
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौँको भृकुटीमण्डपमा आइतबार आयोजित नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनमा अभिवादन गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २३ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृसंस्था नेपाल विद्यार्थी सङ्घको महाधिवेशनमा पार्टीको कुनै हस्तक्षेप नहुने बताउनुभएको छ ।
सङ्घको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले अब देश हाँक्ने युवा पुस्ता नै हो भन्दै सङ्घको महाधिवेशनमा देखिएका विवाद विद्यार्थी नेताले नै मिलाउनुपर्ने बताउनुभयो ।
आफू र आफ्नो पुस्ताका नेताले पार्टीका मुलुकका विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको बताउँदै सभापति देउवाले भन्नुभयो, “सङ्घको झगडा आफैँ मिलाउनुस्, विवादमा हामीलाई नतान्नुस् ।” काँग्रेस बलियो नभएसम्म प्रजातन्त्र खतरामा रहिरहने उहाँको धारणा थियो ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले विद्यार्थी नेताहरुलाई सङ्घमा हाबी हुँदै गएको पैसा र बाहुवलको प्रवृत्तिलाई अन्त्य गरेर राजनीतिलाई स्वच्छ र सम्मानित बनाउने अभियानमा लाग्न सुझाव दिनुभयो ।
उहाँले संविधानबमोजिम स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै सङ्घमा जिम्मेवारी नपाउने विद्यार्थी नेताहरुलाई स्थानीय निकायको निर्वाचनमा जुट्न सुझाव दिनुभयो । कोषाध्यक्ष सीतादेवी यादवले मुलुकमा भ्रष्टाचार मौलाएको बताउँदै त्यसको अन्त्यका लागि युवापुस्तालाई जुट्न आग्रह गर्नुभयो ।
काँग्रेस नेता एवम् उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भातृ संस्थाहरुले वर्गीय र राष्ट्रिय हितमा लाग्नुपर्ने बताउँदै संविधानले हासिल गरेका महत्वपूर्ण उपलब्धि संस्थागत गर्न सबै एकजुट हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा काँग्रेसका पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता गोपालमान श्रेष्ठ दीलेन्द्रप्रसाद बडू, पूर्णबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा प्रकाशमान महत, गगन थापालगायतले पार्टीको नेतृत्व विकासका लागि सङ्घको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै महाधिवेशन सफल पार्न सबै लाग्नुपर्ने बताउनुभयो ।
पार्टीका नेता एवम् नेवि सङ्घका पूर्व अध्यक्षहरु विपिन कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ र रञ्जीत कर्णले मुलुकका ऐतिहासिक राजनीतिक परिवर्तनमा सङ्घले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै सङ्घ पार्टीको हस्तक्षेपबाट मुक्त हुनुपर्ने धारणा राख्नुभयो ।
समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औँ महाधिवेशन भन्ने नाराका साथ आज सुरु भएको नेवि सङ्घको महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
करिब तीन हजार ४०० प्रतिनिधि रहने भनिएको नेवि सङ्घको महाधिवेशन उद्घाटन सुरु भए पनि प्रतिनिधिको टुङ्गो अझै लागेको छैन ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा