अमेरिका, इरान र चीनद्वारा अस्पताल आक्रमणको निन्दा

pakistan-quetta-2

वासिङ्गटन, २६ साउन । दक्षिणपश्चिमी पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक अस्पतालमा गत सोमबार भएको भीषण आत्मघाती आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ । ह्वाइट हाउसद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिइएको हो ।

सो विज्ञप्तिमा आतङ्कवाद विरुद्धको लडाइमा अमेरिका सधै पाकिस्तानी सरकार र जनताको साथैमा रहेको बताइएको थियो ।

त्यसैगरी इरानको विदेश मन्त्रालयले पनि मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा सो आक्रमणको कडा शब्दमा निन्दा गरेको तास्नीम समाचार समितिले जनाएको छ । यस दुखत घडीमा पाकिस्तानी सरकार र जनतालाई गहिरो शोक प्रकट गरिएको इरान विदेश मन्त्रालयमा प्रवक्ता बहरम कसेमीले बताउनुभएको छ ।

यसैबीच चीनको विदेश मन्त्रालयद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा यस भीषण आतङ्ककारी आक्रमणको घोर निन्दा गरिएको छ ।

चीनको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा यस हृदयविदारक घटनाप्रति गहिरो समवेदना प्रकट गरिएको छ । आक्रमणबाट मारिएका व्यक्तिका परिवारजन र घाइते व्यक्तिलगायत समस्त पाकिस्तानलाई गहिरो समवेदना प्रकट गरिएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभएको छ ।

क्वेटास्थित एक नागरिक अस्पतालको आकस्मिक कक्षमा भएको सो विस्फोटमा परी कम्ती ७२ व्यक्तिको मृत्यु हनुको साथै अन्य ११२ जना घाइते भएका थिए ।

बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष तथा वरिष्ठ वकिलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्ति माझ सो भीषण आत्मघाती आक्रमण भएको थियो ।

आफ्ना सहकर्मी वरिष्ठ वकिलको मृत्युको समवेदना प्रकट गर्नका लागि करिब दुई सय वकिल दर्जनौँ पत्रकार अन्य सर्वसाधारण अस्पतालको आकस्मिक कक्षमा जम्मा भएका थिए ।

बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए । वरिष्ठ वकिल बिलाल अन्वार कासी आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा सोमबार बिहान मारिएका थिए ।

शोक प्रकट गर्न जम्मा भएका वकिल तथा समाचार सङ्कलनका लागि पुगेका कैयौँ पत्रकार घाइते भएका थिए ।

यस आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिवान समूह र इस्लामिक स्टेट (आइएस) लडाकू समूह दुवैले लिएको ती आतङ्ककारी समूहले जानकारी दिएको छ ।

प्रान्तीय सरकारले बलुचिस्तान राज्यभर तीन दिन शोकको घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री