लन्डन । बेलायतस्थित नेपाली डाक्टरहरूले लन्डनको उलविचस्थित टाउनहलमा निःशुल्क स्वास्थ्य परिक्षण गरेका छन् । कार्यक्रम संयोजक युवा चिकित्सक सुदर्शन गुरुङका अनुसार स्वास्थ्य शिविरमा २० जनाजति नेपाली चिकित्सक र नर्सहरूको सहभागिता थियो । शिविरमा वरिष्ठ चिकित्सक चुडा कार्की (डिप्रेशन सम्बन्धि), डा. कपिल रिजाल (दाँत रोग विशेषज्ञ), डा. सुमिन्द्र पुन (क्यान्सर र चुजवेल), डा. मोहम्मद तमिन (क्षयरोग), फार्मासिस्ट सम्बन्धि उषा किरण, मुत्रथैली विकार सम्बन्धि वरिष्ठ नर्स सुशीला कार्की तथा होसपीस र दीर्घरोगीहरूका लागि ग्रीनविच बरो हसपिसका चिफ एक्जेक्युटिभ क्याट हिप्सले कार्यपत्र प्रस्तुत गरेका थिए ।
स्वास्थ्य शिविरमा दुई दर्जनभन्दा बढि डाक्टर तथा नर्सहरूले लगभग तीनसयजनाको स्वास्थ्य परिक्षण तथा स्वास्थ्यबारे सल्लाह सुझाव दिएका थिए । चिकित्सकहरूले स्वास्थ्य परिक्षण पश्चात बिरामीलाई स्थानीय जीपी तथा विशिष्ट उपचारका लागि सोझै सम्बन्धित निकायमा प्रिस्क्रिप्शन लेखेर दिइएको थियो । यो कार्यक्रम एकदमै लाभदायक सिद्ध भएको सहभागीहरूले बताए ।
कार्यक्रम दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डन, नेपलिज युथ एसोसिएसन (एनवाइए) ग्रीनविच र नेपाली भ्वाइस यूकेले संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यक्रमलाई नेपलिज डाक्टर्स एसोसिएसन यूके र नेपलिज नर्सिङ एसोसिएसन यूकेको सहयोग थियो । शिविरमा विशेष गरेर नेपाली वृद्ध-वृद्धाहरूलाई लक्षित कार्यक्रम गरिएको थियो । कार्यक्रममा आँखा, दाँत, मधुमेह, उच्च रक्तचाप (मुटुरोग) तथा विभिन्न रोगका विशेषज्ञहरूले रोगीहरूलाई परीक्षण तथा सल्लाह दिएका थिए । कार्यक्रम दुई भागमा सञ्चालन भएको थियो । औपचारिक कार्यक्रम र त्यसपछि दोश्रो चरणमा स्वास्थ्य परिक्षण सञ्चालन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी थिए भने विशेष अतिथिमा ग्रीनविच बरोका पूर्व मेयर ज्यानेट गिलम्यान थिइन् । विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गरेका अतिथिहरू पनि कार्यक्रममा थिए । कार्यक्रमलाई एनवाइएका युवा उपाध्यक्ष लछुमन गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा साउथ इस्ट रिजनल तमुधिं लण्डनका अध्यक्ष श्रीचन्द्र गुरुङ, विशेष अतिथि तथा प्रमुख अतिथिले मन्तव्य दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिको हातबाट स्पोन्सरहरू तथा प्रत्यक्ष रुपमा सहयोग गरेका चिकित्सक, नर्स तथा स्वयंसेवकहरूलाई प्रमाण पत्र दिइएको थियो ।
कार्यक्रममा नेपाली भ्वाइसका संयोजक फत्त थापाले नेपाली भ्वाइस, यसको औचित्य र उद्देश्यबारे परिचय दिएका थिए भने यस संस्थाका स्टियरिंग कमिटीमा फत्त थापा, सोनिया थापा, डा. सुदर्शन र लछुमन गुरुङ रहेको अवगत गराएका थिए । स्टियरिंग कमिटीमा पछि केही सदस्य समावेश गरिने जानकारीसमेत थापाले दिए । उक्त अवसरमा महामहिम राजदूतले नेपाली भ्वाइस संस्थाको उद्घाटन गरे ।
औपचारिक कार्यक्रम समापनपछि प्रमुख अतिथि राजदूतको स्वास्थ्य परिक्षणबाट परिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । यस अघि कार्यक्रम संयोजक डा. सुदर्शन गुरुङले परोक्ष तथा प्रत्यक्ष रुपमा सहयोग गरेका साथै सहभागी सबैलाई धन्यवाद दिएर पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।
यसरी एकै पटक एकै थलोमा विभिन्न रोगका नेपाली विशेषज्ञहरूद्वारा नेपालीलाई चिकित्सा शिविरको माध्यमबाट परिक्षण गरिएको सम्भवतः बेलायतमा यो पहिलो पटक हो । डा. सुदर्शन गुरुङका अनुसार प्रत्येक वर्ष यस्ता उपलब्धिमूलक कार्यक्रम गर्ने योजना छ ।
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर