शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: १४:०४ | UK Time: 09:19

सहमतिमा संविधान संशोधन गरिन्छः सभापति देउवा

वीनेपाली
२०७३ भदौ १८ गते १२:११
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचार गरेर शनिबार स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचार गरेर शनिबार स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, १८ भदौ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ ।

उहाँले भन्नुभयो “संविधान संशोधन जस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा खोजिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।”

सिङ्गापुरमा पेटको पाचनप्रणाली सम्बन्धी उपचार गराई आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सभापति देउवाले संविधानप्रति सबैको अपनत्व होस् र कार्यान्वयन गर्न थप सहजता होस् भन्नाका लागि नै संशोधन हुन लागेको हो भन्नुभयो ।

सभापति देउवा उपचारका लागि यही भदौ १० गते धर्मपत्नी आरजु देउवाका साथ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

पार्टी सभापतिमा निर्वाचित भएपछि उहाँ पहिलोपटक विदेश जानुभएको हो । “म नितान्त स्वास्थ्य उपचारमा गएको हुँ, मैले त्यहाँ रहँदा कसैसँग राजनीतिक भेटघाट गरिन” सञ्चारकर्मीको जिज्ञासमा सभापति देउवाले भन्नुभयो ।

तपाईहरु प्रतिपक्षमा रहँदा भूकम्पपीडितलाई एकमुस्ट रु दुई लाख दिन तत्कालीन सरकारसँग भएको सहमतिलाई किन वर्तमान सरकारले कार्यान्वयन नगरेको ? भन्ने सञ्चारकर्मीको अर्काे जिज्ञासामा उहाँले भन्नुभयो “अब यो निर्णय तत्काल कार्यान्वयन हुन्छ, यस विषयमा सरकारले के गरिरहेको छ , म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।”

पार्टीका नेता तथा कार्यकर्ताबीच सरसल्लाह गरी पार्टीलाई अगाडि बढाउने जानकारी दिँदै सभापति देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने जानकारी दिनुभयो ।

हाल सभापतिले पार्टी पदाधिकारीमा गर्ने मनोनयन पद रिक्त रहेको छ । सभापति देउवालाई पार्टीका कोषाध्यक्ष सीतादेवी यादव, नेकाका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री, सांसद तथा पार्टीका केन्द्रीय सदस्य तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक