संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सकेन

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको संबैधानिक परिषद्को बैठकमा सहभागी हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायत । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ५ असार । प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सो विषयमा अध्ययन गर्न समय माग गरेपछि बैठकमा कुनै निर्णय हुन सकेन ।

प्रतिपक्षी दलका नेताले अध्ययन गर्न समय मागेपछि बैठकमा कुनै निर्णय नभएको बताउँदै उपसभामुख गङ्गाप्रसाद यादवले अर्काे बैठक यही असार १५ गते बस्ने जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश सुशीला कार्कीले यही जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि प्रधानन्यायाधीशको पद रिक्त छ । हाल वरिष्ठताका आधारमा न्यायाधीश गोपाल पराजुली कायममुकायम प्रधानन्यायाधीश हुनुहुन्छ ।

नेपालको संविधानको धारा २८४ मा प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । जसमा प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने प्रावधान छ ।

प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषद्मा कानुन तथा न्यायमन्त्री सदस्यका रूपमा रहने व्यवस्था छ ।

गत जेठ ३० गतेको न्यायपरिषद् बैठकले भावी प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि छजनाको नाम सिफारिस गरेको थियो । परिषद्ले कामु प्रधानन्यायाधीश पराजुली, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरी संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता ओली, सभामुख ओनसरी घर्ती, उपसभामुख यादव, उपप्रधानमन्त्री एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोपालमान श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री