राजदूत डा. सुवेदीले कार्यभार सम्हालेको एक वर्ष पुरा

राजदूत डा. दुर्गाबहादुर सुवेदी

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले लन्डनस्थित राजदूतावासमा कार्यभार सम्हालेको शुक्रबार एक वर्ष पुरा भएको छ ।

कुटनीतिक सेवामा तीन दशक लामो अनुभव संगालेका सुवेदीले नेपालका सम्माननीय प्रधानन्यायधिश गोपाल पराजुलीको सम्मानमा दूतावासमा आयोजित विशेष समारोहमा दुई सय वर्ष पुरानो 
मैत्रीपूर्ण, घनिष्ट र पुरानो कुटनीतिक सम्बन्ध भएको मुलुक संयुक्त अधिराज्य (यूके) मा राजदूत हुन पाउनु आफ्नो कुटनीतिक जीवन र समग्र जीवनकै एक उपलब्धि भएको बताए ।

‘बेलायत नेपाल ऐतिहासिक दौत्य सम्वन्ध अझ प्रगाढ बनाउन, 
मैत्रीपूर्ण सम्वन्ध जनस्तरसम्म अभिवृद्धि गर्न र बेलायतका नेपालीको हक हित र कल्याणका लागि कार्य गर्ने 
प्रतिवद्धता अनुरुप म सफलतापूर्वक अगाडि बढिरहेको छु’, राजदूतले भने, ‘मेरो कार्यसम्पादनमा सहकार्य, 
सद्भावना, सहयोग, सल्लाह र सुझाव दिने बेलायत, आयरल्याण्ड र माल्टावासी नेपाली र संघसंस्था एवं एनआरएनएप्रति म आभार व्यक्त गर्दछु ।’

राजदूत सुवेदीले बेलायतवासी नेपालीमा नेपालमा 
राजनीतिक स्थायित्व, शान्ति, स्थिरता, आर्थिक समृद्धि र सामाजिक सद्भाव कायम रहोस् भन्ने पवित्र भावना रहेको आफूले पाएको पनि बताए ।

‘भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप र संकट आइपर्दा 
सहयोग गर्न यहांका नेपालीमा सद्भावना र सहभावना रहेको पाएं’, विदेशीसहित सयौं सहभागी कार्यक्रममा राजदूतले भने, ‘प्रवासमा रहेपनि हामी नेपाली हौं र नेपाली नै रहेर बांच्न चाहन्छौं भन्ने महान भावना बेलायतका नेपालीमा जीवन्त रहेको पाएं । महत्वपूर्ण कुरा विविधताको विशिष्टता र विविधताबीचको एकताको विशेषतालाई बेलायतको नेपाली समाजले जोगाएर राखेको छ ।’

मन्तव्यका क्रममा राजदूत डा. सुवेदीले एनआरएनए यूके नवनिर्वाचित कार्यसमितिलाई सफल र सार्थक कार्यकालको शुभकामना र बधाइ समेत दिए । उनले दूतावास एनआरएनए 
यूकेसंग सहकार्य गरेर नेपाल र नेपालीको कल्याणका लागि संगै काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा योगकुमार फगामी नेतृत्वको एनआरएनए यूके नवनिर्वाचित कार्यसमितिलाई खादाले सम्मान गरियो ।

कार्यक्रममा प्रधानन्यायधिश पराजुलीको साथमा आएका सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, जिल्ला न्यायधिश बिदुर कोइराला, श्रीमति पराजुली, कलाकारहरु कालीप्रसाद बास्कोटा, हेमन्त राना, सुष्मा कार्की लगायतलाई पनि सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रधानन्यायधिश गोपाल पराजुलीले राजदूत डा. सुवेदीमा प्राचार्य यदुनाथ खनाललाई बिर्साउने कुटनीतिक क्षमता र कुशल साहित्यकार भएको प्रशंसा 
गर्दै आफू सुवेदीको विद्वत अभिव्यक्तिसंग प्रभावित भएको बताए ।

पराजुलीले बेलायतलाई बचाउन नेपालीको भूमिका इतिहासमा कहिल्यै नमेटिने बताउंदै त्यो नेपालीका लागि गौरव गाथा रहेको बताए । ‘हिजोभन्दा आज नेपाल भिन्न छ । सबै जाती सम्प्रदाय, दुरदराज र भूगोलबाट पिछडिएकाहरुका लागि नयां संविधान निर्माण भएको छ’, पराजुलीले भने, ‘हाम्रो संविधान समावेशीमात्र होइन, नागरिकको अधिकार र कर्तव्यको सन्दर्भमा ठूला प्रजातान्त्रिक 
मुलुकका तुलनामा समेत उत्कृष्ट छ । अब सबै नेपालीहरु नेपालभित्रै अट्नेछन्, नेपालकै भूमिमा बसेर हांस्न सक्नेछन् र नेपालमै व्यवसाय गर्नेछन् ।
बरु कार्यान्वयन पक्ष जरुरी छ ।’

उनले राजनीतिक इच्छा, राजनीतिक पार्टीको बीचमा न्यूनतम सहमति, कार्यान्वयन र कानुनको शासन मान्ने भावना जरुरत रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा पराजुलीले राजदूत सुवेदीका दुई कृति समेत विमोचन गरे ।

तस्विरः मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री