लन्डन । ब्रिटेनस्थित भूतपूर्व गोर्खा समुदायका एकजना अगुवा तथा व्यवसायी लक्ष्य गुरुङ बार्नेट काउन्सिलको काउन्सिलर पदमा विजयी भएका छन् । बिहीवार भएको स्थानीय निकायको चुनावमा सत्तारुढ कन्जरभेटिभ पार्टीले बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङलाई उम्मेदवारको रुपमा छनोट गरेको थियो ।
बिहीवार राती गरिएको मतगणनामा ३००७ मत ल्याएर गुरुङ निर्वाचित भएको मतदान अधिकृतले घोषणा गरेका थिए । सोही वार्डबाट कन्जरभेटिभ पार्टीकै एलियट किथ सिम्वर्ग तथा लेथ बेन्जामिन जाजेह पनि काउन्सिलर पदमा विजयी भएका छन् ।
चुनावी परिणाम घोषणा पछि कुरा गर्दै गुरुङले यो आफ्नो मात्र नभएर सम्पूर्ण भूतपूर्व गोर्खा तथा बेलायतमा बस्ने नेपालीहरुको जीत र गौरवको विषय भएको बताए । ‘मैले आफ्नो चुनावी अभियानका क्रममा गोर्खा सैनिकहरुप्रति आम ब्रिटिश नागरिकको स्नेह र सम्मानबारे परिचित हुने मौका पाएँ । त्यसैले म त्यो प्रतिष्ठा बढाउने गरेर नै आगामी दिनहरुमा काम गर्नेछु’- उनले भने ।
गुरुङले बार्नेट काउन्सिलमा थुप्रै भूतपूर्व गोर्खा परिवारहरु बसोबास गरिरहेको बताउँदै उनीहरुका दैनन्दिन समस्या लगायत नेपाली बाल बालिकाका लागि नेपाली भाषा कक्षा सन्चालन गर्नेबारे पनि काउन्सिलमा आफुले पहल गर्ने बताए ।
उनले आफ्नो चुनावी अभियानमा नैतिक तथा भौतिकरुपमा सघाउने सबै सहयोगी, शुभेच्छुकहरु, नेपाली तथा ब्रिटिश सन्चारमाध्यम तथा सन्चारकर्मीहरुलाई धन्यवाद पनि दिएका छन् ।
गुरुङको चुनावी अभियानमा हेण्डन क्षेत्रका सांसद डा. म्याथ्यु अफोर्ड, स्थानीय कन्जरभेटिभ पार्टीका पदाधिकारीहरु पनि सहभागी थिए । चुनावी अभियानमा छोटो समयका लागि प्रधानमन्त्री टरेजा मे, भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन लगायत पनि आएर हौसला बढाएका थिए ।
‘हामीले भेटेका धेरैजसो मतदाताहरुले आफ्नो घर अगाडिको सडकपेटी, पार्क, ट्राफिक, स्थानीय स्कूलमा पठनपाठन, चोरीको समस्या तथा त्यसक्षेत्रमा बन्न लागेको एउटा नयाँ आवास योजनाबारे आफ्ना चिन्ताहरु हामीलाई बताएका थिए । हामीले स्थानीय समुदायका यी गुनासाहरु सम्वोधन गर्न आफ्नो पार्टीको तर्फबाट काम गर्ने विश्वास दिलाएका छौं’- गुरुङले भने ।
बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ गैर आवासीय नेपाली संघको युरोप क्षेत्रमा पूर्व उपसंयोजक पनि हुन् । उनलाई हालै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले भूतपूर्व गोर्खा सैनिक सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको छ ।
छोरीले पिएचडी
चुनावमा विजयी गुरुङको परिवारमा यसैसाता अर्को खुसी पनि थपिएको थियो । गत सोमबार उनकी कान्छी छोरी ईश्वरी गुरुङ (कारीश्मा) ले लण्डनस्थित विश्व प्रसिद्ध इम्पेरिअल कलेजबाट माईक्रोबायोलोजीमा विद्यावारिधी (पिएचडी) उपाधि हासिल गरेकी छन् ।
हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकका छोराछोरीहरुले प्राज्ञिक अध्ययन तथा अनुसन्धानको क्षेत्रमा पनि उपलब्धि हासिल गरिरहेको भनी प्रवासी नेपाली समुदायका अगुवाहरुले खुसी व्यक्त गरेका छन् ।
चुनावमा अन्य पराजित
यसैबीच, चुनावी मैदानमा उत्रिएका नेपाली मुलका अन्य उम्मेदवार पराजित भएका छन् ।
इलिङ काउन्सिलको होबेइन वडामा कन्जरभेटिभ पार्टीका तर्फबाट उम्मेदवारी दिएका सुरेन्द्र ढुंगाना १५०० मतान्तरले पराजित भए भने लेबर पार्टीको प्रतिनिधित्व गर्दै हार्ट डिस्ट्रिक्ट काउन्सिलको ब्ल्याकवाटर एन्ड हवली वडाबाट उम्मेदवारी दिएकी लिला सेलिङ माबो पनि नराम्रोसंग पराजित भइन् ।
हयानवर्थ पार्क वार्डबाट प्रतिष्पर्धा गरेका भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङको क्षेत्रमा भने नतिजा आउन बांकी छ । यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङ लेबर पार्टीको प्रतिनिधित्व गर्दै पुनः उठेका हुन् । लन्डन बरो अफ बार्नेटको सेड वार्डमा लेबर पार्टीबाट उम्मेदवारी दिएका कमलबहादुर गुरुङ पनि नतिजा पर्खाइमा छन् ।
आनन्द राई फेल्थाम नर्थ क्षेत्रमा कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदमा प्रतिष्पर्धी छन् ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक