लिस्बन-युरोपेली मुलुक बेल्जियममा नेपाली बालबालिकालाई लक्ष्य गरी नेपाल–ब्रसेल्स बाल सांस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरिएको छ ।
बेल्जियममा रहेका नेपालीको सक्रियतामा नेपाली बालबालिकालाई नेपाली भाषा, कला र लोकसंस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले विगत दुई वर्षदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो ।
बेल्जियममा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली भाषा बोल्न र लेख्न समस्या देखिएपछि बेल्जियम सरकारसँग स्वीकृति लिएर राजधानी ब्रसेल्समा नेपाली पाठशाला सञ्चालन गरिएको केन्द्रकी संयोजिका सिर्जना कार्की थापाले राससलाई जानकारी दिइन् ।
फ्रेन्च स्कूलको भवनको कोठा भाडामा लिएर सञ्चालन गरिएको यस केन्द्रमा १६ वर्षमुनिका ३५ जना नियमित नेपाली विद्यार्थी रहेका छन् । बेल्जियमको स्थानीय विद्यालयमा अध्ययन गर्ने बालबालिकाको समयलाई ध्यानमा राखेर पाठशालामा साताको एक दिन शनिबार कक्षा सञ्चालन हुँदै आएको छ ।
हाल चारजना नेपाली शिक्षकमार्फत नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली लोकसंस्कृतिसम्बन्धी प्रशिक्षण दिने व्यवस्था मिलाइएको संयोजक थापाले बताए । पाठशालामा बालबालिकालाई तीन तहमा विभाजन गरेर नेपाली पाठ्यक्रमका आधारमा छुट्टाछुट्टै तीन वटा कक्षा सञ्चालन गरिएको छ । उनीहरुलाई कखरादेखि नेपाली शब्द र वाक्य लेखन तथा नेपाली बोल्न सिकाइएको छ ।
बेल्जियममा जन्मेका र हुर्केका नेपाली बालबालिकाले यहाँको भाषा डच र फ्रेन्च बोल्ने तर नेपाली भाषा बोल्न नसक्ने समस्या देखिएपछि बेल्जियमस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ बेल्जियमको समन्वयमा नेपाली पाठशाला सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले बताए । स्थानीय विद्यालयमा डच भाषामा पढाइ, लेखाइ र बोल्ने बानी भएका कारणले नेपाली बालबालिकामा नेपाली भाषाको समस्या देखिएको थापाको भनाइ छ ।
बेल्जियममा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृतिका बारेमा जानकारी रहोस् भन्ने हेतुले विदेशी भूमिमा नेपाली पाठशाला सञ्चालन गर्न पाउँदा आफूहरुलाई निकै खुशी लागेको केन्द्रका संस्थापक तथा एनआरएन बेल्जियमका पूर्व अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बताए ।
केन्द्रमा नेपाली भाषा बोल्न तथा लेख्न सिकाउने, नेपाली संस्कार र संस्कृतिका विषयमा जानकारी गराउने तथा नेपाली रहनसहन, नेपाली लोक नृत्यलगायतका विषयमा प्रशिक्षण दिने गरिएको श्रेष्ठले बताए ।
विदेशी भूमिमा रहेर पनि नेपाली भाषा र लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लाग्नु आफैँमा प्रशंसनीय कार्य भएको बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले बताए । बेल्जियममा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली संस्कार, संस्कृति र नेपालीपनको भावना जगाउन पाठशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने राजदूत थापाको भनाइ छ ।
“प्रवासमा नेपाली पाठशाला सञ्चालन गर्नु चुनौतीको कुरा हो । नेपाली समुदायले सञ्चालन गरेको यस अभियानको निरन्तरता र सफलताका लागि नेपाली दूतावासले समेत नैतिक र आर्थिक हिसाबले सहयोग गरेको छ” – राजदूत थापाले भने ।
उक्त नेपाली पाठशालालाई बेल्जियम सरकारले समेत सहयोग गर्ने आश्वासन दिएकाले आगामी दिनमा थप व्यवस्थित ढंगबाट सञ्चालन गर्ने योजना रहेको पाठशालाकी संयोजिका थापाले बताए । थापाका अनुसार पाठशाला सञ्चालनका लागि बेल्जियमस्थित रहेको नेपाली राजदूतावासले वार्षिक ४०० युरो सहयोग उपलब्ध गराउँदै आएको छ ।
यसैबीच, बेल्जियमका लागि नेपाली राजदूत थापाले पाठशालाका लागि ३० वटा नेपाली पाठ्यक्रम सहयोगस्वरुप प्रदान गरेका छन्। पाठशालाको दोस्रो वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर राजदूत थापाले ती पुस्तक हस्तान्तरण गरेका हुन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा