नयाँ वर्ष समारोहमा सबै पेशागत नेपालीलाई समेटने प्रतिबद्धता

लन्डन । सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स (एसएनपी) युकेले बेलायतमा कार्यरत सबै नेपाली पेशेवर तथा व्यवसायीहरुलाई समेटने प्रतिबद्धता व्यक्त गरेको छ।

नयाँ वर्ष २०७४ को अवसरमा दक्षिण पूर्वी लण्डनस्थित वेलिङमा शनिबार आयोजित एक भव्य समारोहमा त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर क्षेत्रीले जिन्दगीका दुखसुख, आरोह अवरोहहरु सबै एकै ठाउँमा बाँडन यस्ता उत्सवहरुको आफ्नै महत्व रहेको बताउँदै नेपाल र नेपालीको सामाजिक तथा आर्थिक विकासमा योगदान पुराउन ‘सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युके’ जस्ता संस्थाहरुले अगुवाइ गर्नुपर्ने बताउनुभयो। उहाँले डा. बच्चुकैलाश कैनीले लेख्‍नुभएको एक कवितामा छोराले आफ्ना बुवालाई हामी बेलायती हौं कि नेपाली? भनी प्रश्न गरेको स्मरण गर्दै अब त्यस्ता प्रश्नहरुको साथै हाम्रो पोशाक, हाम्रा चाडपर्व आदिबारे हाम्रा छोराछोरीले सोध्ने प्रश्नहरुको जवाफ तयार पारेर राख्‍नुपर्ने सुझाव पनि दिनुभयो।

सो अवसरमा राजदूत सुवेदीले सोसाइटीको पहिलो मुखपत्रको अनावरण गर्नुकासाथै साहित्यकार धर्म सापकोटा राजुद्वारा लिखित कथा संग्रह ‘बहिर्गमन’ को विमोचन पनि गर्नुभएको थियो। सो अवसरमा बोल्दै सापकोटाले उक्त पुस्तकको बिक्रीबाट प्राप्त रोयल्टी धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्ने घोषणा गर्नुभएको थियो । सापकोटाले लेखकले भन्दा पनि पाठकले बुझ्ने गरी सरल, सामाजिक र सन्देशमुलक कथाहरु लेख्ने गरेको बताउनुभयो । यसअघि उक्त कृति काठमाण्डौं र चितवनमा विमोचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष डा. तेजेन्द्र फेरालीले बेलायतमा हुर्कीरहेको नेपाली नयाँ पुस्ताको भविष्य र नेपालसँगको सम्बन्ध तथा अहिलेको पुस्ताको  वृद्धावस्थाको जीवनशैली बारे समाजले बहस चलाउन लागेको बताउनुभयो।  राज्यका औपचारिक संयन्त्रहरुमार्फत नेपालका विभिन्न पेशागत क्षेत्रहरुमा बेलायतका पेशागत नेपालीहरुको औपचारिक संलग्नता बढाउन पनि उहाँले जोड दिनुभयो।

नेपाली साँस्कृतिक पहिचानलाई जोगाउदै बेलायती समाजको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सफलता हासिल गर्दै लैजानेतर्फ अहिलेदेखि नै सोंच्न सोसाइटीका सदस्यहरु तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुलाई फेरालीले आह्वान गर्नुभयो। उहाँले बेलायतमा विभिन्न क्षेत्रमा कार्यरत नेपाली पेशेवरहरुलाई समेटेर विधागतरुपमा  “नलेज बैङ्क” स्थापना गर्नसके त्यसबाट नेपालको विकासमा योगदान पुग्ने धारणा पनि राख्‍नुभयो।

समाजका सल्लाहकार तथा पूर्व अध्यक्ष नारायण भट्टराईले पहिले ‘हाइली स्कील्ड माइग्रेन्ट’ कार्यक्रममा बेलायत आएका नेपालीहरुमात्रै सदस्य रहेकोमा अहिले सबै पेशा र व्यवसायमा संलग्न नेपालीहरुकालागि सोसाइटीको ढोका खुल्ला रहेको बताउनुभयो।

अर्का सल्लाहकार भगीरथ योगीले बेलायतमा सिकेको सीप र अनुभव नेपालको विकासमा लगाउन सोसाइटीका सदस्यहरुलाई आग्रह गर्नुभयो।

कार्यक्रममा जीसीएसइ तथा ए लेभेल उत्तीर्ण गरेका सोसाइटीका सदस्यहरुका छोराछोरीहरुलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। त्यस्तै सोसाइटीद्वारा आयोजित देउसी भैलो लगायत विभिन्न कार्यक्रमहरुमा सघाउने सहयोगी तथा शुभेच्छुकहरुलाई पनि सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

सो अवसरमा राजदूत डा. सुवेदी तथा सोसाइटीका अध्यक्ष डा. फेरालीले संयुक्तरुपमा केक काटी सबैलाई नेपाली नयाँ वर्षको उपलक्ष्यमा सुस्वास्थ्य, सुख तथा समुन्नतिको शुभकामना दिनुभएको थियो। कार्यक्रममा महामहिम राजदूतकी धर्मपत्नी पूनम राज्यलक्ष्मी सुवेदी पनि सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको शुरुमा समाजका उपाध्यक्ष दीप गिरीले सोसाइटीलाई सबै नेपालीको साझा मन्च बनाउन आफुहरु लागिपरेको बताउँदै सबै अतिथि तथा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो।

समारोहको दोश्रो चरणमा सन्चालित सांस्कृतिक कार्यक्रममा विभिन्न कविहरुले आआफ्ना रचनाहरु पाठ गर्नुभएको थियो भने बालबालिकाहरुले रमाइला गीत र नृत्य प्रस्तुत गरेका थिए। पहिलो चरणको कार्यक्रमको सन्चालन गजेन्द्र कटुवाल तथा दोश्रो चरणको कार्यक्रमको सन्चालन सुश्री अस्मिता  पाण्डे तथा दीपक थापाले रोचक ढँगबाट गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा रात्रीभोजको आयोजना गरिएको थियो भने राफल चिठ्ठा पनि खोलिएको थियो। डिजे हेम बिष्टद्वारा संयोजित सामूहिक नृत्यमा सहभागीहरु रमाएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री