बेलायतका तमुहरुले मनाए ल्होछार

लन्डन । बेलायतस्थित गुरुङ समुदायले शनिबार आफ्नो महान पर्व ल्होछार हर्षोल्लासका साथ मनाए । तमुधिं यूके, तमु समाज यूके, तमु प्ये ल्हु संघ यूके आदि संस्थाले बेग्ला बेग्लै गरेका कार्यक्रममा बेलायतका तमुहरु सहभागी भएर ल्होछार मनाएका हुन् ।

धार्मिक पूजा र सांस्कृतिक माहोलमा कार्यक्रम भएको हो । तमु संस्कृति अनुसार १५ पुसमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर नयां वर्षको स्वागतसहित यो पर्व मनाउने प्रचलन छ ।

तमुधिं यूकेले रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा १७ औं ल्होछार कार्यक्रम गरेको छ । उक्त अवसरमा चरा वर्गको विदाइ गर्दै कुकुर वर्गको स्वागत गर्न हजारौं तमुहरु सहभागी भए ।

धर्मगुरुहरु गुप्ती लामा, धुंग्से नम्खा डोर्जे, खेम्पो छेवाङ घले र खेम्पो भगिन्द्र शिला लगायतबाट धार्मिक पूजासहित राती अबेरसम्म सांस्कृतिक कार्यक्रम गरियो । कार्यक्रममा नेपालबाट आएका कलाकारहरु नरजंग गुरुङ, मेलिना राई, बीमाकुमारी दुरा, धन गुरुङ, अश्मी गुरुङ र मन्जु बिकले आ आफ्नो कला प्रस्तुत गरे ।

कार्यक्रममा शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने तमु विद्यार्थीहरुलाई अभिनन्दन तथा प्रशंसा पत्र र यस वर्ष जिसिएसइ र ए लेभलमा राम्रो अंक ल्याइ उत्तिर्ण हुने तमु विद्यार्थीलाई डा. हर्क गुरुङ अवार्ड सम्मान प्रदान गरियो । प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी र तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले अवार्ड प्रदान गरेका थिए । अवार्ड वितरण अघि डा. हर्क गुरुङको व्यक्तित्व तथा योगदानबारे बनाइएको वृत्तचित्र पनि देखाइएको थियो ।

मन्तव्यका क्रममा प्रमुख अतिथी राजदूत सुवेदीले तमुधिं यूकेले बेलायतमा पनि आफ्नो कला संस्कृति र परम्पराको जगेर्ना एवं सामाजिक काममा 
प्रशंसनीय कार्य गरेको बताए । राजदूतले तमुधिं यूके नेपाली संस्कार, संस्कृति र परम्परा बचाउने कार्यमा सधैं क्रियाशिल भएको बताउंदै उनले ल्होछार जस्ता मौलिक पर्वले नेपाली नेपालीबीच अनन्तकालसम्म एकता, आत्मियता र सद्भाव अभिवृद्धिका लागि पुलको काम गरिरहेको समेत बताए ।

तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले खी ल्होछार (कुकुर वर्ग) को शुभकामना व्यक्त गर्दै तमुधिं यूकेले जातीय रुपमा नहेरि अप्ठेरोमा नेपाल र बेलायतका हरेक समुदायलाई सहयोग गरिरहेको अवगत गराए । उनले नेपालको राष्ट्रिय पर्व ल्होछार बेलायतमा संयुक्त मनाउने आफ्नो लामो प्रयास विफल भएको बताउंदै उनले विभाजित नभइ एकजुट हुन तमुहरुलाई आग्रह गरे ।

औपचारिक कार्यक्रम शुरु हुनुअघि तमुधिं यूके सल्लाहकार एवं इभेन्ट सेफ्टी अफिसर क्याप्टेन देव घलेले हेल्थ एण्ड सेफ्टीबारे अवगत गराएका थिए ।

सो अवसरमा राजदूत सुवेदी, विशेष अतिथी रेडिङ बरोका डेपुटी मेयर ग्लेन डेनिस, तमुधिं यूके अध्यक्ष गुरुङ र संस्थापक अध्यक्ष मीन गुरुङले कार्यक्रम उद्घाटन गर्दै ‘फ्रेन्सीं’ पत्रिका विमोचन गरेका थिए ।

महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा संयोजक एवं तमुधिं यूके उपाध्यक्ष नन्दजंग गुरुङले तयारी र अन्य विषयमा बोलेका थिए । कार्यक्रममा तमुधिं यूकेका विभिन्न इकाइले नृत्य प्रस्तुत गरे ।

सांस्कृतिक कार्यक्रम सूर्य गुरुङ, योगेश गुरुङ, गौमाया गुरुङ र निलम गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री