चुनावमा केन्द्रित बन्न काँग्रेस कार्यकर्तालाई नेताहरूको आग्रह

नेपाल तरुण दलको आजदेखि पोखरामा सुरु चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस

नेपाल तरुण दलको आजदेखि पोखरामा सुरु चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस

पोखरा, २७ कात्तिक । नेपाली काँग्रेसका नेताहरूले संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन अपरिहार्य भएको भन्दै त्यसतर्फ केन्द्रित बन्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल तरुण दलको आजदेखि पोखरामा सुरु चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेताहरूले नेपालका लामो समयदेखिका सङ्घर्षलाई संस्थागत गर्न संविधानको कार्यान्वयन अपरिहार्य भएको बताउँदै त्यसका लागि प्रथम चरणमा हुनुपर्ने तीनै तहको निर्वाचनका लागि सक्रिय बन्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

महाधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि काँग्रेस दृढ सङ्कल्परत भएको बताउँदै सबै वर्ग र समुदायको भावनालाई समेट्न संविधानमा आवश्यकताअनुसार संशोधन गरेर संविधान कार्यान्वयन गरिछाड्ने बताउनुभयो ।

देशको आर्थिक समृद्धि र विकासका लागि काँग्रेसको नेतृत्व आवश्यक भएको बताउँदै उहाँले सबै निर्वाचनमा पार्टीलाई पहिलो सशक्त पार्टीका रुपमा स्थापित गर्न युवा तरुण जुट्नुपर्ने बताउनुभयो ।

पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउने बताउँदै उहाँले जारी नेपाल तरुण दलको महाधिवेशनमा सबैलाई मिलाएर लैजाने गरी सर्वसम्मत नेतृत्वका लागि पहल गर्न समितिलाई निर्देशन दिनुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने पार्टीको दायित्व भएको बताउँदै देशको अपेक्षाअनुरुप काँग्रेसलाई आगामी निर्वाचनबाट पहिलो र सशक्त पार्टी बनाउन पार्टीभित्र सुदृढ एकता अपरिहार्य भएको बताउनुभयो ।

उहाँले संविधानको कार्यान्वयनका लागि राष्ट्रिय एकता र अखण्डतालाई असर नपार्ने गरी आवश्यकताअनुसार संविधान संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

देशमा कृषि क्रान्ति, पर्यटन र ऊर्जाको विकासका माध्यमबाट आर्थिक समृद्धि र विकास हासिल गर्नु आवश्यक भएको उल्लेख गर्दै उहाँले देशलाई राजनीतिक सङ्कटको अवस्थाबाट पार लगाउँदै राजनीतिक स्थिरता र विकासको मार्गमा उन्मुख बनाउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री सशाङ्क कोइरालाले देशका सबै किसिमका चुनौतीलाई पार लगाउन सक्ने काँग्रेस वर्तमानको आवश्यकता भएको बताउँदै पार्टीलाई एकाकार बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अहिंसा र शान्तिको बाटोबाट मात्रै विकास सम्भव भएको बताउँदै नेपाली जनतामा तरुण दलप्रति ठूलो माया र भरोसा भएको उल्लेख गर्नुभयो ।

संविधानका कार्यान्वयनका लागि संविधानका धेरै धारा तथा उपधारा संशोधन आवश्यक भएको बताउँदै उहाँले संविधान संशोधनका लागि प्रमुख राजनीतिक दलसँग औपचारिक एवम् अनौपचारिक रुपमा छलफल जारी रहेको जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले तरुण दलको महाधिवेशनले नेपाली काँग्रेसलाई एकजुट हुन सन्देश दिने तथा यसले राजनीतिक स्थिरता र स्थायित्वमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले मुलुक बनाउने जिम्मा युवा तरुणको काँधमा आएको बताउनुभयो ।

उहाँले २०७४ माघ ७ गतेसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गरी सबैमा नेपाली काँग्रेसको वर्चस्व कायम गर्नेतर्फ प्रत्येक कार्यकर्ताको ध्यान जानु जरुरी रहेको धारणा राख्नुभयो ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री कृष्ण सिटौलाले प्राप्त भएको परिवर्तनलाई संस्थागत गरी आर्थिक समृद्धिको बाटोमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले दुई तिहाई नपुरयाई संविधान संशोधनको प्रक्रिया अघि बढेमा त्यस्तो प्रस्ताव निरर्थक हुनेतर्फ गम्भीर बन्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन तरुण दलले अगुवाइ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार स्थानीय तहको निर्वाचन गर्न तयार रहेको र यसमा पार्टीको पूर्ण सहयोगको खाँचो औँल्याउनुभयो ।

नेपाली काँग्रेसकी कोषाध्यक्ष तथा शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले नयाँ संरचनामा स्थानीय तहको निर्वाचन गर्न कठिनाइ भएकाले पुरानै संरचनामा भए पनि निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

गरिबी निवारण मन्त्री हृदयराम थानीले तरुण दल नेपाली काँग्रेसको मेरुदण्डका रुपमा रहेको र यसले सिङ्गो समाजलाई परिवर्तन गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्षहरू विनोद कायस्थ, महादेव गुरुङ र महेन्द्र यादव, नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष उदयशम्शेर राणालगायतले परिवर्तित २१औँ शताब्दीमा युवा तरुणको भूमिका महत्वपूर्ण हुनेमा जोड दिँदै सवल र सक्षम नेतृत्व वर्तमानको आवश्यकता भएको बताउनुभयो ।

तीन दिनसम्म चल्ने सो महाधिवेशनमा ७३ जिल्लाका एक हजार ४०० प्रतिनिधिको सहभागिता छ ।

महाधिवेशनको भोलि पोखरा सभागृहमा बन्द सत्र र पर्सि निर्वाचन कार्यक्रम सुरु हुने नेपाल तरुण दलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री