स्कटल्याण्डमा सगरमाथा आरोहीहरु सम्मानित


स्कटल्याण्ड । स्कटल्याण्डको आबर्डिनमा दुई सगरमाथा 
आरोहीलाई सम्मान गरिएको छ । स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाइजेशन फर नेपलिज कल्चर एण्ड वेलफेयरले नेपाल स्कटल्याण्ड मैत्री सम्बन्ध विषयक कार्यक्रममा 
आरोहीलाई सम्मान गरेको हो ।

८८४८ रेस्टुरेन्टको सहकार्यमा भएको कार्यक्रममा सर्वोच्च शिखर सगरमाथा आरोही दावा शेर्पा र स्कटिस आरोही मार्क क्याडमेनलाई बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी र आबर्डिन शहरका लड प्रोबस्टका प्रतिनिधि काउन्सिलर क्ल्येर 
इम्रीले संयुक्त रुपमा सम्मान गरे ।

उक्त समारोहमा बोल्दै आरोही शेर्पाले आफू औपचारिक रुपमा तीन र सहयोगीको रुपमा धेरै पटक सगरमाथा आरोहण गरेको जनाए । पर्वतारोहण सहयोगीका रुपमा एक स्कटिस महिला आरोहीलाई मृत्युको मुखबाट बचाएपछि उनले पुनर्जीवन पाएको बताउंदै शेर्पाले त्यही कारण आफू र परिवारलाई स्कटल्याण्ड ल्याएर स्थापित गरेको पनि बताए । त्यस्तै अर्का स्कटिस मार्क क्याडमेनले २०१५ को महाभूकम्पका कारण सगरमाथा आरोहण बीचमै छाड्नु परे पनि केहि महिना अघि मात्र सगरमाथाको सफलतापूर्वक आरोहण गरेको जनाए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत सुबेदीले स्कटल्याण्ड र नेपालबीचको सम्बन्ध २०० वर्ष पुरानो रहेको बताउंदै अहिले नेपाली समुदाय स्कटल्याण्डमा राम्रोसंग स्थापित भएको देख्दा आफूलाई निकै खुशी लागेको बताए । सो अवसरमा आबर्डिन शहरका लर्ड प्रोबस्टका प्रतिनिधि काउन्सिलर क्ल्येर इम्रीले नेपाली समुदायले स्कटल्याण्डमा गरेको योगदानको प्रशंसा 
गर्दै नेपाली समुदायलाई धन्यवाद व्यक्त गरिन् ।

आयोजक संस्था अर्गनाइजेशन फर नेपलिज कल्चर एण्ड वेलफेयरका अध्यक्ष प्रकाश अर्यालले सहभागीहरुलाई धन्यवाद दिए भने सचिव सन्तोष गैरेले यस्ता कार्यक्रमले जनस्तरमा नेपाल र स्कटल्याण्ड सम्बन्ध सुमधुर राख्न सहयोग गर्ने बताए ।

उक्त कार्यक्रममा सोहन घिमिरेले बांसुरी बजाएर नेपाली धुनको परिचय दिएका थिए भने अनुसुया बोहोरा र आध्या रेग्मीले नेपाली नृत्य प्रस्तुत गरे । कार्यक्रममा सम्पूर्ण सहभागीहरुलाई पन्चकन्याले नेपाली ढाकाटोपी लगाइदिएर स्वागत गरे ।

कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, 
प्राज्ञ, ब्यवसायी, नेपालसंग सम्बन्धित व्यक्तिहरु र नेपाली समुदायका अगुवाहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री