हरेक घन्टा र दिनलाई उपयोग गरेर काम गर्छु– प्रधानमन्त्री

Dahal

काठमाडौँ, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभएको छ ।

आज आफ्नै निवास लाजिम्पाटमा प्रेस सेन्टर नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले समय निकै कम भएकाले दिन रात नभनी मुलुक र जनताको पक्षमा काम गर्ने बताउनुभएको हो ।

उहाँले आफ्नो नेतृत्वको सरकारको प्रमुख प्राथमिकतामा भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता र संविधानको कार्यान्वयन नै रहेको बताउनुभयो ।

आफू चुनौतीपूर्ण अवस्थामा मुलुकको कार्यकारी प्रमुखको रुपमा निर्वाचित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले चुनौतीलाई अवसरमा बदल्ने र नेपाली जनतालाई केही न केही फरक महसुस गर्ने गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले जनतालाई तत्कालीन राहत दिँदै केही दीर्घकालीन योजना समेत अगाडि बढाउने सोचमा आफू रहेको जानकारी दिँदै त्यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

संविधानसभाको पहिलो निर्वाचनपछिको करिब दश वर्षमा धेरै राजनीतिक उतार चढाव आएको भन्दै प्रधानमन्त्री दाहालले विगतको अनुभवका आधारमा पनि केही न केही नयाँ गर्नैपर्ने अवस्थामा आफू रहेको उल्लेख गर्नुभयो ।

उहाँले आफ्नो नेतृत्वको सरकारको प्राथमिकतालाई उल्लेख गर्दै भन्नुभयो “आन्तरिक राष्ट्रिय एकता सुदृढीकरण, मधेसी, थारु, आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गर्ने, संविधानको कार्यान्वयन गर्दै मुलुकलाई निर्वाचनतर्फ लैजाने र लामो समयदेखि अवरुद्ध हुँदै आएको भूकम्पपछिको पुनःनिर्माण अभियानलाई तीव्रता दिनु नै प्रमुख रहेको छ ।”

बेरोजगार युवालाई मुलुकभित्रै रोजगारी दिन आफूले केही नयाँ कार्यक्रम अगाडि सार्ने र विदेशमा रहेका युवालाई स्वदेश फर्काउन पहल गर्ने उहाँको कथन थियो ।

यस्तै मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षति भएकालाई राहत तथा पुनःस्थापना गर्ने, सहिद बेपत्ता परिवारलाई राहत तथा सरकार भएको अनुभव दिलाउने प्रधानमन्त्रीको प्रतिबद्धता थियो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो “मेरो लागि लामो समय छैन, हरेक दिन र हरेक घन्टालाई सदुपयोग गरेर मुलुक र जनताको सामु अमिट छाप छोड्ने गरी काम गर्छु । त्यसमा सहयात्री दल र सबैको साथ र सहयोग जरुरी रहन्छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री