नेपाली मेलामा लन्डन मेयर आउने पक्का, १८ विदेशी राजदूतलाई निमन्त्रणा


लन्डन । २७ अगष्टका दिन केम्पटन पार्क रेस कोर्समा हुन लागेको ९ औं नेपाली मेलामा लन्डन मेयर सादिक खान आउने पक्का भएको छ । मेला आयोजक तमुधिं यूकेले आइतबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हुने उक्त मेलामा नेपालका संस्कृतिमन्त्री आउने योजना भने बाढी पहिरोपछि निम्तिएको विपत्तिका कारण स्थगित भएको छ । मेला संयोजक तथा तमुधिं यूके उपाध्यक्ष हितकाजी गुरुङले संस्थाका संरक्षक एवं एनआरएनए आइसीसी अध्यक्ष शेष घले, लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी आउने निश्चित भएको र अन्य विदेशी १८ जना राजदूतलाई निमन्त्रणा गरिएको जनाए । मेला हेर्न हाइ प्रोफाइलबाहेक करिब १२ हजार दर्शक आउने अनुमान आयोजकको छ ।

संयोजक गुरुङले नेपाली मेला भव्य बनाउन ६२ जना सम्मिलित कमिटीले जिम्मेवारीपूर्वक काम गरिरहेको बताए । मेला स्थल बिहान साढे ७ बजे नै खुल्ला गर्ने र दिउसो १ बजेदेखि झांकी शुरु हुने तमुधिं यूकेले जनाएको छ ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ हुने मेलामा यसवर्ष करिब तीस संघसंस्थाका झांकीसहित युवाहरुका लागि लाइभ म्यूजिक, गीत संगीत, नृत्य प्रतियोगिता, खाना प्रदर्शनी, आदि आकर्षण हुनेछन् । प्रथम पुरस्कार ११ सय पाउण्ड र मेडल दिइने एम्बेसेडर कप तथा नृत्य-झांकी प्रतियोगिता पनि आकर्षणका रुपमा छ । ६ खाना र २५ व्यापारिक तथा च्यारिटी स्टल रहने तमुधिं यूकेले जनाएको छ ।

तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले बेलायतमा रहे पनि नेपाली भाषा, कला संस्कृति, परम्परा र पहिचान संरक्षण गर्ने परिकल्पनासहित नेपाली दूतावास र विभिन्न संघसंस्थाको सहयोगमा सन् २००८ देखि शुरु नेपाली मेला अहिले व्यापक भइसकेको बताए । उनले नेपाली मेला पर्यटन प्रवर्धन र नेपाली समुदायका व्यवसाय विस्तारमा समेत कोशेढुंगा सावित भएको उल्लेख गरे । ‘हामीले नेपाली मेलालाई एउटा जाती वा वर्गमा केन्द्रित नगरि सबैलाई अपनत्व महशुस हुने गरि खुल्ला गरेका छौं । यसले आपसी एकता र भाइचारा अभिवृद्धि समेत गरेको छ’, अध्यक्ष गुरुङले भने । उनले बेलायतवासी समस्त नेपालीलाई मिनी नेपाल अवलोकनका लागि आव्हान समेत गरेका छन् । संस्थाले दर्शकबाट अपिल गरि नेपालका बाढी पीडितलाई समेत आर्थिक सहयोग गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा नेपाली मेलाका जन्मदाता एवं पूर्व अध्यक्ष सुवसिं गुरुङले लन्डन मेयर सादिक खान आउने ९९ प्रतिशत निश्चित भएको बताए । हाइ प्रोफाइल अतिथी सत्कार र निमन्त्रणाको जिम्मेवारी लिएका गुरुङले बेलायतको विपक्षी दलका नेता जेरेमी कोर्बिन र पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनलाई समेत निम्तो पठाइएको जानकारी दिए ।

स्वागत मन्तव्य व्यक्त गर्दै तमुधिं यूके उपाध्यक्ष नन्दजंग गुरुङले आयोजक तमुधिं यूके भएपनि मेला सबै जातजातीको साझा भएको बताए ।

महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा मिडिया सेक्रेटरी रोहित गुरुङले सञ्चारकर्मीहरुको सम्मान संयोजन र पास व्यवस्थापन गरेका थिए ।

लन्डन रिचमण्डदेखि केम्पटन पार्क रेस कोर्ससम्म आइपुग्दा नेपाली मेलाको आकर्षण हवात्तै बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री