नीति बनाएर पुनःनिर्माणको कामलाई तीव्रता दिइने

Earthquake victim

काठमाडाँै २० भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले नयाँ नीति बनाएर पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताउनुभएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र सबैका लागि न्यायले ‘भूकम्पपछिको अवस्था’बारे मूल्याङ्कन गर्न आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रवक्ता थपलियाले पुनःनिर्माणको काममा ढिलाइ भइरहेको स्वीकार्दै चाँडै नै नीति ल्याएर त्यसलाई तीव्रता दिइने बताउनुभयो ।

भूकम्पपछिको पुनःनिर्माणका लागि १६ प्रकारका कानुन तर्जुमा गरिइसकिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता थपलियाका अनुसार काठमाडाँै उपत्यकाको सर्भेको काम एक हप्ताभित्र सकिने छ । उहाँले ६० हजार घर विदेशी अनुदानमा बनाइने जानकारी पनि दिनुभयो ।

छ लाख भूकम्पपीडितको बैंक खाता खोलेर पैसा जम्मा गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा सांसद कमला पन्तले भूकम्पपीडितमाथि राजनीतीकरण भइरहेको गुनासो गर्दै अझै वास्तविक पीडितले राहत नपाएको बताउनुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य ठाकुर गैरेले राजनीतिक पार्टीहरुले जनताप्रतिको उत्तरदायित्वलाई लत्याएको बताउँदै नीतिको शीघ्र कार्यन्वयन गरेर भूकम्पपीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले राजनीतिक सङ्क्रमणकालले गर्दा पीडितहरुले राहत नपाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री