काठमाडौँ, १६ फागुन । झन्डै दुई दशकपछि आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको छ ।
सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले दिनरात र बिदासमेत नभनी निर्वाचन सफलरुपमा सम्पन्न गर्न काम गरिरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।
आयोगस्थित आफ्नै कार्यकक्षमा आज रासससँग कुरा गर्दै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक सामग्री जुटाउने, जनशक्ति व्यवस्थापन गर्ने र अन्य तयारी भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मुलुकमा उपलब्ध नभएका सामग्री जस्तै मतपेटिका, कागज, नउड्ने मसी, सिल, छेकावार आदि विगतमा झैँ विदेशबाट आयातका लागि तयारी भइरहेको छ ।” निर्वाचनमा करिब २१ हजार मतदान केन्द्र हुने र त्यसका लागि करिब ९० हजार मतपेटिका आवश्यक पर्ने बताउँदै उहाँले भन्नुभयो, “हाल आयोगसँग ७० हजार मतपेटिका मौज्दात छन् बाँकी अपुग मतपेटिका ल्याउने विभिन्न विकल्पका बारेमा छलफल भइरहेको छ, एक-दुई दिनमा टुङ्गो लाग्छ ।”
नामावली सङ्कलन तथा मिलाउने कार्य अन्तिम चरणमा रहेको बताउँदै सचिव मैनालीले स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन भने आवश्यक सर्त हो भन्नुभयो । आयोगले उक्त प्रतिवेदन सरकारलाई तत्काल उपलब्ध गराउन आग्रह गरेको र सरकारले यही साताभित्र उपलब्ध गराउने आश्वासन दिएको उहाँले जानकारी दिनुभयो ।
यसबाहेक आयोगले मतदाता शिक्षा दिने तयारी गरिरहेको र यसमा आमसञ्चार माध्यम तथा राजनीतिक दलबाट पनि सहयोगका लागि आह्वान गरेको छ । “जनताले निर्वाचन चाहेकाले निर्वाचन जसरी भए पनि हुन्छ । निर्वाचन हुँदैन भन्ने त म कल्पना पनि गर्न सक्दिन”– उहाँले भन्नुभयो ।
निर्वाचन गर्न कानुनको समस्या नपर्ने बताउँदै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक पर्ने पाँचमध्ये चार कानुन प्रमाणीकरण भइसकेको जानकारी दिनुभयो । बाँकी रहेको राजनीतिक दलसम्बन्धी कानुन नआएका खण्डमा आयोगले उपलब्ध निर्वाचन आयोग ऐनको प्रावधानअनुसार संविधान र सङ्घीय कानुनका सन्दर्भमा बाधा अड्काउ फुकाउ आदेश जारी गर्नसक्ने अधिकार रहेको उहाँले उल्लेख गर्नुभयो ।
राजनीतिक दल तथा उम्मेदवारको सङ्ख्याअनुसार मतपत्र फरकफरक हुने र त्यसको तयारी भइरहेको बताउँदै उहाँले तराई र काठमाडौँ उपत्यकाका लागि ठूलो आकारको मतपत्र हुने जानकारी दिनुभयो । अन्य क्षेत्रमा भने उम्मेदवारको सङ्ख्याअनुसारको मतपत्र हुनेछ ।
नेपालमा पहिलोपटक एकै चरणमा स्थानीय निर्वाचन हुन लागेकाले चुनौती धेरै भए पनि व्यवस्थापन गर्न सकिने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “मतपत्र छाप्ने सम्पूर्ण जिम्मा जनकशिक्षा सामग्री केन्द्रलाई जिम्मा दिएका छौँ । प्रेस तयारी अवस्थामा रहेको र कागज मौज्दात छ ।”
निर्वाचनको प्रवेशद्वारबाट नै संविधानको वास्तविक कार्यान्वयन सुरु हुने धारणा व्यक्त गर्दै उहाँले निर्वाचनको तयारीका लागि आयोगसँगै सञ्चारमाध्यम, राजनीतिक दल, युवा, नागरिक समाजलगायत सबैको साथ रहेको उहाँले बताउनुभयो ।
यसपटक विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावना कम रहेको जानकारी गराउँदै उहाँले यही फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने बताउनुभयो ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो