
दूतावासद्वारा स्कटल्याण्डमा दशैं तिहार शुभकामना कार्यक्रम
एडिनबरा । लन्डनस्थित नेपाली दूतावासले स्कटल्याण्डको एडिनबरामा दशैं तिहार शुभकामना कार्यक्रम आयोजना गरेको छ । यसपटक लन्डनमा नगरि स्कटल्याण्डमा कार्यक्रम गरिएको हो ।
रोक्सी थिएटरमा भएको उक्त कार्यक्रममा ब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी तथा स्कटल्याण्डका लर्ड प्रोभस्ट फ्रयांक रस प्रमुख अथितिका रुपमा उपस्थित थिए । कार्यक्रममा राजदूत सुवेदी पत्नी, स्कटल्याण्डका विशिष्ट पदाधिकारी लगायत नेपाल स्कटल्याण्ड एसोसिएसन, हिमालय सेन्टरका पदाधिकारीहरु तथा स्कटल्याण्डका नेपालीको उपस्थिति थियो ।
कार्यक्रमका अवसरमा काठमाण्डौंको परम्परागत धिमे ज्यापू बाजा बजाई सहभागीको स्वागत गरिएको थियो भने काठमाण्डौंमा मनाइने इन्द्र जात्राको झलक सुन्दर तरिकाले प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा राजदूत सुवेदीले नेपाल र बेलायतबीच २०० वर्ष पुरानो अनि मजवुत सम्बन्ध रहेको जनाउंदै स्कटल्याण्डमा भएको यो कार्यक्रमले नेपाल र यूके साथै स्कटल्याण्डबीच सम्वन्ध थप गाढा भएको बताए । उनले स्कटल्याण्डबासी नेपालीमाझ दशैं तिहार शुभकामना दिंदै नेपाल स्कटल्याण्ड एसोसिएसन र हिमालयन सेन्टरद्वारा नेपालमा भएको आपतकालिन सहयोग, नेपाली भाषा अध्ययन र कला संस्कृतिको संरक्षण प्रयासले आफू अत्यन्तै खुशी भएको र यो कुरा नेपाल सरकारसम्म पुरयाउने वचन दिएका थिए ।
राजदूतले नेपाली कला संस्कृति एवं झांकी प्रवर्धनका लागि सहयोग गर्ने नेपाल स्कटल्याण्ड एसोसिएसनका सल्लाहकार चरन प्रधान र कार्यक्रम संयोजक महासचिव विजय डंगोललाई पनि धन्यवाद दिए । उनले नेपाली भाषाको जगेर्नाका निम्ति यहांका बालबालिकालाई नेपाली शिक्षा दिइरहेकोमा एसोसिएसनका उपाध्यक्ष गोविन्द कंडेललाई धन्यवाद दिए ।
कार्यक्रमका प्रमुख अतिथि लर्ड प्रोभस्ट फ्रयांकले नेपालसंगको ऐतिहासिक सम्वन्ध गौरवको विषय भएको बताए । उनले नेपाल विविधताको केन्द्र रहेको चर्चा गर्दै नेपालको सुन्दरता र विविधता साथै नेपालीको न्यानो आतिथ्यलाई आफूले कहिल्यै बिर्सन नसक्ने पनि उल्लेख गरे ।
सो सांस्कृतिक कार्यक्रममा धिमे, लाखे, कौडा, शेर्पा, गोर्खाली खुकुरी नाच, चण्डी जस्ता विविध मौलिक परम्पारिक नेपाली नाचको माहोलले नेपाली माटोको महशुस गराएको थियो । सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै प्रबिना खनालले ती सबै नाचहरुबारे जानकारी दिएकी थिइन् ।
स्कटल्याण्डवासी नेपालीहरु कार्यक्रम भएकामा प्रसन्न छन् । उनीहरुले आगामी दिनमा पनि नेपाली कला संस्कृति एवं भाषा बचाई राख्ने सवालमा आफूहरु सधैं तत्पर रहने दृढता व्यक्त गरेका छन् । कार्यक्रम संयोजन गरिदिने बिमल गिरीप्रति आयोजक आभारी छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई