चितवन, ११ असोज । कर्मचारी वृत्तमा निकै परिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल हुनुको मुख्य श्रेय पाएकै कारण धेरैको प्रिय बन्नुभएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली नदीमा बेपत्ता हुनुहुन्छ ।
आइतबार साँझ अबेर उहाँ चढेको गाडी त्रिशूली नदीमा खसेर उहाँहरु वेपत्ता भएदेखि नै कुरिनटारको घोप्टेभिरमा उहाँहरुको अवस्था बुझ्न आउनेको भीडभाड छ । सोमबार बिहान सबेरैदेखि घिमिरेका इष्टमित्र, आफन्त हुँदै नेपाल सरकारका उच्च पदस्थ कर्मचारी समेत घटनास्थल आइपुगेका थिए ।
चितवन र छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका जिल्लास्थित प्रमुख पनि घोप्टेभिर पुगेर उहाँको खोजीका लागि सहयोग गरिरहेका छन् ।
सोमबार बिहान घटनास्थल घोप्टेभिरमा बिलौना गरिरहनुभएकी दीपा आचार्य घिमिरेसँगै मुक्तिनाथ यात्राको एक जना सहयात्री हुनुहुन्छ । दीपाका बुबाका मामाको छोरा (ठूलोबुबा) घिमिरे परिवारसँगै आचार्य पनि असोज ५ गते काठमाडौँबाट मुक्तिनाथ यात्रामा जानुभएको थियो ।
आचार्यले भन्नुभयो “बिहान ७ बजे हामी काठमाडौँबाट हिँडेका थियौँ । गाडीमा माधवप्रसाद घिमिरे, उहाँका आफ्नै भाइ प्रकाश, काकाको छोरा मोहन, नाताले काका पर्ने नारायणप्रसाद काफ्ले र चालकसहित दुई सुरक्षाकर्मी टोलीमा रहेका थिए ।” असोज ५ गते राति बेनीमा बास बसी यात्रा तय गरेको बताउँदै आचार्यले भन्नुभयो “ असोज ६ गते जोमसोममा बसियो । असोज ७ गते त्यहीँबाट कागबेनीमा गएर श्राद्ध गरी साँझ फेरि जोमसोममा नै बसियो ।” उहाँले अगाडि भन्नुभयो “ असोज ८ गते बिहान जोमसोमबाट हिँडियो, म बेनीमा झरेँ, उहाँहरु बागलुङकालिका दर्शन गरी पोखरा गएर बस्नुभयो । असोज ७ गते घिमिरेले र असोज ८ गते काफ्लेले श्राद्ध गर्नुभएको थियो । आचार्यका पिता यादव आचार्य म्याग्दी जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।
असोज ९ गते बिहान निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटसँगै बिहानको खाना खाएर उहाँहरु हिँड्नुभएको हो ।
घटनास्थलमा आइपुग्नु भएका रानाभाटले भन्नुभयो “हामीसँगै लेकसाइडको मोनालिसा रेस्टुराँमा खाना खाएर बिहान ११ः१५ बजे उहाँहरु पोखराबाट हिँड्नु भएको हो ।” उहाँहरुले दिउँसो विमलनगरमा चियाखाजा खाएको समेत रानाभाटले बताउनुभयो । दिउँसो २ः३० बजे फोन गर्दा उहाँहरु विमलनगर भएको बताउँदै रानाभाटले यो घटना सुन्दा आफूलाई सपना जस्तो लागेको बताउनुभयो ।
घटनास्थलमा निकै दुखित देखिनु भएका यादव आचार्य मुक्तिनाथ यात्रा क्रममा उहाँहरुसँगै हुनुहुन्थ्यो । आचार्य माधव घिमिरेका फूपूका छोरा भाइ हुनुहुन्छ । “साँझ ५ बजे मैले दाइलाई फोन गरेँ, धेरैबेरपछि सुरक्षाकर्मीले फोन उठाए, हामी आत्तिएर आइपुग्यौँ । अहिले पनि घटना सपना जस्तै लाग्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार माधव घिमिरे र भाइ प्रकाश वनस्थलीमा बस्नुहुन्छ । अन्दाजी ४८ वर्षीय प्रकाश खेलकुद परिषद्का कर्मचारी हुनुहुन्छ ।
त्यस्तै, काकाका छोरा अन्दाजी ५० वर्षीय मोहन पनि वनस्थलीमै बस्नुहुन्छ । उहाँ नेपाल टेलिकमका कर्मचारी भएको आचार्यले बताउनुभयो । अन्दाजी ६५ वर्षीय नारायण काफ्ले राष्ट्रिय वाणिज्य बैंकका निवृत्त कर्मचारी हुनुहुन्छ । उहाँको बसाइ कात्यायनी, बानेश्वरमा छ । प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की सिन्धुलीका हुनुहुन्छ ।
आचार्यका अनुसार पूर्व गृहमन्त्री एवम् मुख्यसचिव घिमिरेकी श्रीमती कमला र बुहारी आकांक्षा काठमाडौँकै घरमा हुनुहुन्छ भने छोरा सुशान्त अस्ट्रेलियाबाट आउँदै हुनुहुन्छ । छोरी सृष्टि पाल्पा मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ ।
घटनास्थलमै भेटिनुभएका घिमिरेका काकाका छोरा धनेन्द्र घिमिरेले घटनास्थल निरीक्षण गर्न आउनुभएका मन्त्री रमेश लेखकसँग यही ढङ्गबाट खोजी गर्दा पत्ता लाग्न नसक्ने भन्दै थप स्रोत र साधनको प्रयोग गर्न आग्रह गर्नुभयो ।
पानीभित्र पसेर बेपत्ताको खोजी गर्नसक्ने अत्याधुनिक उपकरण हुनसके उहाँहरुलाई पत्ता लगाउन सकिने घिमिरेले बताउनुभएको थियो । सो क्रममा मन्त्री लेखकले यस विषयमा प्रधानमन्त्रीसँग तत्काल टेलिफोन सम्पर्क गरी खोजी कार्यलाई थप प्रभावकारी बनाउने आश्वासन दिनुभएको थियो । त्यसलगत्तै उहाँले प्रधानमन्त्रीलाई फोन समेत गर्नुभएको थियो ।
घटनास्थलमा उहाँको गृहजिल्ला पाल्पासहित देशभर छरिएर रहेका आफन्त कुरिनटार आइपुगेका छन् भने उहाँकै समयदेखि सरकारी सेवामा रहेका पनि आउनेक्रम जारी छ । घटनास्थलमा उहाँको झोला र मोबाइल फेला परेको छ । घिमिरेका तीनभाइ नदीमा बेपत्ता हुनुहुन्छ भने आमा, काका काफ्ले, सशस्त्र प्रहरीका नायब निरीक्षक कार्कीको मृत्यु भएको छ । चालक नेपाल प्रहरीको हवल्दार विष्णु राई घाइते हुनुहुन्छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक