महावीर लागे राष्ट्रिय आविष्कार केन्द्र बनाउन घरदैलो अभियानमा

mahabir

फलेवास (पर्वत), ५ भदौ । राष्ट्रिय आविष्कार केन्द्र बनाउनका लागि घरदैलो अभियान सुरु भएको छ ।

पटक पटक सरकारसँग आग्रह गर्दा पनि आविष्कार केन्द्रका लागि आवश्यक सहयोग नपाएपछि म्यागासेसे पुरस्कार विजेता महावीर पुनले घरदैलो अभियान सुरु गर्नुभएको हो ।

अबको युग विज्ञान र प्रविधिको युग भएकाले विज्ञान र प्रविधिको विकासबिना मुलुक अघि बढ्न सक्दैन । सरकारले जतिसुकै आर्थिक क्रान्तिका कुरा गरे पनि विज्ञान र प्रविधिको विकास नभएसम्म मुलुकले फड्को मार्न नसक्ने भन्दै आविष्कार केन्द्र खोल्नका लागि घरदैलो अभियान सुरु गरिएको शनिबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा पुनले बताउनुभयो ।

विगत चार वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि तयारी भए पनि सरकारले बेवास्ता गरेपछि जनस्तरबाटै आविष्कार केन्द्र सञ्चालन गर्न आवश्यक सहयोग माग्दै आफू घरदैलो अभियानमा हिँडेको उहाँले उल्लेख गर्नुभयो । उहाँले मुलुकभित्रै थुप्रै सम्भावना र स्रोतहरु रहेको तर आवश्यक खोज र अनुसन्धान हुन नसक्दा ती स्रोतहरुको समुचित प्रयोग हुन नसकेको भन्दै आविष्कार केन्द्र तत्काल सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
आविष्कार केन्द्रका लागि तत्काल रु ४० देखि ५० करोड आवश्यक लाग्ने भएको छ । उक्त रकम र बैंकहरुबाट ऋण लिएर १० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने र सोही आयोजनाबाट भएको आम्दानीले आविष्कार केन्द्र सञ्चालन गर्ने योजना रहेको छ ।

एउटै विषयमा खोज र अनुसन्धान गर्न करोडौँ रुपैयाँ आवश्यक पर्ने भएकाले त्यस्ता प्रतिभा र अनुसन्धानकर्तालाई सहयोग गर्न सकिने भएको छ । विभिन्न मुलुकमा नेपाली वैज्ञानिकले खोज अनुसन्धान गरेर ती मुलुकलाई आर्थिक क्रान्तिमा अघि बढाएको अवस्थामा सरकारले यस्तो कार्यमा लगानी गर्न नसकेको उहाँले बताउनुभयो ।
उहाँले आवश्यक सहयोग गरेर उक्त अभियानमा साथ दिन पनि सबैलाई आग्रह गर्नुभएको छ ।

उक्त आविष्कार केन्द्रमार्फत कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा, वनजङ्गल जुनसुकै क्षेत्रमा पनि काम गर्न सकिने भएको छ । एउटै विषयलाई अनुसन्धान गर्न र त्यसबाट लाभ लिनका लागि वर्षौं लाग्ने भएकाले पनि तत्काल फाइदा हुँदैन तर भविष्यमा नेपाललाई विश्वका अन्य धनी राष्ट्रसरह बनाउन सकिने उहाँको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री