क्षेत्रीय अवधारणामा जांदै एनआरएनए यूके, वेल्स राज्य समन्वय परिषद गठन

लन्डन । एनआरएनए यूकेको वेल्स राज्य समन्वय परिषद गठन भएको छ । वेल्सको कार्डिफमा आइतबार एक कार्यक्रमबीच परिषद गठन गरिएको हो । एनआरएनए यूके लन्डन, अल्डरसट र फार्नबोरोमा मात्र सिमित भएको गुनासो बढिरहंदा योगकुमार फगामी नेतृत्वको एनआरएनए यूके कार्यसमितिले ९ महिना ८ दिनमा वेल्स राज्य समन्वय परिषद गरेको हो । यसअघि नर्दन आयरल्याण्डमा राज्य परिषद गठन भइसकेको छ भने आगामी जुलाइ २ मा स्कटल्याण्ड र १५ जुलाइमा इंग्ल्याण्डमा गठनको गृहकार्य जारी छ ।

एनआरएनए यूके सल्लाहकार शिवजी श्रेष्ठको संयोजकत्वमा दोश्रो सत्रमा घोषणा गरिएको तदर्थ समितिमा अध्यक्ष रामचन्द्र पोखरेल, उपाध्यक्षमा खिम क्षेत्री, सचिव कार्डिफका निरलाल मोक्तान, सहसचिवमा एबरगभानीका प्रकाश कंडेल, कोषाध्यक्ष विभुषणमान श्रेष्ठ, सह-कोषाध्यक्षमा एकबहादुर आले चयन भएका छन् ।

वेल्स राज्य समन्वय परिषद अध्यक्ष पोखरेल वेल्स नेपाली समाजका अध्यक्ष पनि हुन् । प्रतिवद्धता मन्तव्यका क्रममा अध्यक्ष पोखरेलले नयां जिम्मेवारी पाएकोमा वेल्सवासी नेपाली र एनआरएनए यूकेप्रति आभार व्यक्त गर्दै देश र समुदायका लागि सहकार्य गरि अगाडि बढ्ने बताए ।

७ जना सदस्यमा दिपक लिम्बु, रामेश्वर देवकोटा, सिता राई, बलराम अधिकारी, डा. जीवन केसी, मेमराज न्यौपाने छन् । एकजना सदस्य पछि मनोनयन गरिनेछ । नवगठित तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुलाई ज्येष्ठ नागरिक वीर शंकर राईले शपथ गराएका थिए ।

एनआरएनए यूके गठन भएको झण्डै डेढ दशकमा पहिलो पटक राज्य समिति गठन भएकामा वेल्सवासी नेपालीले खुशी व्यक्त गरेका छन् । मन्तव्यका क्रममा कतिपय अतिथीहरुले क्षेत्रीय अवधारणाले बेलायतवासी नेपालीलाई समेटने अपेक्षा व्यक्त गर्दै परिषद गठन ‘ऐतिहासिक’ भएको चित्रित समेत गरे । 

कार्यक्रमका प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले बेलायतका समस्त नेपालीलाई जोड्ने यो अभियान शुरुवात मात्र भएको र अब सहकार्यमा सामुदायिक हितका लागि धेरै गर्न सकिने बताए । अध्यक्ष फगामीले कार्य व्यस्तताका कारण संघ यसअघि वेल्स र अन्य शहरमा  पुग्न नसकेको कमजोरी स्वीकार्दै अब हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

अतिथी एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठीले डेढ दशकसम्म आफूहरु इंग्ल्याण्डबाट अन्यत्र जान नसकेको स्वीकार्दै अब वेल्समा हार्दिकता साट्न, भावना बुझ्न, समावेशी र समुन्नत समाज निर्माणका लागि प्रेरित गर्न आएको बताए । अर्बौं बजेट हुने राज्यले समेत कतिपय काम गर्न नसकेको बेला स्वयंसेवी संस्था एनआरएनएबाट धेरै अपेक्षा नगर्न उनले आग्रह गरे । उनले दोश्रो पुस्ता र वालवालिकालाई नेपालसंग कसरी जोड्ने भन्ने सन्दर्भमा एनआरएनएले धेरै पहल गरेको उल्लेख गरे ।

अतिथी उपाध्यक्ष प्रेमगाहा मगरले परिषदमा युवालाई पनि समेट्न र पदका लागि मात्र नआउन सुझाव दिए । उनले दोहारो नागरिकता र भूपू गोर्खाको समान पेन्सन मुद्दामा लाग्न, कला-सिप देशमा भित्रयाउन समेत जोड दिए । मगरले विदेशको नागरिकता लिएका नेपालीलाई ‘भूपू नेपाली’ भन्ने मन्त्री लालबाबु पण्डितको अभिव्यक्तिको विरोध गर्दै यसविरुद्ध सशक्त कदम चाल्न सबै एनआरएनहरुलाई आग्रह गरे ।

एनआरएनए यूकेका सल्लाहकार एवं अतिथी शिवजी श्रेष्ठले एनआरएन अभियानले गैर आवासीय नेपालीलाई धेरै सुविधा दिलाएको बताए । एनआरएन देश बनाउन गठन नभएको तर्क राख्दै श्रेष्ठले आफू बनेर देशलाई केही गर्न एनआरएनले आफ्नो भूमिका निर्वाह गरिरहेको बताए । श्रेष्ठले वेल्सका नेपालीलाई समेट्ने एनआरएनए यूकेको पहल सराहनीय भएको धारणा समेत राखे ।

एनआरएनए यूके उपाध्यक्ष एवं राज्य समन्वय विभाग संयोजक ललितकुमार न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वेल्स नेपाली समाजका अध्यक्ष रामचन्द्र पोखरेल, एनआरएनए यूके सल्लाहकारहरु दयानिधि सापकोटा, नारायण कंडेल र खुशीमान गुरुङ, नर्दन आयरल्याण्ड राज्य समितिका संयोजक लिलाराम निउरे, समाजसेवी बद्री योङगा, नेपाल पत्रकार महासंघ बेलायत शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, एनआरएनए यूके सचिव तारानाथ भण्डारी, एनआरएनए आइसीसी रोड सेफ्टी विभागका संयोजक थर्क सेन, कुम्रान नेपाली समाज वेल्सका सचिव एमपी चेम्जोङ लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रम संयोजक प्रभु न्यौपानेले स्वागत मन्तव्य दिए ।

राज्य समन्वय विभाग सचिव डा. मुकुन्द बास्तोलाले सञ्चालन गरेको पहिलो सत्रको कार्यक्रममा प्रदीप सुवेदी, खुशी देवकोटा, आयुष्मा श्रेष्ठ, प्रान्जिल पोखरेल, प्राजन पोखरेल, अविजन देवकोटा, शिर्षक काफ्ले, सिमरन अधिकारी, समिर अधिकारी लगायत कलाकारहरुले नाचगान प्रस्तुत गरेका थिए । 

कार्यक्रमको अन्त्यमा एनआरएनए यूके महासचिव आर के त्रिपाठीले वेल्सवासी नेपालीलाई विशेष धन्यवाद दिए । उक्त अवसरमा वेल्स राज्य समन्वय परिषद र एनआरएनए यूकेका अतिथीहरुले मायाको चिनो साटासाट गरेका थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री