पाउण्डको भाउ अन्तर्राष्ट्रिय बजारमा ६ महिना यता उच्च

लन्डन । ब्रेक्जिटको पहिलो चरण वार्ता सफलतातिर गएको खबरले बेलायती पाउण्डको भाउ अन्तर्राष्ट्रिय बजारमा ६ महिना यता उच्च भएको छ । शुक्रबार बिहानै ब्रेक्जिट वार्ता अर्को चरणमा प्रवेश गरेको समाचार लगत्तै पाउण्डको मूल्य १ दशमलब ३४ भन्दा बढि पुगेको छ । पाउन्डको विनिमय दर बढ्नुको कारण सम्झौता बिना नै बेलायत इयूबाट निस्कने हो कि भन्ने त्रास केहि मात्रामा हटेकाले भएको विश्लेषकहरु बताउंछन् ।

दोस्रो चरणको ब्रेक्जिट वार्तामा ब्यापार लगायत बेलायतको इयूसंगको भविष्यमा हुने सम्बन्धबारे सहमत हुनुपर्ने छ । पहिलो चरणको भन्दा दोस्रो पटकको बार्ता धेरै असजिलो हुने अनुमान गरिएको छ ।

ब्रेक्जिट जनमत संग्रह लगातै खस्किएको पाउण्डको भाउले बेलायतमा मुद्रास्फीति बढेको छ । यसले ब्यवसायहरुलाई पिरोल्छ भने निर्यात, लगानी र जम्मा वृद्धिलाई असर गर्छ जसले पाउण्डको भाउ कमजोर बनाउंछ ।

कमजोर पाउण्डले बेलायतमा बस्नेलाई अनेक रुपमा मुल्यमा असर गर्छ । जस्तो- जुनसुकै आयात गरिएको सामानको भाउ बढ्छ, पेट्रोलियम लगायत खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक सामानहरुको भाउ बढ्छ । होलिडे महंगो हुन्छ । यसको अर्थ पाउन्डको क्रय शक्तिमा ह्रास हुने हो । तर, सामान निर्यात गर्दा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सस्तो हुन पुग्छ ।

अन्तर्राष्ट्रिय विनिमयको हिसाबले कमजोर मुद्रामा यसको नाफा पनि कम हुन पुग्छ । नाफा कम भएपछि लगानी अन्यत्र जान्छ भन्ने मान्यता हुन्छ । यसले देशको अर्थतन्त्र लगायत सम्पतिको मुल्यमा पनि गिरावट आउंछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री