायती सुरक्षा संयन्त्र थप सतर्क बनेको छ । ब्रिटिश संसद नजिक आतंककारी हमला ठानिएको एक घट्नापछि ब्रिटिश सुरक्षा संयन्त्रले ७ सय वटा जति सम्भाव्य आतंकवादी हमलाबारे अनुसन्धान गरिरहेको सार्वजनिक भएको छ ।

ब्रिटिश प्रधानमन्त्री टेरेजा मेले ब्रिटेनले उसको इतिहासमै सबैभन्दा बढी आतंककारी हमलाको खतरा व्यहोरिरहेको चेतावनी दिएपछि यो जानकारी सार्वजनिक भएको हो ।

ब्रिटिश अधिकारीहरुले आतंककारी हमलाको स्रोत हुनसक्ने ठानिएका ६७६ वटा सम्भाव्य घट्नाहरुबारे अनुसन्धान भइरहेको जनाएका छन् । ६ महिना अघि त्यस्ता ५ सय वटा मात्र घट्नाबारे अनुसन्धान भइरहेको थियो । उनीहरुले सुरक्षा दलहरु तथा आतंकवाद विरोधी प्रहरीले गएको झण्डै डेढ वर्ष यता १३ वटा इस्लामवादी योजनाहरु निरस्त गरेको जनाएका छन् । त्यस्तै चरम दक्षिणपन्थीहरुले बनाएका थप चारवटा योजनाहरु पनि निरस्त पारिएको उनीहरुले बताए ।

डेली एक्सप्रेसले जनाएअनुसार सन् २०१० देखि २०१७ सम्म आतंकवादी क्रियाकलापका संलग्न रहेको अभियोगमा दुई हजार २९ जनालाई गिरफ्तार गरिसकिएको छ । गत डिसेम्बरसम्म एक वर्षकै अवधिमा चार सय १२ जना पक्राउ परेका थिए । बेलायती सुरक्षामन्त्री बेन वालेसले ब्रिटेनमा इस्लामिक उग्रवादी र चरम दक्षिणपन्थी दुवैबाट आतंकवादी आक्रमण योजना बढिरहेको र सुरक्षा संयन्त्रले प्रत्यक्ष अनुसन्धान पनि जारी राखेको बताए ।

प्रधानमन्त्री मेले निरन्तर आक्रमण बढिरहंदा देशवासीलाई एकै ठाउंमा जुट्न आव्हान गरेकी छन् । गत मंगलबार वर्ष दिनभित्र दोश्रो पटक संसद भवन बाहिर वेष्टमिनिस्टर आक्रमण भएपछि प्रधानमन्त्रीले भनिन्, ‘दोश्रो पटक सहनशीलता र स्वतन्त्रताको प्रतिक हाम्रो प्रजातन्त्रको घरको ढोका छेउमै भयानक दृश्य देख्नुपरयो । आतंकवादको धम्की ब्रिटेनमा उच्च छ । तर, म सबैलाई होसियार रहन र आफ्नो दैनिकी यथावत सञ्चालन गर्न आग्रह गर्दछु ।’

उग्रवादीहरुको लक्ष्य आतंक र हिंसामार्फत आफूहरुलाई विभाजित 
गर्ने भएपनि त्यो कहिल्यै सफल नहुने विश्वास प्रधानमन्त्री मेको छ ।

सन् २०१७ मा बेलायत अन्य युरोपेली मुलुकको तुलनामा सबैभन्दा बढि आतंकवादी आक्रमणको चपेटामा परयो । युरोपोलले युरोपका अन्य देशभन्दा बेलायतले धेरै आक्रमण सामना गरेको जनाएको हो ।

गत वर्ष आइसीसबाट प्रभावित आक्रमणबाट बेलायतको वेस्टमिनिस्टर, म्यानचेस्टर र लन्डन ब्रीजमा ३६ जनाले ज्यान गुमाएका थिए । 
युरोपोलका अनुसार यूकेपछि स्पेनमा १६, स्वीडेनमा ५, फ्रान्समा तीन, फिनल्याण्डमा दुई र जर्मनीमा एकजनाले आतंककारी आक्रमणमा ज्यान गुमाए । घट्नामा युरोपभर ८ सय जना घाइते भएका थिए । -इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री