काठमाडौँ, २८ कात्तिक – सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुरक्षित र भयरहित बनाउने प्रयास गरे पनि मुलुकका विभिन्न स्थानमा उम्मेदवारमाथि नै आक्रमण हुन थालेपछि सम्बद्ध पक्षले चिन्ता व्यक्त गरेका छन् ।
सरकारले निर्वाचनलाई लक्षितगरी शान्तिसुरक्षा व्यवस्थालाई सबल, सुदृढ र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्दै आएको छ तर आजै संखुवासभा, भोजपुर र म्याग्दीमा उम्मेदवारमाथि आक्रमण भएको छ ।
यसअघि शनिबार रोल्पामा वाम गठबन्धनका उम्मेदवार वर्षमान पुन र शुक्रबार रुकुममा सोही गठबन्धनका उम्मेदवार जनार्दन शर्मामाथि आक्रमण भएको थियो । रोल्पामा आइतबार भिरबाट ढुंगा लडाएर पुनः पुनमाथि आक्रमण भएको थियो ।
आज भोजपुरमा नेकपा (एमाले)का नेता ताथ पूर्वमन्त्री शेरधन राई सवार सवारीमाथि बम पड्काइएको छ । यस्तै संखुवासभामा वाम गठबन्धनका उम्मेदवारमाथि हातेबम आक्रमण गरिएको छ ।
म्याग्दीमा नेपाली काँग्रेसका उम्मेदवार सवार सवारीसाधनमाथि पनि बम आक्रमण भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ‘खारेज’ गर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध अभियान शुरु गरेको छ । तर मुलुकका विभिन्न जिल्लामा उम्मेदवारमाथि भइरहेको आक्रमणका बारेमा हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । शान्तिसुरक्षामा खलल पुरयाएको भन्दै नेपाल प्रहरीले सो पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले नेकपाका कार्यकर्ताले आक्रमण गरेको बताए पनि सो पार्टी मौन बसेका कारण घटना थप रहस्यमय बन्दै गएको छ ।
चन्द नेतृत्वको पार्टीले उम्मेदवारको घरमा कालो झण्डा राख्ने, उम्मेदवारमाथि आक्रमण शुरु गरे पनि त्यसलाई नियन्त्रण गर्न सरकारले चासो नराखेको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपत्ति प्रकट गर्नुभएको छ । उहाँले सत्तापक्षका नेता तथा उम्मेदवारसँग सुरक्षाकर्मीको भीड लगाएको तर वाम गठन्धनका उम्मेदवारमाथि आक्रमण भइरहँदा कुनै चासो नदेखाएकामा गुनासो गर्नुभयो ।
रोल्पाको चुनावी अभियानमा सहभागी तथा दुई पटक आक्रमणमा पर्नुभएका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन भाँड्ने मनसायका साथ आफू र आफ्नो गठबन्धनमाथि आक्रमण भएको बताउनुभयो । उहाँले बम आक्रमण र भिरबाट ढुंगा लडाउने जस्तो आपराधिक क्रियाकलापले आफू हतोत्साहित नहुने भन्दै गलत क्रियाकलाप छाड्न चन्द नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो ।
गृह मन्त्रालयले आगामी निर्वाचनका लागि दुई लाख ६७ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । जसअनुसार, नेपाल प्रहरी ६० हजार, नेपाली सेना ६४ हजार, सशस्त्र प्रहरी बल ३० हजार, राष्ट्रिय अनुसन्धान विभागका एक हजार ५०० र म्यादी प्रहरी ९८ हजार परिचालन भएका छन् ।
रोल्पा र रुकुममा उम्मेदवारमाथि नै आक्रमण हुन थालेपछि निर्वाचन आयोगले आइतबार सुरक्षा निकायका अधिकारीलाई बोलाएर शान्तिसुरक्षाको अवस्थाका बारेमा जानकारी लिएको थियो । आयोगले शान्तिसुरक्षामा कुनै पनि कमजोरी नगर्न सरकारलाई निर्देशनसमेत दिएको छ । आयोगले निर्देशन दिएको दुई दिन बित्दा नबित्दै आज देशका तीन स्थानमा उम्मेदवारमाथि नै आक्रमण भएको छ ।
भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चुनावीसभामा जाँदै गर्दा आक्रमणमा पर्नुभएका पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका शेरधन राईले आफूलाई हत्या गर्ने योजनाका साथ आक्रमण भएको बताउनुहुन्छ । घटनालाई गम्भीर रुपमा लिएको भन्दै उहाँले त्यसमा संलग्नलाई कारबाहीको माग गर्नुभयो । देशव्यापी रुपमा आक्रमण बढेपछि गृह मन्त्रालयले घटनाको सूक्ष्म अनुसन्धान र छानबिन गरिरहेको जनाएको छ ।
गृहमन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले उम्मेदवारमाथि आक्रमण हुने विषय क्षम्य नभएको भन्दै दोषीमाथि कारबाही हुने बताउनुभएको छ । बाँकेमा आज आयोजित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उहाँले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सरकार तयार रहेको बताउनुभयो ।
राज्य संयन्त्रले पनि पहाडी जिल्लामा विप्लवको पार्टीलाई सुरक्षा चुनौती ठानेको छ । तराईमा भने जातीय राजनीतिलाई चुनावी चुनौती मानिएको छ । पहिलो चरणको चुनावका लागि सुरक्षाकर्मी परिचालन भइसकेका छन् । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा चुनाव हुँदैछ । गृहमन्त्रालयले संवेदनशील, अति संवेदनशील र सामान्य संवेदनशील गरी तीन वर्गमा मतदानस्थललाई वर्गीकरण गरी सुरक्षाकर्मी खटाउने योजना बनाएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार