पत्रकारको च्यारिटीमा ३३ हजार पाउण्ड संकलन, दिने नदिनेको नाम छिट्टै बाहिर


लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले गत मे २१ मा आयोजना गरेको च्यारिटी साँझ नेपलिज प्रेस नाइटबाट ३३ हजार पाउण्ड संकलन गरेको छ । शाखाको शनिबार सम्पन्न बैठकमा सो जानकारी दिइएको हो । अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षता र महासचिव लीलामान शेरपुञ्जाको संचालनमा भएको सो बैठकमा च्यारिटीको आम्दानी ३२ हजार ७४९ पाउण्ड ९९ पेन्स र खर्च ९ हजार ५ पाउण्ड ३३ पेन्स रहेको बताइयो । च्यारिटीमा कबुल गरिएकामध्ये केही रकम उठ्न बाँकी रहेकोमा सो रकम जुलाई १५ भित्रमा उठाइसक्ने र त्यसपछि दाताको नाम र सहयोग रकम संचारमाध्यममार्फत सार्वजनिक गर्ने निर्णय गरिएको छ ।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने संघसंस्था, व्यक्ति, व्यक्तित्व, प्रायोजकहरु सबैलाई धन्यवाद दिँदै बैठकले संस्थालाई च्यारिटी कमिसनमा दर्ता गर्ने निर्णय गरेको छ । सो प्रयोजनका लागि अध्यक्ष नरेश खपाङ्गीमगरलाई जिम्मा दिइएको छ भने लेखापरीक्षकमा जीएनएस एसोसिएटसका एलएन घिमिरेलाई नियुक्त गरिएको छ । च्यारिटी कोष संचालनका लागि सूर्य गुरुङको संयोजकत्व र शाखाका अध्यक्ष सदस्यसचिव रहनेगरी एक संचालक समिति गठन गर्ने र सो समितिमा डा. राघवप्रसाद धिताल र सल्लाहकार भगिरथ योगीलाई नियुक्त गरिएको छ । यस्तै, च्यारिटीबाट कस्ता कस्ता अवस्थामा सहयोग गर्ने भन्ने बारेमा मस्यौदा बनाउन सल्लाहकार भगिरथ योगीलाई जिम्मा दिइएको छ ।

शाखाले आफ्ना सदस्यहरुको क्रियाशीलताको अभिलेख राख्न कार्यसम्पादनको आन्तरिक लेखापरीक्षण गर्ने भएको छ । सोको लागि वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलको संयोजकत्वमा उपाध्यक्ष ध्रुव अर्याल, महासचिव लीलामान शेरपुञ्जा, सचिव शिव भण्डारी र कोषाध्यक्ष पूर्ण गुरुङ रहेको एक समिति गठन गर्ने निर्णय शाखाले गरेको छ ।

यस्तै, शाखाले एनआरएनए युकेसित मिलेर स्थापना गरेको एनआरएन पत्रकारिता कोषको संचालनमा अपनत्वको अभाव खड्किएको निस्कर्ष निकाल्दै सोको प्रभावकारी व्यवस्थापन र कार्यान्वयनका लागि एनआरएन युकेसित छलफल गर्ने निर्णय पनि गरेको छ ।
शाखाले आगामी दिनमा युकेका अग्रज नेपाली पत्रकारहरुको सम्मान कार्यक्रम गर्न उपाध्यक्ष संयोजक ध्रुव अर्याललाई तोकेको छ भने नेपाली पत्रकारको युरोपस्तरीय भेलाको सम्भाव्यता अध्ययनका लागि अध्यक्ष नरेश खपाङ्गीमगरलाई संयोजक तोकेको छ ।

यस्तै, बेलायती संसदको भ्रमणमा युकेका नेपाली पत्रकारलाई लैजानका लागि सल्लाहकार नवीन पोखरेललाई संयोजक तोकेको छ । बैठकले शाखाका सदस्य सुजन पराजुलीका पिता शालिग्राम पराजुलीको असामयिक निधन भएकोमा स्वर्गीय पराजुलीप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै एक शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री