आशंकाबीच दलहरु चुनावको तयारीमा

लहान, १७ चैत । स्थानीय तहको निर्वाचनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको आन्दोलनका कारण समयमा निर्वाचन हुने-नहुने आशंकाबीच सिरहामा तीन ठूला दलले निर्वाचनको आन्तरिक तयारी थालेका छन् ।

मधेसवादी दलहरुको आन्दोलनका कारण यहाँ आगामी वैशाख ३१ गते निर्वाचन हुने वा नहुने आशंका रहेको भएपनि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले स्थानीय तहको निर्वाचनको आन्तरिक तयारी थालेका हुन् । काँग्रेस निकट नेपाल महिला सङ्घले केही दिनअघि सिरहाको लहानमा प्रदेश स्तरीय प्रशिक्षण गरेदेखि नै निर्वाचनको तयारी थालेको काँग्रेस सिरहाले चुनाव केन्द्रित गतिविधिलाई गाउँ गाउँसम्म पुरयाइ आएको छ ।

काँग्रेसका सिरहा जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवका अनुसार काँग्रेसले जिल्लाका गाउँपालिका र नगरपालिकाका लागि सम्भावित उम्मेदवारहरुको छनोट, अगुवा कार्यकर्ताहरुको प्रशिक्षक तथा नियमित बैठक र छलफल लगायतका गतिविधि गरिरहेको छ ।

“मधेसवादी दलहरुले यथास्थितिमा हुने निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गर्ने चेतावनी दिँदै आन्दोलन जारी राखेकाले समयमै निर्वाचन हुने वा नहुने अन्योलका बीच निर्वाचनको तयारी थालेका छौं,” सभापति यादव भन्नुहुन्छ – “निर्वाचन र संगठन सुदृढीकरणलाई लक्ष्य गरी जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अहिले दिनहुँ नियमित रुपमा बैठक र छलफलमा हुने गरेको छ ।”

एमालेले केही दिनअघि सञ्चालन गरेको मेची–महाकाली अभियान कार्यक्रमको क्रममा सप्तरीमा झडप भएपछि एमालेका नेता कार्यकर्ताले सिरहामा खुलेर निर्वाचनको तयारी गर्न नसकेपनि आन्तरिक रुपमा तयारी भइरहेको एमाले नेताहरु बताउँछन् । एमालेले निर्वाचनलाई लक्ष्य गरी पार्टीको २ नम्बर प्रदेश स्तरीय भेला महोत्तरीको बर्दिवासमा आयोजना गरेपनि सप्तरीको घटना पछि एमालेले सिरहामा कुनै औपचारिक कार्यक्रम गर्न सकेको छैन ।

संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि निर्वाचनलाई लक्ष्य गरी आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनलाई दृष्टिगत गरी एक साताअघि सिरहाको गोलबजारमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको र स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुको सूची तयारीको सन्दर्भमा बैठक तथा छलफलहरु नियमित रुपमा भइरहेको पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “निर्वाचन र सांगठनिक अभियान लिएर गाउँ गाउँका पार्टीका अगुवा नेता र कार्यकर्तासँग नियमित छलफल, अन्तरक्रिया गर्नुका साथै जिल्लाका स्थानीय तहमा उम्मेदवार हुने आकांक्षीहरुको समेत सूची तयार गरिरहेका छौं ।” ठूला तीन दल बाहेक अन्य केही दलले पनि छिटफुट रुपमा आन्तरिक चुनावी तयारी थाले पनि उनीहरुको गतिविधि औपचारिक रुपमा सार्वजनिक हुन सकेको छैन ।

स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्ला प्रहरी कार्यालय सिरहाले म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेपछि सिरहामा आवेदन भर्ने मधेसी युवाको भीड बढेको छ ।

म्यादी प्रहरी भर्नाका लागि आवेदन दर्ता गराउन सदरमुकाम सिरहास्थित जिल्ला प्रहरी कार्यालय सिरहामा दैनिक रुपमा ठूलो भीड लाग्ने गरेको छ ।

स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको भर्नामा युवा वर्गको बढ्दो आकर्षणले पनि आसन्न स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बुझ्न सकिन्छ । करिब १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी ठूला दलहरु गाउँ गाउँ पुग्न थालेपछि ग्रामीण क्षेत्रमा चुनावको चर्चा परिचर्चा सुरु भएको छ ।

तर पनि मधेसवादी दलहरुको आन्दोलनका कारण जिल्लामा खासै चुनावी माहोल बन्न नसकेको स्थानीय बासिन्दा बताउँछन् । संविधान संशोधन गरी मधेसवादी दलहरुलाई समेत निर्वाचनमा सहभागी गराउन सकिए निर्वाचनको वातावरण सहज रुपमा बन्ने स्थानीय बुद्धिजीवीहरुको विश्वास छ ।

सिरहा जिल्लामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा तथा मधेसवादी दलहरु गरी ३२ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

भद्रपुरमा चुनावी चहलपहल बढ्यो

भद्रपुर, १७ चैत । स्थानीय तहको निर्वाचनको चर्चासँगै गाउँपालिका र नगरपालिकाका उम्मेदवारका आकांक्षीहरु आ–आफ्नो पक्षमा जनमत बनाउन सक्रिय हुन थालेका छन् ।

नेपाल सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि जिल्लामा रहेको निर्वाचन कार्यालयले पनि आफ्ना गतिविधिलाई तीव्र पारेको छ । कुन गाउँपालिका वा नगरपालिकामा कति मतदाता छन् भन्ने यकिन विवरण भने स्पष्ट भई नसकेको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले बताउनुभयो ।

उहाँका अनुसार एक-दुई दिनमै सबै गाउँपालिका र नगरपालिकाका मतदाताको नामावली स्पष्ट हुनेछ । झापाको सदरमुकाम रहेको नेपालकै पुरानो भद्रपुर नगरपालिकाको प्रमुख, उपप्रमुख लगायत पदमा हुने निर्वाचनमा चार पक्षीय भिडन्त हुने देखिएको छ । यस अघि भद्रपुर नगरको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले राख्दै आएको वर्चश्वलाई परिवर्तित संरचनाका कारण नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको सांगठनिक सबलताले चुनौती थपिदिने विश्लेषण गरिएको छ ।

भद्रपुर नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसबाट गणेश पोखरेल, मोहन महर्जन, चण्डी पराजुली र राजेन्द्र घिमिरे आकांक्षीका रुपमा देखा परको वरिष्ठ पत्रकार चिन्तामणि दाहालले बताउनुभयो । उपमेयर पदका लागि गोमा भट्टराई, लता कार्की, शर्मिला अधिकारी र भूमादेवी घिमिरे देखिनुभएको छ । पोखरेल क्षेत्रीय सभापति र नगर संयन्त्र प्रतिनिधिको जिम्मेवारीमा छन् भने महर्जन नगर सभापतिको जिम्मेवारी सम्हालिरहेका छन् । यस्तै पराजुली पुराना काँग्रेस कार्यकर्ता तथा उद्योगी हुन् ।

यसैगरी, माओवादी केन्द्रबाट मेयर पदका दावेदारहरुमा नरेश सञ्जेल, नरपति सुब्वा, शिवराज भण्डारी र राधाकृष्ण घोष देखापरेका छन् । उपमेयरमा सीता न्यौपाने, सोनाका सिंहको चर्चा छ । सञ्जेल निर्वतमान क्षेत्रीय संयोजक र भद्रपुर नगर संयन्त्रको प्रतिनिधि हुन् भने सुब्वा लिम्बुवान् मोर्चाका केन्द्रीय उपमहासचिवको जिम्मेवारीमा रहेका नेता हुन् ।

यस्तै, एमालेबाट मेयर पदका दावेदारहरुमा जीवन कुमार श्रेष्ठ, यामबहादुर श्रेष्ठ र चन्द्र श्रेष्ठ असारु राजवंशी र उपमेयर पदका दावेदारमा मीना पराजुली, मित्रा भट्टराई, कमला थुलुङ देखिएका छन् । जीवन श्रेष्ठ पूर्व उपप्रमुखका रुपमा भद्रपुर नगरपालिकाको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर पदका लागि झापा कै चर्चित व्यापारी पर्शुराम अग्रवाललाई अघिसार्ने तय भएको बताइन्छ । पछिल्लो समयमा नवराज पनेरु मेयर पदका उम्मेदवार बन्ने चर्चा पनि छ । अग्रवालको उम्मेदवारी रोकिएमा काँग्रेसका आकांक्षी राजेन्द्र घिमिरेले पार्टीले टिकट नदिए पनि स्वतन्त्र रुपमा मेयर पदमा लड्ने चर्चाले यहाँ व्यापकता पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री