मंगलबार, जेठ ४ २०७८ | Tue, May 18, 2021
नेपालको समय: ००:५२ | UK Time: 20:07

नेपथ्यको गृह मैदानमा खुशीको आँसु

वीनेपाली
२०७३ चैत २७ गते ११:०५

पोखरा, चैत २७ । अमृत गुरुङले ‘ए साइँला’ र ‘ए साइँली’ भनेर भाका हाल्नेबित्तिकै जताततै तन्नेरीहरु उफ्रिन थालिसकेका थिए । यो भाकालगत्तै गाउनलागेको गीत सधैजस्तै ‘चरि म¥यो शिशैको गोलीले’ हो भन्नेमा पोखरेली युवाहरु ढुक्क थिए ।
तर, शनिबार बेलुकी यहाँस्थित रंगशालामा कुरा बेग्लै भइदियो । लगातार दुइ घन्टासम्मको प्रस्तुतीमा त्यो गीत गाइएन। भाका सुन्नेबित्तिकै नाच्नका निम्ति खुट्टा उचालेका तन्नेरीहरु आश्चर्यमा परे ।

तर, यसरी भाकाले झुक्किएका भए पनि जुन गीत सुनाइयो त्यसले पोखरेलीहरुको स्थानीयता अझ भक्कानिएर आयो–

‘मर्दी खोला घुम्दै आएँ है
साइँलीमाइली मेलैमा’

प्रायः नेपथ्यको कन्सर्टमा नसुनिने यो दुई दसक पुरानो गीत पोखराको प्रस्तुतीलाई बेजोड बनाउनै साँचेर राखेको साबित भइदियो ।
एक हुल युवतीहरुको साथमा छमछमी नाचिरहेका थिए बाँझपाटनका राजकुमार गुरुङ र उनका सोल्टी सन्तु गुरुङ । लगत्तैको गीतमा भने सन्तुले आफुलाई थाम्न सकेनन् । किनभने उताबाट बज्नथालेको अर्को गीत पोखरेलीहरुलाई अझ उफार्ने थियो, ‘जोमसोमे बजारमा, ए हजुर… घर हाम्रो पोखरा…’

सुन्नुमात्र बाके थियो सन्तुले नाच्दैगरेका राजकुमारलाई अलिक वर ताने, ‘ए सोल्टी, अलिक काँध देउ त । चढ्नु प¥यो।’
प्लस टुका विद्यार्थी राजकुमारले सहर्ष काँध दिए जसमा सन्तु बुरुक्क उफ्रेर चढे । गीतको अवधिभरि काँधमा बोक्ने राजकुमार र बोकिने सन्तुको सोल्टी जोडीले उनीहरुसँगै आएका युवतीहरुलाई पनि उत्तिकै रोमाञ्चक बनाएको थियो ।
‘लास्ट मजा आयो,’ काँधबाट ओर्लदैगर्दा भनिरहेका थिए, ‘नेपथ्य भनेको त हाम्रो पोखराको गौरव पो हो ।’

झण्डै चार वर्षको अन्तरालपछि आफ्नो गृह मैदानलाई फेरि तताउन आइपुगेको नेपथ्यले सुरुवातै पोखरेली अग्रज सरुभक्तले लेखेको र विक्रम गुरुङले संगीत भरेको आफ्नो ताजा रेकर्ड ‘कुरुप अनुहार हो, यहाँ कुनै साथी छैन’ बाट गरेको थियो ।

केहि दिनसम्म लगातार असिना र झरि बेहोरेको नेपालकै सर्वाधिक वर्षाहुने सहरले शनिवार मात्र टलक्क घाम देखेको थियो । यो वर्षको गर्मी अनुभूति सुरुगरेकै बेलुकी नेपथ्यको दोश्रो गीतमा चाहिँ रंगशालामा कृतिम हिउँको वर्षा गराइएको थियो । किनभने दोश्रो गीत थियो ‘भेँडाको ऊनजस्तो’। कन्सर्टभरि स्थानीयमा हर्ष र उत्साह उर्लिएको देखिन्थ्यो । बल्लतल्ल पाइएको सफा आकाशमा झण्डै पूर्ण आकारको जुन उक्लँदै थियो । तल भने चौरमा हजारौंको संख्यामा अनेकथरि दर्शकको भीँड देखिन्थ्यो ।


त्यसैमध्येका एकजनाले आफ्नो आकारभन्दा पनि धेरै ठूलो राष्ट्रिय झण्डा लगातार फहराउँदै नाचिरहेका थिए । उनी पोखराको १३ नम्वर वडाका दिपक परियार रहेछन् । ‘यस्तो झण्डा बोकेर नाच्न पनि नेपथ्यकै कन्सर्ट पर्खिनु पर्छ,’ होटल व्यावसायी दिपक मुसुक्क हाँसेर अथ्र्याइरहेका थिए, ‘लोकगीत र राष्ट्रिय झण्डाको कुरा मिल्छ नि !’

कार्यक्रममा एकसमय दर्शकहरुले एकोहोरो ‘अमृत’ ‘अमृत’ भनेर नाराबाजी गर्दा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङको आँखा रसाएको देखिन्थ्यो । उनले वाल्यकालका घटना सम्झँदै त्यसै चौरमा खेलेका क्षणहरु र उतिबेलाको पोखरेली ‘किस्सा’हरु सुनाएका थिए ।
‘जन्मदिने ठाउँ र आमालाई माया गर्न कहिल्यै नछुटाउनु’ भन्दैगर्दा उनले ‘आमा हुन साह्रै असजिलो छ’ र ‘आमाको कोखमा वासमात्रै लिएँ नि, कुन देसको मरन हौ हाजुर’ जस्ता गीतहरु पनि सुनाएका थिए ।

यो वर्षभरि नै नेपथ्यको रजत वर्षउत्सव घोषणा गरिसकेपछि ब्याण्डले पहिलो कन्सर्ट उसको थलो पोखरामै गरेको थियो । त्यसैले २७ वर्ष पहिले तयार पारिएको अनि ब्याण्डकै पहिलो रेकर्ड भएको गीत ‘आँगनैभरि हिउँ नै झरे’ सुनाउने बेलामा नेपथ्यको पहिलो टोलीका सदस्यहरुको विभिन्न गतिविधि झल्काउने तस्बिरहरु पृष्ठभागमा देखाइएको थियो ।

‘हामी खेलेर हुर्केको यो ठाउँलाई पहिलेजस्तै सुन्दर राखिदिनुस् है,’ स्थानीय निर्वाचनको घोषणा भइसकेको सन्दर्भमा उनले हात जोडेरै राजनीतिक चाँसो पनि ब्यक्त गरे, ‘कुन दलको मानिस भनेर होइन, पोखरालाई माया गर्ने असल मानिसलाई छानेर जिताइदिनुस् ।’
दर्शकको माझमा नेपथ्य उभिएको बेला उनीहरुको सर्वाधिक प्रिय ‘रेशम’ र ‘तालको पानी’ छुट्ने कुरै भएन ।

नेपथ्यलाई सहयोग गर्दैआएका पोखरेली श्रष्टाहरुको सम्झना गर्ने क्रममा अमृतले संगीतकार सुक गुरुङको स्वास्थ्यलाभ कामनासमेत गरेका थिए । उल्लेख्य संख्यामा विदेशी पर्यटकहरुसमेत भरिएको मैदानको तापक्रम सँधैजस्तै पछिल्लो समय उच्च भएको थियो । त्यसै क्षण रविन्द्र मिश्रको ‘तिमी पनि नेपाली, म पनि नेपाली’ गीत सुनाएर कार्यक्रमको अन्त्य गरिएको थियो ।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

‘फेरि उठ्नेछ नेपाल’ शिर्षकमा आयोजित यस कन्सर्टबाट भएको आर्थिक लाभको रकम कास्कीकै ल्वाङघलेलस्थित गौरीशंकर मणिलाल मावि र बाँसखर्क सल्यानस्थित भुमेश्वर प्राविलाई प्रदान गरिनेभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक