दिलिप स्मृतिलाई सहयोग

काठमाडौं – टप माउन्टेन तेक्वान्दो एसोसिएसन, हङकङले दिलिप स्मृति प्रतिष्ठानअन्तर्गतको दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङलाई खेल पोशाक र सामाग्री सहयोग गरेको छ ।

एसोसिएसनका संस्थापक गणेश गुरुङले डोजाङ प्रमुख राजेन्द्र खत्रीलाई ३० हजार बराबरको खेल पोशाक र सामाग्री आइतबार एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

तेक्वान्दोलाई मुख्य कार्य क्षेत्र बनाएर विगत २४ वर्षदेखि हङकङमा बसोवास गर्दै आएका गुरुङले विदेशमा रहेर पनि नेपाल र नेपाली तेक्वान्दोको मायाले सहयोग गरेको बताउदै विगतमा पनि नेपालका विभिन्न जिल्लाका डोजाङ र खेलाडीलाई पनि सहयोग गर्दै आइरहेको बताए । उनले प्रतिष्ठानले निमार्ण गर्न लागेको हलका लागि पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

डोजाङ प्रमुख खत्रीले सानो सहयोगले पनि खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।

मेलिशाले प्रतिस्पर्धा गर्ने
सोही कार्यक्रममा छैटौं डान एवं अन्तराष्ट्रिय निर्णायक समेत रहेका गुरुङले एसोसिएसनको नवौं वार्षिकोत्सवका अवसरमा हङकङमा हुने क्योरोगी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी मेलिशा खड्गीले प्रतिस्पर्धा गर्ने जानकारी गराए । अप्रिल २९ तारिखमा हुने प्रतियोगितामा मेलिशाले ३५ केजी तौलसमूहमा भाग लिने छिन् । टिम प्रशिक्षक एवं व्यवस्थापकमा मनोज खड्गी सहभागी हुने छन् ।

हङकङमा टप माउन्टेन तेक्वान्दो एसोसिएसनका सात वटा शाखा छन् । त्यसमा करिब २ सय खेलाडीले प्रशिक्षण लिइ रहेको संस्थापक गुरुङले जानकारी दिए ।

कार्यक्रममा डोजाङ प्रमुख खत्रीले संस्थापक गुरुङ र खड्गीसहित पूर्व तेक्वान्दो खेलाडी अजय पाण्डेलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री