राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री मोदीको भेट

राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रपति भवन परिसरमा प्रदान गरिएको ‘गार्ड अफ अनर’ पछि भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा पत्रकारसँग संक्षीप्त प्रतिक्रिया दिनुहुँदै । तस्बिर ः भरत केसी, नयाँदिल्ली, रासस

नयाँ दिल्ली (भारत), ५ वैशाख । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रपति भवनमा आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीसँग आजै भारतीय वित्तीयमन्त्री अरुण जेट्लीले पनि भेटवार्ता गर्नुभएको छ । अहिले राष्ट्रपति भण्डारीसँग त्यहाँका उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले पनि भेटघाट गर्दै हुनुहुन्छ ।

नेपाल निर्वाचनमार्फत संविधान कार्यान्वयनमा लागिपरेको छ- राष्ट्रपति भण्डारी

नयाँदिल्ली ( भारत), ५ वैशाख । मित्र राष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति भवनमा भारतका विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले अलग अलग भेट गर्नुभएको छ ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले नेपाल भारतबीच सांस्कृतिक, धार्मिक तथा समाजिक सम्बन्ध रहेको बताउँदै आफ्नो भ्रमणले दुइ देशबीचको मित्रताको अझै प्रगाढ भई उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा ठूलो राजनीतिक परिवर्तनपछि बनेको समावेशी संविधानले महिला र पिछडिएका समुदायको अधिकार स्थापित भएको बताउनुभयो । राष्ट्रपतिले यसलाई व्यवहारमा परिणत गर्न सरकार निर्वाचनमार्फत संविधानको कार्यान्वयनमा लागिपरेको बताउनुभएको परराष्ट्रमन्त्री मन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

दुवै मन्त्रीले नेपाल भारतबीच आपसी विश्वास र सद्भावको विकास बढेर गएको बताउँदै नेपालको हित र विकासमा भारत सरकार सदैव साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । गृहमन्त्री सिंहले संविधान र निर्वाचनका बारेमा समेत जिज्ञासा राख्नुभएको थियो । सो विषयमा भेटमा सहभागी परराष्ट्रमन्त्री डा महतले नेपालको संवैधानिक व्यवस्थानुसार नै एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले सरकार सबैको भावना समेटेर निर्वाचन गर्ने प्रयासमा रहेको बताउनुभएको थियो ।

भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग मङ्गलबार राष्ट्रपति भवनमा भेटघाट गर्नुहुँदै भारतका विदेशमन्त्री शुष्मा स्वराज । तस्बिर ः भरत केसी, नयाँदिल्ली, रासस

विदेशमन्त्री स्वराजले नेपालको पुनःनिर्माण तथा समग्र विकासका परियोजना चाँडोभन्दा चाँडो पूरा होस् भन्ने भारतीय प्रधानमन्त्रीकोे समेत चाहना रहेको राष्ट्रपतिसमक्ष जानकारी गराउनुभएको डा महतले बताउनुभयो । मन्त्री स्वराजले नेपालमा भारतीय सहयोगमा बन्दै गरेका विकास परियोजनाका बारेमा एक एक महिनामा सम्बन्धित अधिकारीबाट जानकारी लिने गरिएको र त्यसबारे प्रधानमन्त्रीलाई तीन तीन महिनामा आफूले जानकारी गराउने गरेको अवगत गराएको परराष्ट्रमन्त्री डा महतले बताउनुभयो । मन्त्री डा महतले परियोजनाबारे नेपाल सरकारको पनि तदारुकता रहेको उल्लेख गर्दै द्विपक्षीय संयन्त्रले काम र त्यसबारेको प्रगति विवरण दिइरहेको बताउनुभयो ।

सो अवसरमा शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, राष्ट्रपति कार्यालयका परराष्ट्रविज्ञ डा मदनकुमार भट्टराई, राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायतको सहभागिता थियो ।

यसअघि आजै राष्ट्रपति भण्डारीलाई भारतीय सेनाले राजकीय सम्मानस्वरुप राष्ट्रपति कार्यालय परिसरमा गार्ड अफ अनर प्रदान गरेको थियो । उक्त अवसरमा राष्ट्रपति भण्डारीका समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय उच्च अधिकारीको सहभागिता थियो । त्यसलगत्तै राष्ट्रपति भण्डारी राजघाट पुगेर त्यहाँस्थित महात्मा गान्धीको समाधिमा पुष्पमाला अर्पण गरेर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । उहाँले आजै बजिरावादस्थित यमुना जैविक विविधता संरक्षण उद्यानको अवलोकन गर्दै राष्ट्रपतिले महुवाको बिरुवासमेत रोप्नु भएको थियो ।

नेपालमा लगानीका लागि आग्रह

राष्ट्रपति भण्डारीले पछिल्लो वर्षमा नेपालले राजनीतिक तथा सामाजिक परिवर्तन सम्पन्न गरेकाले अब नेपालको लक्ष्य आर्थिक रुपान्तरणतर्फ केन्द्रित रहेको बताउनुभएको छ ।

भारत उद्योग परिसङ्घले नयाँ दिल्लीमा आज आयोजना गरेको नेपाल र भारतका उद्योगी– व्यापारीबीचको अन्तत्र्रिmयामा राष्ट्रपति भण्डारीले जतिसुकै स्रोतसाधन सम्पन्न भए पनि आजको विश्वमा कुनै पनि मुलुकले एक्लै आर्थिक उन्नति हासिल गर्न नसक्ने बताउँदै निजी र सरकारी क्षेत्रको संयुक्त लगानीका साथै देश देशबीचको सम्बन्धले मात्र समुन्नत विश्वको सम्भावना हुने विचार व्यक्त गर्नुभयो । “नेपालमा लगानीका लागि प्रशस्त नयाँ क्षेत्र र सम्भावना छ, नेपालमा उत्पादन, सेवा र औद्योगिक क्षेत्रमा लगानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

नेपालले हालै गरेका दुई अन्तर्राष्ट्रिय लगानी सम्मेलनले नेपालमा लगानी भित्र्याउने र आर्थिक उन्नति हासिल गर्ने लक्ष्यलाई स्पष्ट दिशानिर्देश गरेको बताउँदै उहाँले नेपाललाई समृद्ध राष्ट्र बनाउने अभियानमा सघाउन भारतीय उद्योगी र लगानीकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले एक वर्षभित्र तीन तहको निर्वाचन गरेर संविधानको कार्यान्वयनसँगै समावेशितालाई सुनिश्चित गरी नेपालले वर्षौंदेखि चाहेको विकासको लक्ष्य प्राप्त गर्ने उद्देश्यमा सरकार लागेको बताउनुभयो । भारत विश्वमा एउटा उदीयमान अर्थतन्त्रका रुपमा आइरहेकाले नेपालले त्यसबाट फाइदा लिने सम्भावनाबारे गम्भीर भएर छलफल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  “नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ, नेपालसँग जलविद्युत्, पर्यटनलगायत क्षेत्रमा अपार सम्भावना रहेकाले त्यसलाई उपयोग गरी फाइदा लिन सहकार्यका लागि आग्रह गर्दछु” उहाँले भन्नुभयो ।

कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री विके सिंहले नेपाल र भारतबीच विशेष र महत्वपूर्ण सम्बन्ध रहेकाले दुवै देशले एकार्काबाट फाइदा लिनुपर्ने धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, भारत उद्योग परिसङ्घका अध्यक्ष आदर्श शर्मालगायतले यातायात सञ्जालको विस्तारसँगै सीमापार व्यापार, भन्सार सुविधालगायत विषयमा समझदारीसहित अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योगी व्यवसायीले दुई देशबीचको खुला सिमानालाई अवरोधका रुपमा भन्दा पनि त्यसबाट फाइदा लिन सक्नुपर्ने बताउँदै भारत एउटा उदीयमान अर्थतन्त्र मात्र नभई नेपालको समेत एउटा महत्वपूर्ण विकास साझेदार भएको बताउनुभयो । कार्यक्रममा नेपाल र भारतका उद्योगी–व्यापारीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री