लन्डनमा नयां वर्षमा नेपाली मन्दिर बनाउने संकल्प

लन्डन । लन्डनमा भव्य पूजा र धार्मिक कार्यक्रम गरी नेपाली नयां वर्ष मनाइएको छ । बेलायतस्थित नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा छिटै नेपाली मन्दिर स्थापना गर्ने 
उदघोष समेत गरियो । लन्डन साउथहलस्थित विश्व हिन्दू मन्दिरमा बेलायतमा कार्यरत सम्पूर्ण नेपाली पण्डितको सहभागितामा आयोजित विश्वशान्ति सत्यनारायण पूजामा बेलायतका लागि नेपाली राजदूत  डा. दुर्गाबहादुर सुवेदी सपरिवार उपस्थित थिए ।

कार्यक्रममा राजदूतले नेपाली जहां भएपनि आफ्नो धर्म संस्कृति, भाषा भेषभुषाको संरक्षण र संवर्धनमा लागिरहनु अति सुन्दर कार्य भएको र त्यस्ता शुभकर्ममा दूतावास सदैव सहभागी र सहयोगी रहने बताए । उनले नेपाली नयां वर्षको मंगलमय अवसरमा बेलायत, 
आयरल्याण्ड र माल्टामा रहेका सबै नेपालीको सुस्वास्थ्य र प्रगतिको कामना व्यक्त गर्दै नव वर्षको पहिलो दिन अति पवित्र पूजामा सामेल हुन पाएकोमा आफू हर्षित भएको बताए ।

उक्त पूजामा बेलायतका समाजसेवी महन्त श्रेष्ठ, कुल आचार्य, ध्रुव केसी, रविजंग लामिछाने एवं रुपक केसी यजमानका रूपमा सहभागी थिए । निरन्तर बढ्दै गएको नेपाली समुदायको धार्मिक सांस्कृतिक आवश्यकता पूरा गर्न एक समारोह हल सहित नेपाली मन्दिर आवश्यक रहेको र त्यसको निम्ति उपयुक्त समय आएको सहभागीको निचोड थियो । ‘अहिले नगरे कहिले’ र ‘हामीले नगरे कसले’ भनेर सबैको गम्भीर सोच देखिन्थ्यो । नेपाली मन्दिर स्थापनाका निम्ति आफूहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको र तदनुरुप उपस्थित समाजका अगुवाबाट प्रतिवद्धता समेत व्यक्त भएको थियो ।

बेलायतमा चिरपरिचित पण्डित चिरन्जिवी ढकाल, पण्डित गोविन्द नेपाल, आचार्य दुर्गाप्रसाद पोख्रेल, पण्डित नारायण पौडेल ‘गाउंले’ एवं पण्डित शेखर ‘शाण्डिल्य’ काफ्लेको संयुक्त पूजन अर्चनबाट शुभारम्भ भएको समारोह भजन कीर्तन, कथा प्रवचन सहित १६ वर्ष मुनिका बालबालिकाबीच धार्मिक चित्रकला प्रतियोगिताका साथ सम्पन्न भएको थियो । पण्डित गोविन्द नेपालले सत्यनारायणको पूजा पश्चात कथा माहात्म्य बताए भने आचार्य दुर्गाप्रसाद पोख्रेलले नेपाली नयां वर्ष विक्रम सम्वतको शास्त्रीय, वैज्ञानिक र सांस्कृतिक महत्वबारे सारगर्भित रुपमा प्रकाश पारेका थिए ।

कार्यक्रममा समाजसेवी कृष्ण भट्ट, दधी आचार्य, होमनाथ पौडेल लगायतले स्वयंसेवीको भूमिका निभाएका थिए । समारोहमा मन्दिर एसोसिएसन युरोपका केन्द्रीय पदाधिकारी, साउथहल विश्व हिन्दू मन्दिरका मुल पूरोहित एवं ट्रष्टीहरू, समाजसेवी एवं बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, फोटो पत्रकार बीरेन्द्र श्रेष्ठ एवं अन्य सदस्यहरू, विश्व हिन्दू महासंघ बेलायत शाखाका पदाधिकारीहरु, नेपाली हिन्दू काउन्सिल यूकेका पदाधिकारी, पिटरबरो नेपाली समाजकी समाजसेवी श्रीमती मीना पौडेल एवं सदस्यहरु, 
रेडिङ नेपाली समाजका सदस्यहरु, हेज एण्ड हार्लिङटन नेपाली समाजका पदाधिकारी, एनबीसी यूकेका अध्यक्ष मिलन घिमिरे एवं पदाधिकारी, थकाली समाज बेलायतका अभियन्ता एवं व्यवसायी सुरज तुलाचन, क्याटरिङ एशोसिएसनका धर्मागत चापागाईं लगायत विभिन्न क्षेत्रबाट आएका नेपालीले समारोह कक्ष खचाखच भरिएको थियो । कार्यक्रमको अन्त्यमा सामूहिक आरतीपछि शाकाहारी सात्विक प्रीतिभोजको व्यवस्था गरिएको थियो ।

पूजाबाट स्वतस्फूर्त संकलित रकमलाई सीडमनिका रुपमा राखेर मन्दिर निर्माणको योजना अगाडि बढाइने आयोजक समितिका एक सदस्यले बताए । नेपाली समुदायका दानवीर उदार समाजसेवीहरूको उत्प्रेरणामा आउंदो शिवरात्रीको पूजा कार्यक्रम आफ्नै नेपाली मन्दिरमा गर्ने गरी योजना अघि बढेको पण्डित चिरञ्जिवी ढकालले बताए ।

बेलायतमा बसोबास गर्ने प्रायः सबै पण्डित पुरोहित गुरुहरु सहभागिता यस्तो कार्यक्रम पहिलो भएको र यसको ऐतिहासिक महत्व रहने सहभागी कतिपयको प्रतिक्रिया थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री