बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: ०७:३६ | UK Time: 02:51

डा गोविन्द केसीसँग भएको सहमति सदनमा टेबुल

वीनेपाली
२०७५ साउन ११ गते १६:०५

काठमाडौँ-प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग राखेपछि सरकार र डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमति सदनमा टेबुल गरिएको छ । बैठकको शुरुमै कांग्रेसका सांसदहरुले आसनबाट उभिएर उक्त सहमतिका बारेमा स्पष्ट पार्न सरकारसँग माग गरेका थिए ।

त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेसका सांसद डा मीनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । सांसद डा रिजालले सरकार र डा केसीबीच वार्तामार्फत सहमतिमा अनशन टुङ्गिनु सकारात्मक भए पनि डा केसीले लामो समय अनशन बस्नुपरेको र संसद् पनि नियमित चल्न नसक्नु दुःखद भएको बताए ।

सरकारले जबरर्जस्ती यथास्थितिमा विधेयक अघि बढाउन नसक्ने भन्दै उनले डा केसीको माग सम्बोधन गर्न भएको सहमतिले सार्वभौम जनताको जीत भएको उल्लेख गरे ।

त्यसपछि सरकारका तर्फबाट शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा केसीको अनशनका क्रममा वार्ता तथा माग सम्बोधन गर्ने क्रममा भएका घटनाका बारेमा सदनलाई जानकारी गराएका थिए । सरकार डा केसीबीच बिहीबार नौ बुँदे सहमति भएपछि डा केसीको स्वास्थ्यलाई ध्यानमा राखी सघन उपचार कक्षमा उपचार भइरहेको उनले बताए । सहमति भएका विषयलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाउने पनि मन्त्री पोखरेलले बताए ।

कांग्रेसका गगन थापा, देवेन्द्रराज कँडेल, डा डीला संग्रौला, लक्ष्मी परियार, उमा रेग्मी, रामबहादुर विष्ट, प्रकाश रसाइली र नेपाल मजुदर किसान पार्टीका सांसद प्रेम सुवालले वार्ताका माध्यमबाट भएको सहमति सकारात्मक रहेको भन्दै बंगलादेशमा अध्ययन गरेर फर्केका र अध्ययनरत् छात्राका बारेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिएका अभिव्यक्ति आपत्तिजनक भएकाले कानूनी कारबाहीको माग गरे ।

उनीहरूले डा केसीको मागका विषयमा भएका सहमतिका बारेमा स्पष्ट पार्नुपर्ने बताउँदै सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान कार्यान्वयन नभएको बारेमा सरकारको ध्यानाकर्षण गराए । प्रतिपक्षी दलका सांसदले सरकारसँग पुनः स्पष्ट पार्न थप प्रश्न गरेपछि मन्त्री पोखरेलले सरकार र डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमति सदनमा टेबल गर्दै थप जानकारी गराएका थिए ।

मन्त्री पोखरेलले जुम्लामा घटेको घटना, बंगलादेशमा अध्ययनरत् छात्राका बारेमा सार्वजनिक अभिव्यक्तिका सम्बन्धमा सरकारले मन्त्रिपरिषद्मा छलफल गरेपछि सदनलाई जानकारी गराउने बताए । त्यसपछि पनि कांग्रेसका सांसदहरुले सहमतिको पत्रका बारेमा संसद्ले जानकारी पाउनुपर्ने अडान राखेपछि सभामुख महराले संसद् बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।

मन्त्री पोखरेलको जवाफपछि कांग्रेसका सांसद बालकृष्ण खाँडले डा केसीसँग भएको सहमतिका बारेमा स्पष्ट पार्नुपर्ने उल्लेख गर्दै सहमतिको मन्त्रिपरिषद्ले स्वामित्व लिनुपर्ने माग गरे । संसद्को अर्को बैठक साउन १३ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक