भारतीय सेनाध्यक्ष रावत नेपाल आउँदै

काठमाडौँ, १२ चैत । भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मङ्गलबार नेपालको चारदिने भ्रमणका लागि आउनुहुनेभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई आगामी बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

नवनियुक्त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।

भारतीय सेनाको २७ आँै सेनाध्यक्षका रुपमा रावतको सन् २०१६ डिसेम्बर ३१ मा नियुक्ति भएको थियो । उहाँले यसअघि भारतीय सेनाका गोर्खा रेजिमेन्ट्को प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

नेपालमा रहँदा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

भारतीय सेनाध्यक्षले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पको समेत भ्रमण गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री