लण्डनमा नेपाली इन्जिनियरहरुको भेला

डा. विनोदलाल अमात्य

लण्डन । रेल यातायातबारे अध्ययन तथा अभ्यास गरेका हाल बेलायतमा कार्यरत नेपाली इन्जिनियर तथा विज्ञहरुले काठमाडौंकालागि मोनो रेल उपयुक्त नभएको बताएका छन् ।

शनिबार सोसाइटी अफ नेप्लीज इन्जिनियर्स युकेद्वारा आयोजित एक कार्यक्रममा बोल्दै लण्डनको एउटा प्रतिष्ठित कम्पनीमा कार्यरत कन्सल्टिङ सिभिल इन्जिनियर डा. विनोदलाल अमात्यले मास ट्रान्जिट सिस्टम को आवश्यकता र भूकम्पको जोखिम लगायतको दृष्टिकोणबाट हेर्दा मोनो रेल काठमाडौंका लागि उपयुक्त नभएको बताए ।

‘दीर्घकालिन हिसाबले हेर्दा काठमाडौं उपत्यकामा मेट्रो अर्थात भूमिगत रेल सेवा नै चाहिन्छ’- उनले भने ।

काठमाडौंमा प्रस्तावित भूमिगत रेलसेवा वा काठमाडौं मेट्रोको विस्तृत योजना प्रस्तुत गर्दै डा. अमात्यले काठमाडौंका सम्पदाहरु, वायु प्रदूषण र अव्यवस्थित शहरीकरणका कारण मोनो रेल भन्दा भूमिगत रेलमै जानुपर्ने कुरामा जोड दिए । शुरुमा केही महंगो परेपनि दीर्घकालमा गएर भूमिगत रेल भरपर्दो र सुरक्षित हुने उनले बताए ।

टोक्यो इन्स्टिच्युट अफ टेक्नोलोजीबाट बिद्यावारिधि गरेका डा. अमात्यका अनुसार बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार यात्रुले यात्रा गर्न सक्छन्, तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ देखि ५० हजार यात्रुले यात्रा गर्न सक्छन् 

उनले उपत्यकाभित्र कुल १८३ किलोमिटर मेट्रोरेल सञ्चालन गर्न सकिने र त्यसमध्ये ७७ किलोमिटर सुरूङमार्ग, १७ किलोमिटर भूसतह मार्ग र एकसय किलोमिटर आकाशे पुल (इलेभेटेड) निर्माण गर्न सकिने पनि बताए 

२० वर्षमा निर्माण सम्पन्न हुने अनुमान गरिएको सो परियोजनाको कुल लागत चार खर्ब ७१ अर्ब रुपियाँ एक किलोमिटर टनेल खन्न करिब चार अर्ब रुपियाँ लाग्ने उनले बताए । अब हामीले आउँदो २० वर्षकालागि काठमाडौंको रेल परिदृश्यको परिकल्पना गरेर काम शुरु गरिहाल्नुपर्छ,” उनले भने ।

त्यस्तै १५ वर्ष हङकङमा सुरुङ निर्माण टनेलिङको क्षेत्रमा काम गरेर हाल बेलायतमा कार्यरत अर्का इन्जिनियर विजय गुरुङले पनि पोखरा जस्तो पर्यटकीय शहरका लागि मोनो रेल एउटा सम्भाव्यता हुन सकेपनि काठमाडौंका लागि मेट्रो मै जानुपर्नेमा जोड दिए ।

इजिप्टले कायरोमा भूमिगत रेलसेवा सन्चालन गर्न फ्रान्स तथा जापानसंग ऋण लिएको बताउँदै गुरुङले नेपालले भारत, चीन, जापान लगायतका मित्र राष्ट्रहरुलाई भूमिगत रेल सेवाका एक, एक वटा लाइन निर्माण गरीदिन अनुरोध गर्न सक्ने बताए ।

डा. वीरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो सत्रमा डा. अमात्यबाहेक इन्जिनियर राजेश पाठकले लण्डनस्थित एउटा रेल परियोजनाको निर्माण व्यवस्थापकको रुपमा आफुले पाएको अनुभवबाट नेपालले के सिक्न सक्छ भन्ने प्रस्तुति गरेका थिए । त्यस्तै वरिष्ठ इन्जिनियर नारद भण्डारीले रेलेवे पूर्वाधार आयोजनाहरुमा गुणस्तर सुनिश्चितता गरिनुपर्ने विषयमा प्रस्तुति दिए ।

सदम्पटन सोलेन्ट विश्वविद्यालयका सहप्राध्यापक डा. रमेश मरासिनीको अध्यक्षता सम्पन्न दोश्रो सत्रमा वरिष्ठ इन्जिनियर कृष्णकिशोर श्रेष्ठले दोधारा चाँदनीमा पुल बनाएको अनुभवबारे प्रस्तुति दिएका थिए भने वरिष्ठ इन्जिनियरहरु घनश्याम पौडेल तथा कन्हैया भगत कोइरीले मायादेवी मन्दिरको पुनर्निर्माणको उदाहरण दिंदै संरचनागत समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्नेबारे प्रस्तुति दिएका थिए ।  त्यस्तै, स्वानसी विश्वविद्यालयमा अनुसन्धान गरिरहेका रामहरि पौड्यालले नेपालको उर्जा संकट र समाधानका उपायहरुबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतकालागि नेपाली राजदूत डादुर्गाबहादुर सुवेदीले देशको विकासकालागि नेपाल नै फर्कनु पर्छ भन्ने होइन, नेपालको आर्थिक, सामाजिक विकासकालागि जहाँ रहे पनि योगदान गर्न सकिने बताए । भारत, चीन र इजरेलको विकासमा ती देशका डायस्पोराको योगदानको उदाहरण दिंदै राजदूत सुवेदीले नेपालको सीमाभन्दा बाहिर बसेर पनि नेपालको विकासकालागि योगदान पुराउन आह्वान गरे ।

देश स्थायित्वतर्फ उन्मुख छ, संघीय सरकार र स्थायी सरकारको निर्माण भैरहेको छ । देशले निकास पाइसकेको छ । अब विदेशमा बसिरहेका डाक्टर, इन्जिनियर, प्राध्यापक, नर्स लगायत सबै कर्मयोगी नेपालीहरुले नेपालको विकासका लागि केही न केही योगदान गर्नुपर्छ,” उनले भने ।

सो अवसरमा बोल्दै गैरआवासीय नेपाली संघ युकेका महासचिव इन्जिनियर राजकुमार त्रिपाठीले मुग्लिङनारायणघाट सडकमा रेस्क्यु हेल्पलाइनस्थापना गर्न सुझाव दिंदै नेपाली इन्जिनियरहरुले विदेशमा सिकेको सीप र ज्ञान नेपालको विकासकालागि उपयोग गर्नुपर्ने बताए।

कार्यक्रममा भाग लिन पेरिसबाट आएका युनेस्कोमा कार्यरत इन्जिनियर डा.अनिल मिश्रले अहिले प्रविधि उपलब्ध छ, अन्तरिक्षबाट प्राप्त हुने तथ्याङ्कको पनि उपयोग गर्न सकिन्छ, तर मुख्य चुनौती भनेको वैज्ञानिक सूचना र ज्ञान सर्वसाधारण नागरिकमा कसरी स्थानान्तर गर्ने भएको बताए ।

विश्व बैङ्क लगायतका संस्थामा लामो समय काम गरिसकेका वरिष्ठ इन्जिनियर सुरेन्द्र गोविन्द जोशीले इन्जिनियरहरुले प्राविधिक पक्षमात्रै नहेरेर देशको सामाजिक, आर्थिक अवस्था र राष्ट्रिय विकासका प्राथमिकताहरुलाई पनि ख्याल गर्नुपर्ने बताए ।

सोसाइटी अफ नेप्लीज इन्जिनियर्स युकेका अध्यक्ष घनश्याम पौडेलले सबै कार्यपत्र प्रस्तोता, सहभागी तथा आमन्त्रितहरुलाई सकृय सहभागिताकालागि धन्यवाद दिएका थिए ।

तस्बिर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री