राप्रपा अध्यक्षमा कमल थापा निर्वाचित

कमल थापा

काठमाडौँ, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित हुनु भएको छ ।

एकता महाधिवेशनअन्तर्गत आज भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८०४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २५१ मत प्राप्त गर्नुभयो ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल तीन हजार १३६ मत सदर तथा ८१ मत बदर भएको छ ।

अध्यक्षमा निर्वाचित भएसँगै थापाले कार्यकर्ताको भावनालाई सम्मान गर्दै गुटबन्दीलाई अन्त्य गर्ने बताउनुभयो ।

कार्यकर्तालाई अन्याय हुन नदिने बताउँदै अध्यक्ष थापाले आगामी दिनमा पार्टीलाई एकताबद्ध गरी राष्ट्रिय राजनीतिमा पार्टीले मुख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मङ्गलबार केन्द्रीय सदस्यका लागि निर्वाचन गरिनेछ । पार्टीको विधानअनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पद) का लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

महिलातर्फ ३३ सिट रहेका छन्, जसमा खुल्ला १६ तथा आरक्षणमा १७ छन् । आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुसलमान एक, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु समुदायबाट एक जना निर्वाचित हुनेछन् ।

पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, जसमा खुल्ला ४० तथा आरक्षणमा २५ सिट छन् । आरक्षणतर्फ मधेसी सात, आदिवासी÷जनजाति नौ, उत्पीडित दुई, मुसलमान दुई, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु एक र प्रवासबाट दुई जना निर्वाचित हुनेछन् । महाधिवेशनपछि ४० प्रतिशत मनोनयन गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री