प्रहरी महानिरीक्षक बन्न पाँच महिनाअघि नै अस्वस्थ प्रतिस्पर्धा

nepal-police-57b6cafc385ea5-66261188

काठमाडौँ, ६ असोज । नेपाल प्रहरीमा भावी महानिरीक्षक(आइजिपी) नियुक्ति हुने समय आउनु पाँच महिनाअघि देखि नै सो पदका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ ।

आइजिपीसँगै हाल कायम सबै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)ले पनि ३० वर्ष सेवा अवधि पूरा गरी आगामी फागुन १ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् र बहालवाला प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहेकाहरुबाट एक आइजिपी बन्ने छन् ।

विसं २०४४ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका अहिलेका डिआइजीमध्ये वरिष्ठताको रोल क्रममा १ नम्बरमा रहेका नवराज सिलवाल, २ नम्बरमा रहेका प्रकाश अर्याल, ३ नम्बरमा रहेका जयबहादुर चन्द र ४ नम्बरमा रहेका बमबहादुर भण्डारीबीच नयाँ आइजिपी बन्न तीव्र प्रतिस्पर्धा सुरु भएको छ ।

डिआइजीबीचको अस्वस्थ प्रतिस्पर्धाको फलस्वरुप एकले अर्कोलाई खुइल्याउने गरी अहिले सञ्चारमाध्यममा एकतर्फी रुपमा समाचार प्रवाह भइरहेका छन् ।

प्रतिस्पर्धा अस्वस्थ बन्दै गएपछि केही दिनअघि आइजिपी अर्यालले रोल क्रममा रहेका चारै जना डिआइजीलाई प्रहरी प्रधान कार्यालयमा बोलाएर सामूहिक रुपमा हकार्नु परेको थियो ।

आइजिपी अर्यालले एक डिआइजीले अर्काविरुद्ध उसका गतिविधि नियाल्न सुराकी परिचालन गर्ने गरेको, फोनको विवरण सङ्कलन गर्ने गरेको, सञ्चारमाध्यममा गलत सूचना दिने र आफ्नै लगानीमा अनलाइन सञ्चालन गरी प्रतिस्पर्धीको उछितो काढ्ने गरेको सूचना आफूकहाँ पुगेको भन्दै त्यसो नगर्न चेतावनी दिनुभएको थियो ।

उहाँले केही व्यक्तिको स्वार्थपूर्तिका लागि यस्ता गतिविधि गर्दा सिङ्गो सङ्गठनकै बदनाम हुने र सङ्गठन कमजोर बन्दै जानेतर्फ डिआइजीलाई सचेत गराउनुभएको थियो ।

अर्यालले यस्तो गतिविधि जारी राखे चारै जनालाई कारबाहीसम्म गर्ने चेतावनी दिए पनि त्यस्ता गतिविधि अझै रोकिएको भने छैन ।

सो समूहका अन्य डिआइजीले पनि आइजिपी बन्न आफ्नो प्रयास जारी राखे पनि सतहमा एक नम्बरमा रहनुभएका सिलवाल र ३ नम्बरमा रहनुभएका चन्दबीच बढी प्रतिस्पर्धा देखिएको छ ।

हाल केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत डिआइजी सिलवाल प्रहरीभित्र इमान्दार र सरल अधिकृतको रुपमा परिचय बनाउन सफल हुनुभएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत चन्द कार्यक्षेत्रमा नयाँ÷नयाँ कार्यक्रम ल्याउने र जोखिम मोल्न सक्ने प्रहरी अधिकृतको रुपमा चिनिनुहन्छ ।

तर दुवै डिआइजीविरुद्ध पछिल्लो समय विभिन्न आरोप लाग्न थालेको छ । गुनबहादुर थापा भन्ने एक व्यक्तिले आफूसँग अत्यधिक ब्याज लिने गरी ‘मिटर ब्याज’मा डिआइजी सिलवालले लगानी गरेको र सोही कारण आफूले जग्गा जमिन गुमाउनुपरेको भन्दै पत्रकार सम्मेलन नै आयोजना गरे ।

त्यस्तै, प्रहरी नायब महानिरीक्षक चन्दमाथि लागुऔषध मुद्दामा विवादास्पद व्यापारी पवन सङ्घाइसँग मिलेमतो गरेको आरोप लागेको छ ।

तर यी आरोप आइजिपी बन्नबाट रोक्न आफ्नो प्रतिस्पर्धीले चलाएको हल्ला मात्रै भएको दुवै डिआइजीको प्रष्टोक्ति छ । ट्राफिक प्रहरी महाशाखामा कार्यरत डिआइजी अर्याल कुशल प्रशासनिक क्षमता र दीर्घकालीन योजना बनाउन सक्ने अधिकृतको रुपमा चिनिनुहुन्छ । तर अर्यालमाथि अनुसन्धान ब्युरोमा कार्यरत रहँदा ३५ किलो सुन पक्राउ गरेबापत पाइने कमिसन दुरुपयोगमा मुछिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरेको थियो ।

पूर्व गृहमन्त्री भीम रावल सुरक्षा निकायमा अस्वस्थ प्रतिस्पर्धा हुनु चिन्ताको विषय भएको र यसले प्रहरीको ‘चेन अफ कमान्ड’ खल्बलिने बताउनहुन्छ ।

उहाँले भन्नुभयो – संविधान कार्यान्वयनको चरणमा रहेको अहिलको अवस्थामा प्रहरीका उच्च अधिकारी नै राष्ट्रिय हित विपरीत नियमसङ्गत, पद्धतिसङ्गत ढङ्गले हुने बढुवालाई प्रभाव पार्नमा केन्द्रित हुनु राम्रो सङ्केत होइन ।

पूर्व प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले स्वस्थ प्रतिस्पर्धा स्वाभाविक भए पनि मर्यादाक्रममा रहेका सबै आइजिपी बन्न योग्य हुनसक्ने प्रहरी नियमावलीका कारण अहिले बढुवामा अस्वस्थ प्रतिस्पर्धा भइरहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – “तीस वर्षे सेवा अवधिका कारण आइजिपीसहित एआइजीहरुले एकै पटक अवकाश पाउने र अपरिपक्व व्यक्तिले एकैपटक सङ्गठनको नेतृत्व सम्हाल्ने अवस्था आएको छ । कम्तीमा छ महिना पहिले भावी आइजिपी बनाउने गरी विशेष पद सिर्जना गरेर एआइजी दरबन्दी सिर्जना गर्न आवश्यक छ ।”

शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी सङ्गठनको नेतृत्वका भइरहेको होडबाजीले प्रहरी सङ्गठनलाई कमजोर बनाउँदै लगेकामा धेरैले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री