लोकका प्रिय गायक याम क्षेत्री

लन्डन । लोक दोहोरी गायक याम क्षेत्री करिब ५० दिन यता बेलायत छन् । पर्वत वेलफेयर सोसाइटी यूकेको निमन्त्रणामा ६ महिनाबीचमा उनी दोश्रो पटक बेलायत आएर कयौं कार्यक्रम गर्न सफल भए । ‘यूके बसाइ समग्रमा राम्रो भइरहेको छ,’ दशैं अघि नेपाल जाने तयारीमा रहेका उनले सुनाए, ‘नयां ठाउं देख्न घुम्न पाइयो । मुख्य कुरा नेपाली एकापसमा मिलेर बसेको देख्दा खुशी लाग्यो । बेलायत आउंदा पनि नेपालमै भएजस्तो अनुभूति भयो ।’

क्षेत्रीले नेपालीको बाहुल्यता रहेको अल्डरसट, लन्डन हयारो, चाल्टन, प्लमस्टिड, स्कटल्याण्ड, बेजिङस्टोक, नटिङहाम, बर्मिङहाम लगायत शहरमा विभिन्न २५ वटा कार्यक्रम भ्याए । ‘नेपालीले गर्ने माया सम्मानबाट प्रभावित भएं’, क्षेत्रीले भने, ‘यहांका नेपाली आफ्नो राष्ट्रप्रति सदैव सकारात्मक रहेको पाएं । नेपाली कला संस्कति, धर्म, संस्कार र परम्पराको जगेर्ना गर्ने र कलाकारलाई माया गरेर घुमाउने, सम्मान गर्ने परिपाटीले लोभ्यायो ।’

पर्वत स्थायी बासिन्दा क्षेत्री विगत १३ वर्ष देखि लोक गायनमा क्रियाशिल छन् । ‘पन्चेबाजा, रोयला, सालैजो लगायत दोहोरी र राष्ट्रिय गरि २०० भन्दा बढि गीत गाइसकें’, उनले सुनाए, ‘मेरा कयौं सदावहार गीत दर्शक रोजाइमा छन् ।’ उनका शितल दिने पिपल समी छ, फूल राम्रो गुलाबको कांडा भएनि, माली गाईको दही मिठो, यो चोखो माया मर्दैन, घामले नि पोलदियो, कल्पनामै भएनि देख्छु भनेको, किन यस्तो हुन्छ, बादलुले हो, पहाडको पर्वततिर, नयां नेपाल, यस्तै रैछ माया, चोटै चोटको खानी, कति रुनु छ र… लगायत असंख्य हिट गीत छन् ।

नेपाल फर्किए लगत्तै दशैं र पन्जे बाजा गीत रेकर्डिङ 
गर्ने योजना उनको छ । आफ्नै समर्पण म्यूजिक प्रा.लि. बाट आफ्ना गीत रिलिज गर्छन् याम ।

नेपालमा लोक दोहोरीको अवस्था राम्रो रहेको बुझाइ यामको छ । तर, दोहोरीमा क्षणिक लोकप्रियताका लागि छाडापन, अपाच्य शब्द पनि समावेश हुन लागेकामा उनी चिन्तित छन् । ‘लोक संगीत राष्ट्रको चिनारी र नेपाली संस्कृति हो’, उनले भने, ‘आफ्नो नेपालीपन जोगाउन पनि लोकगीत अपरिहार्य छ ।’

याम कला संगीत भनेर सम्पूर्ण जिन्दगी बिताएका राम्रा सर्जकलाई राज्यले पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउंछन् । ‘स्वदेशमा निराशा, हतोत्साही र उचित वातावरण नहुंदा धेरै प्रतिभा पलायन भइरहेको स्थिति छ’, उनले वास्तविकता सुनाए ।

युरोपका करिब ८ वटा देश अलवा कतार, भारत र नेपालको ५० जिल्लामा महोत्सव र अन्य अवसरमा कार्यक्रम गर्न पुगिसकेका क्षेत्री गीत संगीत क्षेत्रले धेरै कलाकार र 
परिवारलाई बचाएको बताउंछन् । ‘विदेशका कार्यक्रम, स्वदेशमै मेला, स्टेज परफरमेन्स र युट्यूबबाट पनि पैसा आउने भएकाले कलाकार बांच्न सक्ने स्थिति छ’, उनले भने ।

आफ्नो बेलायत बसाइ सार्थक बनाउन उल्लेख्य भूमिका निर्वाह गर्ने एनआरएनए युरोप संयोजक कुल आचार्य, पर्वत समाज यूकेका अध्यक्ष दधि आचार्य, महासचिव भरत पौड्याल, अल्डरसटस्थित एम्पाएर हलका प्रवन्धक पुरन 
गिरी, नारायण गिरी, एनआरएनए यूके उपाध्यक्ष डासुराम पाण्डे, लन्डन नेपाल न्यूजका शिव भण्डारी, निरमाया दोहोरी का सञ्चालक गणेश गुरुङ लगायत सबैप्रति कृतज्ञ छन् उनी ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री