शिव परियार अन्धकार रातमा देखिने जुनकिरी र जुन – राजदूत

शिव परियार

लन्डन । नेपाली संगीतका लोकप्रिय गायक शिव परियार तेश्रो बेलायत भ्रमणका क्रममा यतिखेर लन्डनमा छन् । आइतबार २३ अप्रिल सांझ उनी ‘एक्सप्रेस एनटिभी म्यूजिकल नाइट’ मा हयारोस्थित क्लब केटिएममा प्रस्तुत भए । एक्सप्रेस स्टुडियोले आयोजना गरेको उक्त कार्यक्रम परियारको पहिलो थियो लन्डनवासीका लागि ।

प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी अर्को कार्यक्रम भ्याउन अलिक चटारोमा थिए । राजदूतकै आग्रहमा उनले पहिलो राउण्डमै कर्णप्रिय चार गीत- संगी, अलिकति नजर, कहां थियौ, नभेटी नभेटी… गाएर सहभागीको मन जितिहाले । अन्तिमसम्म अरु हिट आइटम क्या दामी भो, पिलायो साथीले, पागल बनायौ जस्ता दर्जन बढि गीत गाए उनले ।

 

कार्यक्रममा राजदूत सुवेदीले शिव परियार स्थापित, लोकप्रिय, 
आफ्नै संघर्ष, संकल्प र प्रतिभाले अग्लो र सग्लो सांगीतिक तारा भएको प्रशंसा गरे । सुगम संगीतमा पुस्तान्तरण प्रसंग उठाउंदै राजदूत सुवेदीले शिव परियार अन्धकार रातमा देखिने जुनकिरी र जुन जस्तो प्रतिभा भएको पनि बताए । आफू नयां पुस्ताले नेपाली कला, संस्कृति, संस्कार, भाषा, भेषभुषा, साहित्य नबिर्सिउन् भन्नेमा लागिरहेको बताउंदै राजदूतले नेपाली समाज समृद्ध, सुशिक्षित, सुविचारित र सुसंस्कृत अनि एकता, सहिष्णुता, समृद्धि, समझदारी र भातृत्व अभिवृद्धिमा आफ्नो प्राथमिकता रहेको समेत बताए ।

प्रसुना कंडेल र बीरेन्द्र श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा एक्सप्रेस स्टुडियोका तर्फबाट दिनेश परियार, बीरेन्द्र श्रेष्ठ र जगन कार्की तथा पत्रकार चिरन शर्माले आफ्ना उत्पादन ‘इभेन्टस एण्ड मोर’ र ‘रियाक्सन वीथ चिरन शर्मा’ शुरु भएको ६ महिना पुगेको जनाउंदै कार्यक्रम अझ गुणस्तरिय बनाउन टिम समर्पित रहेको बताए । उनीहरुले एक्सप्रेस स्टुडियोले फोटोग्राफी, भिडियोग्राफी, गीतार प्रशिक्षण र इभेन्ट म्यानेजमेन्ट गर्ने जानकारी पनि दिए ।

उक्त कार्यक्रममा साउथ हयारोस्थित एक्सप्रेस स्टुडियोको औपचारिक उद्घाटन समेत गरियो । कार्यक्रममा ‘नाम्लो’ ब्याण्डको प्रस्तुति पनि आकर्षक रहयो भने गायिका शर्मिला बर्देवाकी छोरी आंशिका परियारले समेत गाएकी थिइन् ।

तस्विरः नरेन्द्र बस्नेत

प्रतिक्रिया

सम्बन्धित सामाग्री