बिहीबार, मंसिर १८ २०७७ | Thu, December 03, 2020
नेपालको समय: १९:३४ | UK Time: 13:49

चीन उपहार दिने गैँडा शुक्रबार नियन्त्रणमा लिइने

वीनेपाली
२०७५ वैशाख १३ गते १४:२१

चितवन- नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैँडा भोलि (शुक्रबार) बाट नियन्त्रणमा लिन शुरु गरिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर खोरिया मोहन क्षेत्रबाट एक जोडी गैँडा नियन्त्रण गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार गैँडा नियन्त्रणका लागि आवश्यक प्राविधिक टोली र उपकरण साँझसम्ममा खोरिया मोहन क्षेत्रमा पुग्नेछ । उनले भने, “शुक्रबार बिहान एक भाले र एक पोथी गैँडा हामी नियन्त्रण गर्छौं ।” गैँडा डार्ट गरेर ट्रकमा राखेर निकुञ्जको भित्री बाटो कसरा हुँदै सौराहा लगिने उनले बताए ।

ढकालका अनुसार एकदेखि दुई वर्ष उमेरका गैँडा नियन्त्रण गरिने छ । गैँडा नियन्त्रणका लागि आसपासका पोष्टमा रहेका १० वटा हात्ती, डोजर, ट्रयाक्टर, बोलेरो जिपलगायत सामग्रीसहित जनशक्ति परिचालन गरिँदैछ ।

वैशाख ७ गतेदेखि सो आसपास क्षेत्रमा गैँडा खोजी कार्य जारी रहेको थियो । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका छ जना प्राविधिकसहितको टोलीले एक हप्ता लगाएर गैँडाको खोजी गरेको हो । ढकालका अनुसार अन्य दुईवटा गैँडामध्ये सौराहामा उद्धार गरी राखिएको एउटा भाले गैँडा र सुखीभार वा भिम्ले क्षेत्रबाट अर्को गैँडा नियन्त्रण गरिने छ ।

सौराहामा राखिएको गैँडा लैजाने नलैजाने विषयमा टुंगो नलागेकाले चिनियाँ टोलीको चाहनाअनुसार सो गैँडा वा अर्को सुखीभार क्षेत्रबाटै नियन्त्रण गरेर लगिने ढकालले बताए । नियन्त्रणमा लिइएका गैँडालाई सौराहामा निर्माण गरिएको पिट बुमा (गैँडा राख्न निर्माण गरिएको खोर) मा राखिने छ । केही दिन बुमा भित्रको खाल्डोमा राखेर सहज खाना खान थालेपछि बुमामा केही महिना राख्ने तयारी गरिएको छ । सो पश्चात् जहाजमा राखेर गैँडा चीन पठाइँदै छ ।

ती गैँडालाई जंगलीबाट घरपालुवाको जस्तो बानी व्यहोरा बनाएर मात्र पठाइने उनले बताए । जहाजमा लैजाँदा समस्या हुन सक्ने भएकाले शुरुमा बुमामा राखेर गैँडाको आनिबानी अध्ययन गरी गैँडालाई सामान्य अवस्थामा ल्याएर मात्रै पठाउन लागिएको हो ।

विसं २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गरेका थिए । सोपश्चात नेपाली विज्ञको टोलीले गैँडा चीन लगेपछि राख्ने ठाउँको अध्ययनसमेत गरेर फर्केको थियो । चीनमा प्राकृतिक बासस्थानमा एक सिंगे गैँडा छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक