लन्डन । ब्रेक्जिट मुद्दालाई लिएर बेलायतको राजनीति एकपटक फेरि उथलपुथल भएको छ । युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएको २४ घण्टा नबित्दै विदेशमन्त्री बोरिस जोन्सनले पनि राजिनामा दिएका छन् । डेभिसले आइतबार सांझ र जोन्सनले सोमबार दिउसो राजिनामा दिएका हुन् । उनीहरुको राजिनामा प्रधानमन्त्री टेरेजा मेले स्वीकृत गरिसकेकी छन् ।
ब्रेक्जिट वार्ताहरुमा प्रधानमन्त्री मेको अडानलाई लिएर कयौं पटक राजीनामा दिने चेतावनी दिएका डेभिसले इयूसंग वार्ता गर्ने जिम्मेवारीसहित सन् २०१६ मा मन्त्री नियुक्त भएका थिए ।
प्रधानमन्त्री मेका लागि क्याबिनेटका प्रभावशाली मन्त्रीहरुको राजिनामालाई ठूलो धक्काको रुपमा लिइएको छ ।
प्रधानमन्त्री मेको मन्त्रिपरिषद्ले गत शुक्रबार इयूसंगको भावी व्यापार सम्बन्धबारे एउटा नयां प्रस्तावमा सहमति जनाएको केही समयपछि मन्त्रिहरुको राजीनामा आएको हो ।
मन्त्रीहरुको राजिनामा दिलाउने यस्तो थियो ‘ब्रेक्जिट डिल’
बेलायत सरकारले ब्रेक्जिट (युरोपेली युनियनबाट बहिगर्मन) पछि इयूसंग भावी सम्वन्धबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ । प्रधानमन्त्री टेरेजा मे नेतृत्वको मन्त्रिपरिषदले इयूबाट बाहिरिने सम्बन्धि तीन पृष्ठ लामो ‘ब्रेक्जिट डिल’ शनिबार सार्वजनिक गरेको हो ।
क्याबिनेटले शुक्रबार सहमति गरेको नयां ब्रेक्जिट डिलमा आगामी २९ मार्च २०१९ मा ब्रिटेनले युरोपेली संघ छाड्ने, स्वतन्त्र आवागमन अन्त्य हुने र ब्रिटेनले आफ्नो सीमाको नियन्त्रण फेरि आफैंसंग राख्ने उल्लेख छ ।
बेलायतले इयूलाई यस अघिको जस्तै प्रत्येक वर्ष भारी रकम नपठाउने, व्यवसायीमैत्री नयां भन्सार प्रणाली लागू गरिने एवं यूके र इयूबीच स्वतन्त्र व्यापार क्षेत्र स्थापना गरिने नयां नीतिमा उल्लेख छ ।
त्यसैगरि उपभोक्ता हित, रोजगारी सम्बन्धि हक र वातावरण आदि विषयमा उच्च मापदण्ड कायम गरिने, साझा कृषि र साझा मत्स्य नीतिबाट ब्रिटेन बाहिरिने, ब्रिटेनको न्याय प्रणाली माथि युरोपेली न्यायिक अदालतको प्राधान्यता अन्त्य गरिने, उत्तरी आयरल्याण्ड र आयरल्याण्डबीच ‘कडा सीमा व्यवस्था’ नगर्नेमा ब्रिटिश क्याबिनेट सहमत भएको छ ।
यस अलवा बेलायती जनतालाई सुरक्षित राख्न सुरक्षाको विषयमा इयूसंग निकट सम्बन्ध कायम राख्ने, ब्रिटेनले स्वतन्त्र विदेश तथा सुरक्षा नीति अपनाउने तर इयू र अन्य सहयोगीहरुसंग निकट सम्बन्ध राख्न क्याबिनेट सदस्यहरु राजी भएका छन् । बेलायती संसदसंग सबै नयां नियम कानूनबारे निर्णय गर्ने अन्तिम अधिकार सुरक्षित रहने पनि सम्झौतमा उल्लेख छ ।
प्रधानमन्त्री मेले क्याबिनेट सम्झौता गम्भीर र काम गर्न सकिने व्यवहारिक खालको भएको टिप्पणी गरेकी छन् । ‘जब जनताले इयू छाड्ने पक्षमा मत हाले, उनीहरु हाम्रो पैसा, कानून र सीमा नियन्त्रण आफैंसंग होस् भन्ने चाहन्छन् जुन हामी गर्नेछौं’, मेको तर्क छ । मेले आफ्नो सम्झौताप्रति इयू गम्भीर बनेर वार्ताको टेबुलमा आउन आवश्यक हुने पनि बताइन् ।
वातावरणमन्त्री माइकल गोभले ब्रेक्जिट सम्झौतामा युरोपेली युनियनले सहमति नजनाए ब्रिटेन आफ्नै ढंगले अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।
प्रधानमन्त्री मेले नयां ब्रेक्जिट डिलमार्फत आफ्नो पार्टी र देशलाई एक ढिक्का बनाउन गरेको प्रयासमा भने धक्का लागेको छ । उक्त सहमतिले बेलायती राजनीतिमा मतमतान्तर सृजना गरेको छ । बीबीसीका अनुसार, विदेशमन्त्री बोरिस जोन्सनले बैठकमै प्रधानमन्त्री मेको उक्त योजनाको कडा आलोचना गरेका थिए ।
प्रतिपक्षी लेबर पार्टीले प्रधानमन्त्री मेको भन्सार योजनालाई ‘छल’ को संज्ञा दिंदै यसले छिन्न भिन्न पार्ने बताएको छ ।
एक सय भन्दा बढि बेलायती व्यवसायी तथा संस्थापकहरुले नयां सहमति अव्यवहारिक भनेका छन् । इनोसेन्ट ड्रिंक्सका सहसंस्थापक रिचार्ड रिडले शनिबार राती सार्वजनिक गरेको र प्रेट, वाटर स्टोन्स्, जुप्ला, नेट अ पोर्टर, डोमिनोज्, यो सुसी, ज्याक वील्स् लगायत अन्य कयौं ठूला व्यापारिक प्रतिष्ठानले हस्ताक्षर गरेको एक पत्रमा प्रधानमन्त्री मेको भन्सार प्रस्ताव खर्चिलो र सत्तावादी भएको आरोप लगाइएको छ । उनीहरुले सरकारको व्यापार तथा भन्सार विधेयक संशोधनका लागि सांसदहरुसंग आग्रह पनि गरेका छन् ।
केही साता अघिमात्र बेलायत युरोपेली संघ (इयू) बाट बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले लामो समयपछि मंगलबार कानूनी हैसियत पाएको थियो । युरोपेली सदस्य राष्ट्रसम्बन्धि ऐन (१९७२) लाई बेलायतको इयूबाट बहिर्गमनका लागि खारेज गर्न गरिएको प्रस्ताव बेलायती महारानी एलिजावेथ द्वितीयले स्वीकृत गरेकी छन् ।
उता, सरकारले ‘इयू सेटलमेन्ट स्किम’ सार्वजनिक गरेको छ जसमा बेलायतमा रहेका करिब ३८ लाख युरोपेलीले यूके बस्न इच्छुक भए उक्त स्किम प्रयोग गर्न सक्नेछन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा