बैंकक, ३२ साउन । थाइल्याण्डमा गत बिहीबार राति र शुक्रबार बिहान भएका विभिन्न आक्रमणका आरोपीलाई प्रहरीले पक्राउ गरेको समाचार छ । यहाँका करिब पाँच वटा पर्यटकीय नगरमा शृंखलाबद्ध बम आक्रमण गरिएको थियो ।
थाइल्याण्डका पर्यटकीय नगरहरुमा एकैपटक भएका ती शृंखलाबद्ध हमलाहरु आतङ्कवादीबाट भएको भनी स्थानीय सञ्चारमाध्यमहरुले प्रचार गरेपछि यहाँ पनि सो हमलाको त्रास बढेको थियो ।
सो हमलाबाट चार जनाको ज्यान गएको छ भने अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । कैयौँको उपचार जारी छ ।
उक्त हमलामा परी घाइते हुनेमा विदेशी पर्यटक पनि परेका छन् । थाइल्याण्डमा बिहीबार राति र शुक्रबार बिहानसम्म कम्तीमा पनि ११ स्थानमा बम हमला भएको थियो ।
आक्रमण प्राय द्वन्द्वग्रस्त मानिएको दक्षिणी प्रान्तमा बढी भएको थियो । तर ती आक्रमणहरु आतङ्ककारी आक्रमण भने नभएको प्रहरीको भनाइ छ ।
कतिपय समाचारमा थाइल्याण्डमा पनि आइएसको हमला भएको भनी समाचार आएपछि प्रहरीले सो धारण राखेको हो ।
थाई प्रहरी प्रवक्ता पियापान पिंगमुगले घरायसी समूहबाट यस्तो हमला भएको हो भन्दै यसका आक्रमणकारीको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको जनाउनुभयो ।
तर के कतिजनालाई पक्राउ गरिएको छ भन्ने बारेमा भने केही पनि बताइएको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।
थाइल्याण्डका दक्षिणी प्रान्तहरुमा पछिल्ला वर्षहरुमा हिंसात्मक क्रियाकलापहरु हुने गरेका स्थानमा प्रहरीले व्यापक मात्रामा खोजी अभियान सुरु गरेको छ ।
ती क्षेत्रहरुमा शुक्रबार बिहानैदेखि कडा सुरक्षा व्यवस्था अपनाइएको छ । स्थानीय सञ्चारमाध्यमहरुले आतङ्कवादी हमला भएको जनाएका छन् ।