नेपालका न्यायधिशहरुसंग एनआरएनए यूकेको अन्तरक्रिया

judges-interaction-uk

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतले बेलायती न्याय प्रणाली अवलोकन भ्रमणमा आएको नेपालका वरिष्ठ न्यायधिशहरुको टोलीसंग अन्तरक्रिया गरेको छ । मंगलबार सांझ लन्डनस्थित गोल्डेनसिप रेष्टुरेन्टमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान तथा स्वागत समेत गरियो ।

एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिष्ट्रार सुवेदी, दिपायल उच्च अदालतका मुख्य न्यायधिश प्रकाश कुमार ढुंगाना, रुपन्देही जिल्ला अदालतका न्यायधिश रमेशप्रसाद रिजाल, राजदूत डा. दुर्गाबहादुर सुवेदी, ब्रिटेन नेपाल लयर्स असोसिएसनका अध्यक्ष सोलिसिटर राजु थापा, गैर आवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रमका सहभागीले नेपालको न्यायपालिका राजनीतिक प्रभावबाट अछुतो रहन नसकेको, भ्रष्टाचार र ढिलासुस्ती हुने जस्ता गुनासा सुनाएका थिए । प्रवक्ता सुवेदीले माथिका आरोप अस्वीकार गर्दै न्यायपालिकामा क्रमशः सुधार भइरहेको जनाउंदै एउटा मुद्दा फैसलामा दुई वर्ष भन्दा बढि समय नलाग्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा सर्वोच्च अदालतका न्यायधिश ओमप्रकाश मिश्रले नेपालको न्यायपालिकामा विभिन्न सुधार भइरहेको बताए । भ्रष्टाचार, ढिलासुस्ती र कुनै दलगत पूर्वाग्रहबाट न्यायलय कदापी निर्देशित नहुने मिश्रको दावी थियो । ‘हामीले संसद र राजसंस्थाविरुद्ध पनि फैसला गरेकै हो’, उनले भने ।

सोलिसिटर राजु थापाले बेलायतमा कानुन व्यवसायीमा नेपालीहरुको आवद्धता बढ्दै गएको जनाउंदै ब्रिटेन नेपाल लयर्स असोसिएसनले नेपालबाट आएका अधिवक्तालाई अध्ययनपछि यहां सोलिसिटर बन्न पाउने गरि मान्यता 
दिलाइएको उल्लेख गरे ।

उक्त कार्यक्रम एनआरएनए यूके महासचिव विजय विक्रम लिंग्देन र सचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेका थिए ।

यसअघि न्यायधिशहरुको टोलीले यहां विभिन्न भेटघाट गरेको थियो । सर्वोच्च अदालतका न्यायधिश ओमप्रकाश मिश्रको नेतृत्वमा आएको टोलीले बेलायती सर्वोच्च अदालतका अध्यक्ष लर्ड न्यू बर्गर, चिफ एक्जुकेटिभ मार्क ओर्मेरड, रजिष्ट्रार लुइस डि माम्ब्रो लगायतसंग भेटेको हो ।

15540994_1747251082262271_5192259884497598571_o

भेटमा नेपालको न्यायपालिका स्वतन्त्रता र न्याय प्रणालीको उच्च प्रशंसा भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिष्ट्रार नकुल सुवेदीले दाबी 
गरे । भेटघाटमा बेलायतले अवलम्बन गरेको न्याय प्रणालीका सुधार कार्यक्रम र अनुभव समेत आदानप्रदान भएको थियो । ‘बेलायतको न्यायिक सुधार प्रक्रिया कसरी भयो भन्नेबारे अनुभव आदानप्रदान भयो’, प्रवक्ता सुवेदीले भने, ‘बेलायत र नेपालबीच न्यायिक सम्बन्ध अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो ।’

अमेरिकी न्यायप्रणाली बुझेर बेलायत आइपुगेको टोली लन्डनमा तीन दिन बसेको थियो । न्यायधिशहरु बुधबार फ्रान्स र जर्मनी जाने कार्यक्रम छ ।

तस्विरः शिव भण्डारी

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री