खि-ल्होसारमा रमाए केन्टबासी तमुहरू

केन्ट । तमु समाज केन्टले फोकस्टोन केन्टस्थित हकिङ कम्युनिटी सेन्टरमा तमुहरुको महान पर्व खि ल्होसार तथा आफ्नो १० औं वार्षिकोत्सव कार्यक्रम गरेको छ ।

च्या ल्हो (चरा वर्ग) को विदाई र खि ल्हो (कुकुर वर्ग) को आगमनको पावन अवसरमा भएको उक्त कार्यक्रममा केन्टबासी तमुहरुको उल्लेख्य सहभागिता थियो । हकिङका मेयर जोन हिस्म्यानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा काउन्सिलर नवीन सिवा, फष्ट गोरखा राइफल्सका गोर्खा मेजर अनि उच्च अधिकृतहरु साथै केन्टस्थित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित पाहुनालाई गुरुङहरुको प्रचलनअनुसार गाउँघरतिरकै तरिकाले रोटी र तीन पाने रक्सीले स्वागत गरिएको थियो । तमु समाज केन्टका अध्यक्ष बलराम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको समुद्‍घाटन समाजका अध्यक्ष र प्रमुख अतिथिले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि गरेका थिए ।

समाजका सचिव शेखर गुरुङले ‘हेल्थ एन्ड सेफ्टी’ सम्बन्धी जानकारी दिएका थिए भने कार्यक्रम सञ्चालन समाजका महासचिव गोलमान गुरुङले गरेका थिए ।  समाजका प्रथम उपाध्यक्ष एवं ल्होसार कार्यक्रम संयोजक सूर्य गुरुङले स्वागत मन्तब्य राखेका थिए भने सुन्दर गुरुङले नृत्य प्रस्तुत गरे । त्यसैगरी औपचारिक कार्यक्रमको अन्तमा उपस्थित सबैलाई समाजका अध्यक्ष गुरुङले धन्यबाद दिए ।

कार्यक्रमका प्रमुख अतिथि मेयर जोन हिस्म्यानले समाजले आयोजना गरेको खि ल्होसार एवं १० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पाउंदा खुशी लागेको बताउंदै सम्मानित ब्यक्तित्वहरुलाई बधाईसहित ल्होसारको शुभकामना दिए ।

कार्यक्रममा शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने तमु विद्यार्थीहरुलाई सम्मान गरियो । डाक्टर बिकास गुरुङले लन्डनबाट स्नातकोत्तर गरेकामा उनलाई अभिनन्दन तथा प्रशंसा पत्र प्रदान गरियो भने प्रत्येक वर्षमा झैं यसवर्ष पनि जिसिएसइमा सबैभन्दा राम्रो अंक ल्याइ उत्तिर्ण तमु विद्यार्थी पूजा घलेलाई ‘ब्राइट फ्युचर अवार्ड’ ले सम्मान गरिएको थियो । समाजका अध्यक्ष गुरुङ र फोकस्टोन नेपाली समाजका अध्यक्ष चन्द्र बहादुर गुरुङ (अवार्ड प्रायोजक) ले उक्त अवार्ड घलेलाई प्रदान गरी संस्थाको तर्फबाट वधाई तथा शुभकामना दिएका थिए । गुरुङ सोसाइटी केन्टले सन् २०११ सालमा शुरुवात गरेको उक्त अवार्ड विजेताहरु हाल सबै डाक्टर छन् ।

त्यसैगरी विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्यक्तिहरुलाई सम्मान गर्ने क्रममा यस वर्ष उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१७ बाट समाजसेवी बलवीर गुरुङ सम्मानित भए । कार्यक्रमका प्रमुख अतिथी र समाजका अध्यक्षले संस्थाका पूर्ब अध्यक्षहरुलाई औपचारिक रुपमा फेटा (क्रेगी) लगाई धन्यवाद र वधाई दिएका थिए । साथै संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा संस्थाका पूर्व अध्यक्षहरुको साथमा प्रमुख अतिथि मेयर जोन हिअस्मान साथै उनकी धर्मपत्नी र वर्तमान अध्यक्ष बलराम गुरुङको बाहुलीबाट केक काटी खुशीयाली मनाइएको थियो ।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक संयोजक सुमित्रा गुरुङ र पवित्र गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । स्वागत गानबाट आरम्भ भएको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार महेश गुरुङले उत्कृष्ट नृत्यहरु प्रस्तुत गरेका थिए । आसफोर्डको ‘गुरुङ आमा समूह’ ले ‘मेजर पेन्सन खाउली…’ गीतमा आकर्षक नाच देखाएको थियो भने अन्य स्थानीय कलाकारहरुले कयौं गुरुङ नृत्य प्रस्तुत गरे ।

पूजा घले, चिना गुरुङ, अस्मा गुरुङ, पवित्र गुरुङ, रुबिका गुरुङ, कृतिमा गुरुङ, निकिता गुरुङ, सिम्रा गुरुङ, खुशा गुरुङ, योगी गुरुङ, सुष्मा गुरुङ, सन्ध्या गुरुङ लगायत अन्य कलाकारहरुको मनमोहक नृत्यले दर्शक मन जितेको थियो । अन्त्यमा गायिका सन्ध्या गुरुङले रिमा गुरुङको ‘लाहुरे दाईले परदेशबाट पठायो खबर’ गीतमा दिएको बेजोड स्वरमा केन्टवासी गुरुङहरुले नाचेर साथ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री