हिराधन राईले एनआरएनए यूके अध्यक्षको उम्मेदवारी घोषणा गरे

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको ९ सेप्टेम्वर २०१७ मा हुन गइरहेको ७ औं महाधिवेशनमा वर्तमान उपाध्यक्ष हिराधन राईले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार सांझ भेटघाट रेष्टुरेन्टमा बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीमाझ उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

बडो शालिन रुपमा प्रस्तुत भएका राईले एनआरएनए अभियानमा लामो अनुभव र सामाजिक कार्यप्रति तीव्र चाहनाबीच उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए । आफूलाई एनआरएनए आइसीसीका अग्रजहरु अध्यक्ष शेष घले, जिवा लामिछाने र कुमार पन्तको समेत शुभ आर्शीवचन प्राप्त भएको जनाउंदै राईले बेलायतको नेपाली समुदायको साथ समर्थन र सल्लाहले यस प्रतिष्पर्धामा लाग्न अझ आत्मबल बढेको बताए । १८ वर्ष लामो ब्रिटिश सैनिक जागिरबाट अवकास लिएपछि सामाजिक काममा सक्रिय रहेका राईले अध्यक्षको उम्मेदवारी घोषणासंगै विभिन्न प्रतिवद्धता सार्वजनिक गरेका छन् (तल पढ्नुहोस्)

दुई पटक एनआरएनए यूकेको उपाध्यक्ष भइसकेका राईले यसपटक अध्यक्षको जिम्मेवारी दिन समस्त बेलायतवासी नेपालीसमक्ष आग्रह गरेका छन् ।

राई श्रीमति रोजिना प्रधान राईका साथ ।

घोषणासभामा उनलाई समाजसेवीहरु डा. राजेन्द्र थापा, शिवजी श्रेष्ठ, कांग्रेसका युवराज गुरुङ, कोपिला सुब्बा, इन्जिनियर राजकुमार त्रिपाठी, डा. मिन रानाभाट, बुद्ध फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठ, साउथ इष्ट लन्डन रिजनल तमुधिं इकाइका अभियन्ता हयारी गुरुङ, राजेन्द्र गुरुङ, किरात राई यायोख्या यूकेको तर्फबाट अध्यक्ष पदम राई, महासचिव जितेन राई, लालसुन्दर राई, डा. प्रमोद राई, आशा राई, सुमनचन्द्र राई, रत्न राई, ब्लाइन्ड रक्सकी श्रृष्टि केसी, ग्रेटर रसमोर नेपलिज कम्युनिटीका वरिष्ठ उपाध्यक्ष जिव बेल्वासे, एसियन महिला एसोसिएसनकी अध्यक्ष अमिता बेल्वासे, बाचस्पति रेग्मी, सुरेन्द्र श्रेष्ठ, आदिवासी जनजाती महासंघ बेलायतका महासचिव कर्मा पहाडी शेर्पा लगायतले शुभकामना दिएका थिए । वक्ताहरुले विगतमा सहमतिका नाममा विधान विपरित उम्मेदवारजति सबैलाई नेतृत्वमा ल्याएकोप्रति इंगित गर्दै यसपटक त्यो प्रवृत्ति नदोहोरिस भन्ने कामना समेत गरे ।

कार्यक्रममा सञ्चारकर्मीहरुलाई स-सम्मान मञ्च उपलव्ध गराएर राई आफू भने दर्शकदीर्घामा थिए । नयां शक्ति बेलायतका धन गुरुङ, तमुधिं यूकेका तर्फबाट सल्लाहकार एकेन्द्र गुरुङ, महासचिव कृष्ण गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्षहरु सूर्जे गुरुङ र सुवसिंह गुरुङ, सल्लाहकार मधुकर गुरुङ, मिडिया कोअर्डिनेटर रोहित गुरुङ र मान गुरुङ अबेर सहभागी थिए ।

 

राईको प्रतिवद्धता-पत्र जस्ताको तस्तैः

हिराधन राई, अध्यक्ष (प्रत्यासी)
गैर आवासीय नेपाली संघ यूके, (अधिवेसन), ९ सेप्टेम्वर २०१७
प्रतिवद्धता–पत्र

‘मेरो प्रतिवद्धता विविधतामा एकता एनआरएन यूकेमा मेरो प्रतिवद्धता’

घरदेशबाट परदेशमा आइ विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीको भावना, चाहना र सपनाको प्रतिबिम्बित साझा संस्था हो– गैरआवासीय नेपाली संघ (एनआरएन) । यो एनआरएनले आफ्नो अभियान सञ्चालन गरेको १३ वर्षभन्दा बढी भइसक्यो भने हामी अहिले ७ औं महाधिवेशनको संघारमा छौं । विविध धर्म, संस्कृति, भाषा, पेशा, व्यवसाय, भूगोल र वर्गको अनेकतामा एकता एनआरएनको पहिचान हो ।

मातृभूमिको सेवा गर्ने पवित्र उद्देश्यले नेपालीको हकहितको आवाजलाई संस्थागत गर्दै बुलन्द पार्ने यो महान् अभियानमा संलग्न मेरा आदरणीय अग्रज गुरुहरुको कार्यशैलीबाट धेरै कुरा सिक्ने र पे्ररणा लिने सुनौलो अवसर प्राप्त भयो । त्यस्तै आफू पनि विभिन्न कोणबाट यस यात्रामा अनवरत खटिने मौका पाएकै छु । एनआरएनको यो ओरोह अवरोहमा धेरै कुरा सिक्न पाएं । ती भोगाइ र सुझावलाई एउटा मार्ग निर्देशक मान्दै, एनआरएनलाई सबै नेपालीको साझा र आत्मीय संस्था बनाउनका लागि अब नयां शिराबाट आगाडि बढ्नु पर्छ भन्ने मेरो निष्कर्ष हो । एनआरएनको उद्देश्यलाई प्राथमिकतामा राख्दै अब हुने एनआरएनए यूकेको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रतिवद्धता सार्वजनिक गर्न चाहन्छु । मेरो घोषणा पत्रको मर्म नै हरेक नेपालीबीच एकता हो । हामीमाझ विविधतामा एकता छ, जसलाई म एकताको संकेत भनेर सम्बोधन गर्न चाहन्छु ।

एकता
– आफ्नो विदेश यात्रा भनौं वा आफ्नो जीवनको थालनी भनेको गोर्खा पल्टनबाट भएको हो । त्यसैले मेरो जीवन गोर्खा आन्दोलन वा गोर्खासंगको मुद्दाबाट अलग हुनु भनेको मेरो जीवन नै नहुनु सरह ठान्दछु । तसर्थ, गोर्खाको जीत नै मेरो जीत हो । गोर्खाको समस्या समाधान नहुञ्जेल आफू गोखासंग सम्बन्धित कुनै पनि मुद्दामा सहकार्य गरी अगाडि बढ्न तयार छु ।

–नेपाल हाउस यूके निर्माण गर्ने कार्यलाई विशेष प्राथमिकता दिंदै लाप्राक वस्ती निर्माण र एनआरएन हाउस निर्माण अभियानमा विशेष सहयोग गर्नेछु ।

राष्ट्रियता
– ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने हाम्रो मूल भावना समेटिएको ‘गैरआवासीय नेपाली नागरिकता’ राजनीतिबाहेक सबै अधिकार पाउने नागरिकता हामीले संविधानबाट प्राप्त गर्न सफल भएका छौं । तर अहिलेको अवस्थामा प्राप्त उपलब्धि कार्यान्वयन गराउनु उत्तिकै चुनौतिपूर्ण छ । उपलब्धिको रक्षा गर्दै बांकी अधिकारका लागि एनआरएनले विशेष भूमिका खेल्नुपर्ने छ । यस अभियानलाई बिशेष रुपमा अगाडी बढाउने योजनाको थालनी गर्नेछु ।

मेरो कार्यकालमा यी कुरा हुनेछ–
– एनआरएनका सदस्यलाई कार्ड बनाइ विभिन्न पसल, रेस्टुरेन्ट तथा अन्य व्यवसायिक छुटका लागि गरिएको अभियानलाई प्राथमिकताको साथ अगाडि बढाउने छु ।
– एनआरएन कोषको व्यवस्था गरी पञ्जीकृत सदस्यलाई सम्भव भएसम्म आपतकालमा सहयोगको व्यवस्था गर्ने ।
– स्वास्थ्य, शिक्षा, ट्राफिक ब्यवस्थापन, कन्स्ट्रक्सन, फुड तथा अन्य थुप्रै विधाका ज्ञाताको सुझाव र सल्लाहअनुसार दूताबाससंग समन्वय गरी नेपालमा विशेष स्किल ट्रान्सफर कार्यक्रम सञ्चालनमा ल्याउने ।
– बेलायतमा रहेका बौद्धिकवर्गलाई एनआरएन यूकेप्रति आकर्षण गर्ने कार्यक्रम ल्याउने छु । उहांहरुको सुझाव सल्लाहले एनआरएनलाई अगाडि बढाउने वातावरण सिर्जना गर्नेछु ।

– बेलायतस्थित सबै संघ संस्थाहरुसंग समन्वय गरेर कार्य 
गर्ने ब्यवस्थाको रचनात्मक ढांचा तयार गरि सबै संस्थाको अपनत्व एनआरएनमा दिलाउने गरि संस्थाको विकास गर्न विशेष भूमिका खेल्ने छु ।
–बेलायतबासी नेपालीसंग एनआरएनए यूके भन्ने विशेष कार्यक्रमको थालनी गरि एनआरएनए यूकेमा धेरै भन्दा धेरै नेपालीहरुको सहभागिता गराई सबै नेपालीहरुमा मेरो एन आर एन हो भन्ने आत्मीयताको बिकास गर्न विशेष भूमिका खेल्ने छु ।
– एनआरएनए यूकेको सम्पूर्ण गतिविधिलाई जनमानसमा पारदर्शी ढंगले बाहिर ल्याउने छु ।

– नेपाली बालबालिकाको आवश्यकता र रुचीलाई ध्यानमा राखी अभिभावकले आफ्नो बालबालिकाका लागि नेपाली भाषा कक्षा, संगीत र खेलकुदका कार्यक्रम चलाउंदै आउनु भएको छ । यसलाई अझ व्यवस्थित गर्नको लागि एनआरएनए यूकेले विशेष च्यारिटी कार्यक्रम तथा यूके सरकारको स्थानीय सरकारसंग समन्वय गरी आवश्यक रकमको व्यवस्था गर्नुको साथै, नेपाली साना बालबालिकालाई राष्ट्रिय गीतमा भनिएजस्तै एउटै फुलको मालामा गांस्ने प्रयत्न गर्नेछु ।

– युवा भनेको भनेको भोलिको हाम्रो भविष्य निर्धारक हुन् । हरेक युवाको प्रगति र विकाससंग हाम्रो समाज जोडिएको छ । मेरो कार्यकालमा अब नेपाली युवाहरुलाई लक्षित गरि विशेष प्रकारको युवा सशक्तिकरण तथा सिपमुलक अभियानको थालनी गरिनेछ । त्यस्ता अभियान भन्नाले युवाहरुलाई लक्षित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरि युवाहरुलाई माथिल्लो तहको काम तथा व्यापारमा प्रत्ष्क्ष फाइदा हुने खालको सरल र अर्थपूर्ण कार्यक्रम रहनेछ ।
– एनआरएन समूदायको नेपालमा लगानी भित्रयाउन तथा सुरक्षित लगानीको ग्यारेन्टी गर्न पहल गर्नेछु ।
– गैरआवासीय नेपाली संघको काठमाण्डौंस्थित एनआरएन भवन, लाप्राक, शंखमुल लगायतका परियोजनालाई मूर्तरुप दिन आवश्य पहल गर्ने छु ।
– भूतपूर्व गोर्खा लगायत गैरआवासीय नेपालीहरुको पूर्णअधिकार सहितको नागरिकताको निरन्तरताको लागि विशेष अभियान सञ्चालन गर्ने छु ।

जीवनी
नेपालको खोटाङ बासपानीका समाजसेवी मणिप्रसाद राईको साईंला छोराको रुपमा मेरो जन्म भएको हो । गाउंकै विद्यालयबाट वि.सं. २०४२ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएं । तत्कालीन परिवेश र परम्पराअनुसार वि.सं. २०४४ (सन् १९८७) सालमा म ब्रिटिश आर्मीमा भर्ना भएं । हङकङमा नै सैन्य तालिम सकें, १८ वर्षसम्म सैनिक सेवाका क्रममा मैले विभिन्न तालिमसंगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकसमेत प्राप्त गरें ।

ब्रिटिश आर्मीमा सेवारत रहंदा १० वर्ष पिटिआइका रुपमा काम गरें । त्यस अवधिमा अफगानिस्तानमा संयुक्तराष्ट्र संघीय 
अन्तर्राष्ट्रिय शान्ति सेनाको प्रशिक्षकका रुपमा सेवा गरें । संयुक्त राष्ट्रसंघीय पदक तथा फरक राष्ट्रका सुरक्षाकर्मीसंगको अनुभवलाई अन्य क्षेत्रमा समेत मैले सदुपयोग गरिरहेको छु । १८ वर्ष लामो सैनिक सेवामा रहंदा तेक्वान्दो मुख्य प्रशिक्षकका रुपमा समेत मैले धेरै समय बिताएं । प्रशस्त प्रशिक्षार्थी उत्पादन गरेर मैले जीवनमा अनुशासन र नेतृत्व विकासमा धेरै अध्ययन र अनुभव हासिल गरेको छु ।

अध्ययनलाई जीवनको अभिन्न अंग सम्झी हालै मैले Anglia Ruskin University बाट व्यवस्थापन विषयमा स्नातक उपाधि लिएको छु । यसैगरी सैनिक सेवालाई रोजीरोटीको रुपमा मात्रै होइन, एउटा अवसरको रुपमा लिंदै हङकङ, ब्रुनाई, बेलिज, सियरालियोन, कोसोभो, साइप्रस, जर्मनी, केन्या, अमेरिका, क्यानाडा, फोकल्याण्ड, मेसोडोनिया, इराक, अफगानिस्तान, स्पेन, फ्रान्स, अष्ट्रेलियालगायत दुई दर्जनभन्दा बढि राष्ट्रको भ्रमण गरिसकेको छु ।
जीवनमा धेरै आरोह–अवरोह भोग्दै अगाडी बढ्ने क्रममा मैले सैनिक सेवाबाट अवकाशपश्चात जीवनलाई चार क्षेत्रमा केन्द्रित गरेर अगाडि बढाइरहेको छु ।

१. व्यवसायिक जीवन
व्यवसायिक रुपमा प्राप्त गर्ने सफलता र आत्मविश्वासले मानिसले भावी कार्य दिशा तय गर्दछ । त्यसैलाई मध्यनजर राखेर मैले पनि विभिन्न पेशा व्यवसायमा हात हालें । सैनिक सेवाबाट अवकाशपश्चात बेलायतमै व्यवसाय सुरु गर्दा ब्रिटिशसंग प्रतिस्पर्धा गर्दै नाइट क्लब, बार, रेस्टुरेन्ट व्यवसाय हुंदै ‘इ एन्ड डब्लु’ कम्पनीको प्रवन्ध निर्देशकको रुपमा काम गरें । गोर्खा सेभिङ फाइनान्सको संस्थापक शेयर होल्डर हुं । त्यहींबाट मैले आर्थिक क्षेत्रमा व्यावसायिक जीवन अगाडी बढाएं । व्यक्तिगत प्रगतिसंगै जन्मभूमिप्रति पनि आफ्नो उत्तरदायित्व छ भन्ने कुरालाई महशुस गरेर नेपालमा कृषि, पशुपालन, हाउजिङ्गलगायतका क्षेत्रमा समेत लगानी गरेको छु ।

२. सामाजिक जीवन
समाजसेवी बुवाको पथलाई पछ्याउंदै सुरुदेखि नै म पनि सामाजिक क्षेत्रमा सक्रिय थिएं र अहिले पनि त्यत्तिकै सक्रिय छु । बेलायत तथा जन्मभूमि नेपालमा समेत सेवा पुरयाउने प्रयास जारी छ । स्थानीय ग्रेटर रसमोर कम्युनिटीको संस्थापक खेलकुद प्रबन्धकको रुपमा मेरो संलग्नता थियो । अहिले समाजसेवाको आयामलाई अझ व्यापक बनाउन लागिरहेको छु ।
किरांत राई यायोक्खा बेलायतको संस्थापक सदस्य, खोटाङ समाज यूके, मिशन टु हेल्प नेपाललगायतका संस्थामा सक्रिय रहंदा नेपालमा भूकम्प गएका बेला तत्कालै बेलायतमा नेपाल भूकम्प आपतकालीन अभियानको संयोजक भइ सहयोग रकम तथा सामाग्री संकलन गर्दै नेपाल पठाउने काम गरें ।

झन्डै दश हजार केजी सहयोग सामाग्री कार्गोमार्फत नेपाल पठाउनुका साथै स्थलगत रुपमै रोजिहिरा फाउन्डेशनकी सचिव श्रीमती रोजिना प्रधान राईसमेतको संलग्नतामा सिन्धुपाल्चोकको दुर्गम भेग इचोक क्षेत्रमा पुगी सामाग्रीहरु वितरण गरें । चेञ्ज फर हेल्थ नेपालसंग मिलेर संयुक्त रुपमा स्वास्थ्य सेवा शिविर सञ्चालन, राहत वितरण, एनआरएनए यूके, रोजिहिरा फाउन्डेशन, नेपाल भूकम्प आपतकालीन अभियान यूकेमा रहेर नेतृत्व गरेको क्षण सम्झदा आफूलाई गौरव लाग्छ ।

बुवा मणिप्रसाद राईले बासपानी माध्यामिक विद्यालयलाई निःशुल्क प्रदान गर्नुभएको जग्गामा हाल स्कुल सञ्चालन भएको छ । सर्वसाधारणलाई शिक्षाप्रति अझ आकर्षित गर्न रोजिहिरा फाउन्डेशन स्थापना गरी गरिब असहायहरुको लागि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छु । बालबालिकालाई आवश्यक सहयोग, मुस्कान समाज सेवामार्फत बाढीपीडितलाई सहयोग रकम उपलब्ध गराएको छु ।

‘मिशन टु हेल्प नेपाल’ तथा नर्भिक अस्पतालसंग सहकार्य गरी खोटाङको बाक्सिला क्षेत्रका विभिन्न १५ गाबिसका जनताका स्वास्थ्य जांच एवं उपचारका लागि बृहत स्वास्थ्य शिविरको सञ्चालन कार्यको संयोजन समेत गरेको थिएं । नेपालमा भएको बागमती सरसफाई अभियानमा पनि स्थलगत रुपमै सक्रिय सहभागी भएं ।

नेपाल र ब्रिटेनबीच भएको मैत्रीपूर्ण क्रिकेट खेलको भब्य रुपमा सफल पर्न एनआरएनको तर्फबाट संयोजकको भूमिका निभाएं । खोटाङ सेवा समाज यूकेको पहल र मेरो संलग्नतामा जिल्लामा ७ वटा एम्बुलेन्स पुरयाउन सफल भएका छौं ।

३. गोर्खा अभियान
गोर्खा हुनु आफैंमा गौरवानुभूति छ नै, साथै आफैं गोर्खा हुनुको नाताले पनि गोर्खाको हकहितका लागि सक्रिय रहनु मेरो जिम्मेवारी हो । तसर्थ सन् १९९४ देखि १९९८ सम्म तत्कालीन गेसो अभियानमा सक्रिय भइ गोर्खाको हकहितको लागि लागि रहें । तत्पश्चात सन् २००२ देखि बिजीडब्लुएसको संस्थापक सदस्यको रुपमा सुरुदेखि नै सक्रिय छु । अहिले बेलायतमा गोर्खाको हकहितको लागि भएको सत्याग्रह अभियानमा समेत सक्रिय सहभागिता जनाइरहेकै छु ।

४. एनआरएन अभियान
एनआरएनको स्थापनाकालदेखि सदस्य छु । त्यही बेलादेखि एनआरएन अभियानमा सक्रिय सहभागी बन्दै वर्तमान एनआरएन यूके कार्यसमितिको उपसभापति छु । गोर्खाको जायज मागमा एनआरएनलाई सहभागी गराउने कुरामा मेरो सदैब सक्रिय भूमिका रहयो भन्ने ठान्छु । एकपटकको नेपाली सधैंको नेपाली भन्ने मूल नारालाई आत्मा साथ गर्दै नागरिकताको मुद्दालाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो विशेष भूमिका रहनेछ

धन्यबाद
हिराधन राई, अध्यक्षको प्रत्यासी, एनआरएनए यूके

तस्विरः शिव भण्डारी

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री