विलियमको बिहे भोज ख्वाएका नेपालीलाई हयारीको पनि चाहना

लन्डन । बेलायती राजकुमार विलियम र केट मिडलटनबीच बिहे हुनु अघिल्लो सांझ थियो अप्रिल २८, २०११ । विश्वभरका सयौं राजपरिवार सदस्यहरु एउटा डिनरमा सहभागी थिए नाइटब्रीजस्थित म्यान्डरिन ओरियन्टल होटलमा । त्यतिबेला विलियम र केटसहित विशिष्ट राजपरिवार सदस्यलाई रात्री भोज पस्किएका दुई नेपाली सेफ राजकुमार 
हयारीको बिहे हुने खबरले गदगद छन् । दाई विलियमको बिहेमा नजिकबाट काम गर्ने अवसर पाएर पनि दुई नेपाली सेफलाई हयारीको बिहेप्रति बढि चासो भएको हो । उनीहरु हयारीको समेत बिहे भोज ख्वाउन लालयित छन् ।

हाल बेलायतको टनब्रीजमा आफ्नै रेष्टुरेन्ट ‘गोर्खा प्लानेट’ चलाएर बसेका दिनेश महर्जन र दयाराम गिरी विलियम केट बिहे हुने ताका म्यान्डरिन ओरियन्टल होटलमा काम गर्थे । गिरी सेफ र ब्याङक्यूटिङ इन्चार्ज थिए भने महर्जन पेष्ट्री सुसेफ ।

‘राजकुमार विलियम र केटको बिहे भोज ख्वाउने अवसर हाम्रा लागि अविष्मरणीय छ’, महर्जन भन्छन्, ‘मलाई हेक्का भएसम्म विलियम र केटले शुरुमा क्यानापी र तीन कोर्स डिनर खाएका थिए । अवसर पाए हयारी मेगान बिहे भोजमा पनि सहभागी भएर मिठो खाना ख्वाउन सक्ने आत्मविश्वास हामीमा छ ।’

पांचतारे म्यान्डरिन होटल लन्डनकै उत्कृष्ट मानिन्छ । बल रुममा आयोजना गरिएको डिनरको भित्ता र सिलिङमा सुनको जलप भएको गिरी बताउंछन् ।

म्यान्डरिनमा गिरी र महर्जनले क्रमशः १७ र ११ वर्ष काम गरेपछि तीन वर्ष अघि आफ्नै रेष्टुरेन्ट खोलेका हुन् टनब्रीजमा । गोर्खा प्लानेट गत महिना लन्डनमा सम्पन्न एसियन करी अवार्डसमा वेष्ट हेल्दी इटिङ रेष्टुरेन्टमा रनर अप भएको थियो भने गत नोभेम्बर २७ मा आयोजित ब्रिटिश करी अवार्डसमा साउथ इष्ट इंग्ल्याण्डबाट वेष्ट रेष्टुरेन्टको सर्ट लिष्टमा परेको थियो ।

बेलायती राजकुमार हयारी र अमेरिकी चर्चित नायिका मेगान 
मार्केलबीच आगामी वर्ष २०१८ मे १९ तारिख शनिबार विन्डसोर क्यासलस्थित सेन्ट जर्ज च्यापलमा बिहे हुने तय भएको छ । वैवाहिक समारोहमा सांगीतिक कार्यक्रम सहित भोज हुने र त्यसको सबै खर्च राजदरबारले नै बेहोर्ने बताइएको छ ।

मार्केलसंग राजकुमार हयारी सन् २०१६ जुलाईदेखि अफेयर्समा थिए । यो जोडीले गत महिना इन्गेजमेन्ट गरि डिसेम्बर १ मा पहिलो पटक संयुक्त तस्वीर सार्वजनिक गरेका थिए । उनीहरुले पहिलो पटक शाही परिबारसंगै क्रिसमस मनाउने योजना बनाएका छन् ।

राजकुमार हयारी बेलायती राजगद्दीको पांचौ स्थानमा छन् । विवाहपछि उनीहरु केन्जिङटन प्यालेसस्थित नटिङम कटेजमा बस्ने तय भएको छ ।

हयारी मेगान बिहे राजपरिवारका अन्य सदस्यको भन्दा फरक दिन हुने भएको छ । सामान्यतया वीक डे (सोमबार देखि शुक्रबार) मा बिहे 
गर्ने शाही परम्परा विपरित हयारी र मेगानको बिहे भने शनिबार तय भएको हो । महारानीको बिहे बिहीबार र विलियम केट बिहे शुक्रबार भएको थियो । एफए कप फाइनलकै दिन हुने बिहेमा एफए अध्यक्षका हैसियतले प्रिन्स विलियम उक्त खेलमा सहभागी होलान् वा नहोलान् भन्ने जिज्ञासा समेत व्यक्त भएको छ ।

भूकम्पपछि नेपालको भ्रमणमा गएर लामो समय उतै रमाएका हयारी र ब्रिटिश गोर्खा सैनिकबीच विशेष सम्वन्ध छ । हयारीले कुनै बेला अफगानिस्तान युद्धको अग्रपंक्तिमा रहंदा गोर्खाहरु भएर आफूलाई सुरक्षित महशुस भएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री