त्रिशूलीमा बस खस्दा मृत्यु भएका १८ को सनाखत

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नम्बरको रात्रिबस शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २२ जनाको मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ । तस्बिर ः नारायण अधिकारी, चितवन, रासस

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नम्बरको रात्रिबस शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २२ जनाको मृत्यु भएको छ । तस्बिर ः नारायण अधिकारी, चितवन, रासस

चितवन, १० भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको चन्डिभन्ज्याङ गाविस–६ कालीखोला नजिकैबाट आज बिहान ३ बजेतिर त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका चालक सहित २२ जनामध्ये १८ जनाको सनाखत भएको छ ।
तीमध्ये ११ जनाको शव आफन्तले बुझेर लगेका छन् । बयालिस जना रहेको बसको दुर्घटनामा परी १६ जना घाइते भएका छन् । रौतहटको गौरबाट पोखराका लागि बिहीबार साँझ छुटेको ग१ख ३७०९ नंको बस दुर्घटनामा परेको हो । जिप्रका चितवनका अनुसार घटनास्थलमा २१ र उपचारका क्रममा चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । अन्य चार जना हराइरहेको आशङ्कामा प्रहरीले खोजी जारी राखेको छ ।

सनाखत भएकामा रौतहट, मुडवलवा–३ बस्ने ३६ वर्षीय चितरञ्जन यादव, महम्मदपुर–८ बस्ने २४ वर्षीय प्रमोद राम, लौकाह बस्ने ३० वर्षीय राकेश यादव, कटहरिया–९ बस्ने ३५ वर्षीय वृजकिशोर कुशवाह, वसतपुर–१ बस्ने २५ वर्षीय गणेशकुमार साह, मुदलवा–६ बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव, गौर –१२ बस्ने ५५ वर्षीय जोखु साह (खानेपानी संस्थानका कर्मचारी) छन् ।

त्यसैगरी रौतहटकै इनर्वा–७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी, राजपुरतुल्सी–३ बस्ने २५ वर्षीय कामेश्वरप्रसाद साह, गरुडा–१४ जयनगर बस्ने २६ वर्षीय शेष सहजित आलम, लौकाह–२ बस्ने ३६ वर्षीय सचिन्द्रप्रसाद यादव र गौर –१३ बस्ने ३५ वर्षीया सन्ध्या श्रीवास्तव छन् । सनाखत भएका अन्यमा कास्की पोखरालभल्ली डाँडा बस्ने ४१ वर्षीय चित्रबहादुर बोहरा (राकेश) र बसका चालक कास्की, लेखनाथ–१ बस्ने ३३ वर्षीय लोकराज पौडेल छन् ।

त्यस्तै भारत पूर्वी चम्पारण विहार बस्ने ३६ वर्षीय थेकन ठाकुर र ३७ वर्षीय शङ्कर ठाकुर, भारत मोतीहारी बस्ने ४० वर्षीय रामसागर भगत र मोतीहारी बेरेवाढाका थाना विहार बस्ने ३५ वर्षीया नथुनी चौधरीको सनाखत भएको छ । घाइतेमध्ये १२ जनाको चितवन मेडिकल कलेज र चार जनाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको छ ।

घाइते ३८ मध्ये चार जना नदीमा बेपत्ता भएको अनुमान गरिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो । उद्धारमा नेपाल र सशस्त्र प्रहरी बलका उच्च प्रहरी अधिकृत साँझसम्म जुटेका थिए ।

सडकबाट करिब २०० मि तल त्रिशूली नदीमा खसेको बस टुक्राटुक्रा परेको थियो । बसका कतिपय यात्रु टुक्रिएको बस पानीमाथि तैरिएपछि त्यसमाथि बसेर बचेका थिए । दुर्घटनास्थलबाट सोझै उद्धार गर्न नमिलेपछि प्रहरीले करिब ६०० मि तल कालीखोलासम्म डुङ्गामा राखेर घाइते तथा मृतकको उद्धार गरेको छ । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने कुँवरले बताउनुभयो ।
त्रिशूलीको सुसाइसँगै मानिसको चित्कार …
“अन्धकार थियो, नदी सुसाइरहेको थियो, कोही रोइरहेका थिए, कोही कराइरहेका थिए । मेरो शरीर थिचिएकाले बोल्न मिलिरहेको थिएन । पानीमाथि म थिएँ । जब म निद्राबाट ब्युझिएँ, मैले यो दृश्य देखेँ ।”
चितवन मेडिकल कलेजमा श्रीमती, छोरा र छोरीसँगै उपचार गराइरहेका २८ वर्षीय राजेश गुप्ताले बिस्तारै घटना सुनाइरहनुभएको थियो । साँझ ५ः३० बजेतिर गौरबाट बस चढेको सो परिवारसँगै गुप्ताका साला पनि बसमा सँगै थिए । बसको ढोका नजिकैको सिटमा रहेको सो परिवार बसमा सँगै रहेका २२ जनाको मृत्यु हुँदा समेत जीवित रहन सकेकामा बरर्र आँसु झार्दै गुप्ताले हर्ष पोख्नुभयो ।

पछाडिका सिटमा बसेका सालाको अवस्था थाहा नभएको गुप्ताले बताउनुभयो । भारतको सितवनी घर भई तनहुँ दुलेगौँडामा गुप्ता मसला पसल सञ्चालन गर्दै आउनुभएका गुप्ताको परिवार छोराको उपचारका लागि भारत गई फर्केको थियो । उहाँका अठ्ठाइस वर्षीया श्रीमती सुगन्धी, साढे दुई वर्षीय छोरा आकाश र पाँच वर्षीया छोरी श्वेता पनि घाइते हुनुहुन्छ ।

राजेशले भन्नुभयो “म ब्यँुझदा पानीमाथि तैरिरहेको थिएँ ।” श्रीमती सुगन्धीले भाइको अवस्थाका बारेमा थाहा नभएकामा दुःख पोख्नुभयो । बसमा निदाएकाले आफू ब्यँुझदा नदी किनारमा सबै रोइकराइरहेको गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो “धेरैबेरपछि प्रहरी पुगी डुङ्गामा हालेर यहाँ ल्याइएको हो ।” चितवन मेडिकल कलेजमा उपचाररत गुप्ताको अनुहार र शरीरमा चोटपटक लागेको छ ।

चन्द्रनिगाहपुरकी नौ वर्षीया मिली साह स्याङ्जाको वालिङ जान थिइन् । उनले भनिन्, “म र बाबासँगै बसेका थियौँ । राति भएकाले म पनि निदाएको थिएँ । निद्राबाट ब्यँुझिदा म त खोलाको भित्तामा थिएँ । मान्छेहरु कराइरहेका थिए । कहाँबाट कराएका हुन् मैले पत्तै पाइन । अन्धकार थियो । मैले मान्छेहरु बचाउ बचाउ भन्दै कराइरहेको सुनेँ ।”

वैरहनी–७ रौतहटका ३० वर्षीय शेष सराज शिक्षा सेवा आयोगको परीक्षा दिन चार साथीसँगै पोखरा जाँदै हुनुहुन्थ्यो । अस्पतालमा उपचाररत सराजले भन्नुभयो, “गाडी खस्यो, साथी प्रमोद दासले १०० मा फोन गरेर प्रहरीलाई खबर गरेको हो । ” उहाँले थप्नुभयो “हामी पानीमाथि गाडीको डन्डीमा समाएर बसेका थियौँ । उद्धारका लागि प्रहरी आउन धेरै बेर लाग्यो ।” समयमा उद्धार भएको भए यतिधेरै मान्छे नमर्ने उहाँको भनाइ छ ।
प्रहरी भने घटनास्थल पत्ता लगाउन नसकेर करिब एक घन्टा भौँतारिरहेको थियो । आज बिहान करिब ३ः३० बजे घाइते रीतेश ठाकुरले जिल्ला प्रहरी कार्यालय चितवनको कन्ट्रोलमा घटनाबारे जानकारी गराउनुभयो । सो खबर तत्काल प्रहरी प्रमुख कुँवरलाई जानकारी भयो । उहाँले मातहतका प्रहरी तत्काल परिचालन गर्नुभयो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमाललाई घटना भएको जानकारी तत्काल उहाँले गराउनुभयो । लगत्तै आफ्ना मातहतका नौ प्रहरी लिएर हमाल घटनास्थलतर्फ हुइँकिनुभयो । उहाँले भन्नुभयो “तत्काल हामी घटनास्थलतर्फ लाग्यौँ तर ठाउँ पत्ता लगाउन निकै कठिन भयो ।” उहाँले थप्नुभयो “सबैतिर अन्धकार थियो, त्यही बाटो चार पटक ओहोरदोहोर गरेपछि बल्ल घटनास्थल पहिचान भयो । घाइतेले बालेको मोबाइलको उज्यालो हेर्दै हामी घटनास्थलतर्फ झरयौँ ।” उहाँले भन्नुभयो “ठाउँ पत्ता लगाउन प्रहरीले सिठ्ठी बजाउने, साइरन बजाउने र लाइट बाल्ने गर्न थाल्यो । घाइतेको मोबाइलमा सम्पर्क भइरहेको थियो । जब घाइतेले सिठ्ठीको आवाज सुने, अनि हामीलाई स्थान पहिचान गर्न सहज बन्यो ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री