‘हेभीवेट’ का कारण चितवनको चुनावी कार्यक्रममा सबैको चासो

चुनावी कार्यक्रमको सिलसिलामा चितवन आउनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल, ‘प्रचण्ड’ लाई बिहीबार चितवनको भरतपुरमा स्वागत गर्दै संयुक्त वाम गठबन्धनका महिलाहरु । तस्बिर – नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

रत्ननगर, चितवन, २३ कात्तिक – मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला मन्त्री र सांसदहरु नै चुनावी प्रतिष्पर्धामा देखिएका कारण चितवन जिल्लाको चुनावी कार्यक्रमहरु सबैको चासो र चर्चाको विषय बनेको छ ।

मतदाता मनोज अर्याल पूर्वप्रधानमन्त्री र मन्त्रीदेखि बहालवाला मन्त्रीसमेतको सहभागिताले जिल्लाको चुनावी प्रतिष्पर्धा निक्कै चासोको विषय बनेको बताउनुहुन्छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’, पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, बहालवाला वन तथा भूसंरक्षण मन्त्री एवं राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

अहिले चितवनको सबैभन्दा चासोको विषय क्षेत्र नम्बर ३ बन्न पुगेको छ । तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ मा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल नै चुनावी मैदानमा हुनुहुन्छ ।

उहाँको प्रतिष्पर्धीका रुपमा राप्रपा(प्रजातान्त्रिक)का उपाध्यक्ष एवं बहालवाला वन तथा भूसंरक्षण मन्त्री पाण्डे रहनुभएको छ । दाहाल वाम गठबन्धनबाट उम्मेदवार हुनुभएको हो भने पाण्डे लोकतान्त्रिक गठबन्धनबाट आउनुभएको हो ।

पहिलो चरणको चुनावी प्रचार अभियान सम्पन्न गर्नुभएका दाहालले चितवनका जनताबाट अधिकार प्राप्त गरेर देशकै नेतृत्व गरी स्थायी शान्ति र समृद्ध राष्ट्र बनाउन चितवन आएको दावी गर्नुभएको छ । पाण्डे भने विकासका लागि चुनावमा आएको भन्दै प्रचार अभियानमा सक्रिय हुनुहुन्छ ।

उहाँहरुसहित कूल १४ जनाको उम्मेदवारी रहेको चितवन क्षेत्र नम्बर ३ मा अर्का पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री एवं नेकपा (माले)का नेता श्रेष्ठको समेत उम्मेदवारी छ । सो क्षेत्रमा ६ जनाको स्वतन्त्रबाट उम्मेदवारी परेको छ ।

चितवन क्षेत्र नम्बर २ मा शिक्षा राज्यमन्त्री तथा सांसद शेषनाथ अधिकारीको उम्मेदवारी परेको छ । उहाँसँग वाम गठबन्धनबाट नेकपा एमालेका नेता तथा सांसद कृष्णभक्त पोखरेल प्रतिष्पर्धामा हुनुहुन्छ ।

देवघाटबाट जनताको आशिर्वाद लिएर चुनावी मैदानमा आएको बताउँदै पोखरेल भन्नुहुन्छ, ‘जिल्लामा वाम गठबन्धनको जित सुनिश्चित छ ।’ अधिकारी आफू यहाँको ‘अग्र्यानिक’ उम्मेदवार भएकाले मतदाताहरुले मत दिने दावी गर्दै चुनावी अभियानमा हुनुहुन्छ ।

यसअघिको निर्वाचनमा पोखरेल क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो भने अधिकारी क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो । चितवन क्षेत्र नम्बर २ मा १५ जनाको उम्मेदवारी रहेकामा तीनजना स्वतन्त्र उम्मेदवार छन् ।

अहिले निर्वाचन क्षेत्र ५ बाट ३ मा झारिएकाले मतदाताहरुको भोट बाँडिने भएर आकलन गर्नसक्ने स्थिति छैन । तर स्थानीय तहमा आएको पार्टीहरुको भोट हेर्दा वाम गठबन्धन केही अगाडि देखिन्छ ।

त्यसो त चितवन क्षेत्र नम्बर १ मा एमालेका पूर्व अर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे चुनावी मैदानमा हुनुहुन्छ । उहाँका प्रतिष्पर्धीमा नेपाली काँग्रेसबाट राजेन्द्र बुर्लाकोटी चुनावी मैदानमा हुनुहुन्छ । दाहाललाई देखाउँदै पाण्डेले जिल्लाको विकास दुई भाइले गरेरै छाड्ने बताउनुभयो । यहाँबाट प्रतिनिधिसभामा उठेका १३ उम्मेदवारमध्ये ३ जना स्वतन्त्र हुनुहुन्छ । यसअघि २०७० को निर्वाचनमा पनि उहाँहरुबीच नै प्रतिष्पर्धा भएको थियो ।

प्रदेशसभातर्फ यस्ता छन् उम्मेदवार
चितवनमा मुख्य दलहरुबाट उम्मेदवार बनेका नेताहरु अहिले भोट माग्न घरदैलोमा व्यस्त छन् । क्षेत्र नम्बर १ मा प्रदेश (क)मा काँग्रेसका धनबहादुर गुरुङ् तथा (ख) मा उत्तम आचार्य हुनुहुन्छ ।

क्षेत्र नम्बर २ को प्रदेश (क) मा जीतनारायण श्रेष्ठ र (ख)मा प्रकाश अधिकारी तथा क्षेत्र नम्बर ३ को प्रदेश (क)मा दिनेश कोइराला र (ख)मा साजनकुमार महतो प्रतिष्पर्धामा हुनुहुन्छ ।

यता वाम गठबन्धनले क्षेत्र नम्बर १ को प्रदेश (क)मा दावा लामा र (ख)मा कृष्ण खनाल, क्षेत्र नम्बर २ को प्रदेश (क)मा घनश्याम दाहाल र (ख)मा विजय सुवेदी हुनुहुन्छ ।

यस्तै, क्षेत्र नम्बर ३ को प्रदेश (क)मा कृष्ण भुर्तेल र प्रदेश (ख) रामलाल महतो चुनावी मैदानमा हुनुहुन्छ ।

मतदाताको अवस्था र मतदान स्थल  

अघिल्लो निर्वाचनको भन्दा ४१ हजार मतदाता थपिएर यसपटक जिल्लामा कूल ३ लाख ५४ हजार ३६ पुगेको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर १ मा १ लाख १९ हजार ९९८ मतदाता छन् । यहाँ कूल ५६ वटा मतदान स्थल तोकिएको छ ।

क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २१९ मतदाता छन् । यहाँ ४३ वटा मतदान स्थल तोकिएको छ । यस्तै, क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८१८ मतदाता रहेका छन् । मतदान स्थल भने ६२ तोकिएको ढकालले बताउनुभयो ।

जिल्लामा कूल १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्र तोकिएको छ । चितवन क्षेत्र नम्बर १ मा राप्ती, खैरहनी र रत्ननगर नगरपालिका रहेको छ । यस्तै, क्षेत्र नम्बर २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरको भरतपुर महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडा समेटिएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९ तथा १३ देखि २८ नम्बरसम्मका वडा समेटिएको छ ।

प्रचण्डद्वारा घरदैलो अभियान शुरु

चितवन, २३ कात्तिक (रासस) – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि घरदैलो अभियान शुरु गर्नु भएको छ ।

भरतपुर महानगरपालिका–१३ को उज्वलनगरबाट उहाँले घरदैलो अभियान शुरु गर्नु भएको हो ।

घरदैलोका क्रममा स्थानीयले ज्येष्ठ नागरिक दिवा परियारले नजिकैको वनबाट वन्यजन्तु आएर दुःख दिने गरेको गुनासो गर्नुभयो ।

अर्की ज्येष्ठ नागरिक मुनि न्यौपानेले नाम मात्र सुनेको ‘प्रचण्ड’लाई भेट्न पाउँदा खुसी लागेको बताउनुभयो । ज्येष्ठ नागरिक बिबा परियारले अब सधैँ चिचवनमा नै बसेर जिल्लाको विकास गरिदिन प्रचण्डलाई आग्रह गर्नुभयो ।

घर दैलोका क्रममा अन्यले पनि जंगली जनावर र खोलाको त्रास हटाई दिन उहाँलाई आग्रह गरेका थिए ।

सो क्रममा अध्यक्ष दाहालले आधुनिक मेस र जाली निर्माण गर्ने तथा तटबन्ध गरेर नदि कटान रोक्ने आश्वासन दिनुभयो ।

कात्तिक २७ गतेसम्म चितवन रहनुहुने अध्यक्ष दाहालले नियमित घरदैलो अभियान र सभा, सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

घरदैलो अभियान शुरु गर्नु अघि अध्यक्ष दाहालले उज्वलनगर चोकमा प्रचार कार्यालयको उद्घाटनसमेत गर्नुभयो ।

सो अवसरमा उहाँले चितवन र समग्र राष्ट्रको समृद्धिका लागि आफूले चितवनलाई रोजेको बताउँदै निर्वाचनपछि वाम गठबन्धनको बहुमत आउने र मुलुकमा स्थिर सरकारसँगै देश आर्थिक समृद्धिमा लाग्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री