राप्रपा केन्द्रीय कार्यसमिति बैठकमा ५४ केन्द्रीय सदस्यले बोले

फाइल तस्विर

फाइल तस्विर

काठमाडौँ, ८ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीे केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा अध्यक्ष कमल थापाको स्थानीय तहमा एकीकरणसम्बन्धी राजनीतिक प्रतिवेदनमाथि ५४ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखे ।

प्रतिवेदनमाथि ४० जनाले बोल्न बाँकी रहेकाले बैठक भोलिसम्मका लागि सारिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभएको छ ।

उक्त प्रतिवेदनमा यही मङ्सिर २५ गतेभित्र सबै तहका कार्यसमितिको पुनर्गठन गर्नुपर्ने उल्लेख छ । त्यसका लागि जिल्ला, क्षेत्र, नगर, गाउँ र वडा तहमा एकीकरण गर्दा केन्द्रीय जिल्ला पर्यवेक्षकको उपस्थितिमा तत्कालीन दुवै पार्टीको कार्यसमितिको संयुक्त बैठक गरी समझदारीका आधारमा एकीकृत कार्यसमिति गठन गर्नुपर्नेछ । दुवै पक्षको बराबरी प्रतिनिधित्व हुनेगरी जिल्ला, क्षेत्र, नगर, गाउँ तथा वडा इकाइ समितिको एकीकृत कार्यसमिति गठन गर्ने र एकीकरण गर्दा कुनै विवाद उत्पन्न भएमा कार्य सम्पादन समितिले दिएको निर्देशन बमोजिम हुने प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

अर्का नेता मोहन श्रेष्ठका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनाका साथै पार्टीका सुल्झन बाँकी विषयलाई महाधिवेशनले टुङ्गो लगाउने सहमति बनेको छ । संविधान संशोधनका विषयमा सरकारले पार्टीसामु अघि सार्ने प्रस्तावका आधारमा निर्णय लिनुपर्ने सुझाव अधिकांश नेताले दिएका थिए ।

गत सोमबार राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएको हो । एकीकरणपछि बसेको आजको पहिलो बैठकमा केही नेताले माघ महिनाभित्र महाधिवेशन सम्पन्न गर्न सुझाव दिएका थिए । कतिपयले मुलुकलाई हिन्दूराष्ट्र कायम गर्न पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए ।

बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री