
लन्डन । सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युकेले नयां वर्ष २०७५ को अवसरमा शनिबार दक्षिणपूर्वी लण्डनस्थित वेलिङमा एक समारोहमाझ नयां कार्यसमिति चयन गरेको छ । नयां वर्षको खुशीयालीमा कार्यक्रम भइरहंदा आगामी दुई वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित नयां कार्यसमितिले शपथ लिनुका साथै पुरानो कार्यसमितिका पदाधिकारीहरुले जिम्मेवारी हस्तान्तरण गरे ।
नव निर्वाचित कार्यसमितिमा शेखर वाग्ले अध्यक्ष, रामकृष्ण अधिकारी उपाध्यक्ष, अर्जुन पौडेल सचिव, श्रीमती श्रृजना पाण्डे सहसचिव, निर्मल नेपाल कोषाध्यक्ष तथा सदस्यहरुमा रामकृष्ण सिटौला, माधव पराजुली, श्रीमती नमिता अधिकारी कार्की, श्रीमती सुषमा ढुंगाना, भरत राज लामिछाने तथा संगम भण्डारी चुनिएका छन् ।
नेपाल तथा ब्रिटेनको राष्ट्रिय गान गाएर शुरु गरिएको कार्यक्रमको शुरुमा जीसीएसइ, ए लेभल लगायत परीक्षामा राम्रो गरेका विद्यार्थीहरु र समाजका गतिविधिमा सघाउने डा. बच्चुकैलाश कैनी, विमल अधिकारी लगायत महानुभावहरुलाई प्रमाणपत्र तथा कदरपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा संस्थाका उपाध्यक्ष दीप गिरीले सबै सहभागीहरुलाई स्वागत गरे भने समाजका सल्लाहकार तथा पूर्व अध्यक्ष नारायण भट्टराईले बेलायतमा बसोबास गर्ने विभिन्न पेशामा आवद्ध साथीहरुले शुरु गरेको संस्थाले दश वर्ष पुरा गरेकोमा खुसी व्यक्त गर्दै बालबालिकाको व्यक्तित्व विकासका साथै नेपालमा सीप हस्तान्तरणको क्षेत्रमा संस्थाले काम गरिरहेको बताए । कार्यक्रममा नेप्लीज युथ नेटवर्कको तर्फबाट अभय फेरालीले शुभकामना दिएका थिए ।
आफ्नो दुई वर्षे कार्यावधि पुरा गर्न लागेको कार्यसमितिको तर्फबाट बोल्दै अध्यक्ष डा. तेजेन्द्र फेरालीले बेलायतमा बसेर पनि आफूहरुले तनमन र धनले नेपालको विकास र रुपान्तरणकालागि सक्दो प्रयास गरिरहेको बताए । साथै हाल ब्रिटेनमा पढिरहेका आफ्ना बालबालिकालाई नेपालसंग जोडन र अब केही वर्षपछि सेवा निवृत्त हुने प्रवासी नेपालीहरुले आगामी दिन कसरी बिताउन उपयुक्त हुन्छ भन्नेबारे पनि आफूहरुले छलफल शुरु गरेको जनाए ।
सो अवसरमा डा. फेराली तथा श्रीमती आशा फेरालीले आफ्नो कार्यकालमा सघाउने कार्यसमितिका सदस्य तथा सल्लाहकारहरुलाई मायाको चिनो प्रदान गरे भने कार्यसमितिको तर्फबाट उपाध्यक्ष दीप गिरी तथा श्रीमती गिरीले अध्यक्ष तथा श्रीमती फेरालीलाई मायाको चिनो प्रदान गरे ।
संस्थाले प्रकाशन गरेको स्मारिकाको अध्यक्ष फेराली, पूर्व अध्यक्षहरु अर्कराज तिमिल्सिना, नारायण भट्टराई तथा सल्लाहकार भगीरथ योगीले संयुक्त रुपमा लोकार्पण गरेका थिए । (हेर्नुहोस् तस्विर) त्यस्तै पूर्व अध्यक्ष तिमिल्सिनाले गीतकार सर्बेन्द्र अधिकारीको नयां गीति एल्बम सार्वजनिक गरे ।
कार्यक्रमको संचालन सोसाइटीका विकास संयोजक गजेन कटुवाल र प्राविधिक सहयोग जेनिश कटुवालले गरेका थिए।
कार्यक्रमको दोश्रो चरणमा शंकर चौधरीको प्राविधिक सहयोगमा दिनेश पौडेलले निकै रोचक ढंगले सांस्कृतिक कार्यक्रम सञ्चालन गरे । सो अवसरमा गायक दीपक थापाले स्वरसम्राट नारायण गोपालको कालजयी गीत ‘तिमीलाई म के भनुं…’ लगायत अन्य लोकप्रिय गीतहरु गाएर सहभागीहरुलाई नचाए । त्यस्तै सुष्मा ढुंगाना, प्रिया ढुंगाना, प्रान्सु ढुंगाना लगायत कलाकारहरु तथा स-साना नानीहरुले पनि नृत्य प्रदर्शन गरेका थिए ।
कार्यक्रममा कविहरु वाशु शर्मा, गोपी सापकोटा लगायतले आफ्ना रचना वाचन गरे भने एकजना किशोर सम्राट कोइरालाले नेपाली गीत सुनाएका थिए । अन्त्यमा नेपाली खाना पनि व्यवस्था थियो ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने