बन्दले उपत्यकाको जनजीवन सामान्य प्रभावित

नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण सुनसान बनेको पोखरा नयाँबजारको दृश्य । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस

नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण सुनसान बनेको पोखरा नयाँबजारको दृश्य । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस

काठमाडौँ, १० साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आयोजना गरेको बन्दका कारण आज काठमाडौँ उपत्यकाको जनजीवन सामान्यरुपमा प्रभावित भएको छ ।

बन्दकर्ताले मीनभवन र गोङ्गबुमा दुईवटा ट्याक्सीमा आगजनी गरी क्षति पुरयाएका छन् । मीनभवनमा बा१ज ५१६२ नंको ट्याक्सीमा बिहान ३ः४५ बजे पेट्रोल छर्केर आगजनी गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

त्यस्तै बन्दकर्ताले गोङ्गबुमा बा१ज २८६ नंको ट्याक्सीमा आगजनी गरेका छन् । दुवै ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

राजधानीमा सार्वजनिक सवारीसाधन कम चले पनि निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालन भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साझा यातायात, कान्तिपुर यातायात, माइक्रो, टेम्पोलगायतका सवारी साधन बिनाअवरोध सञ्चालन भइरहेका छन् ।

सर्लाहीको सागरनाथमा सुकुम्बासीमाथि ज्यादती भइरहेको भन्दै त्यसको विरोधमा सो पार्टीले गरेको बन्दका कारण शिक्षण संस्थासमेत बन्द भएका छन् ।

जबर्जस्ती बन्द गराउँदै हिँडेका ६५ कार्यकर्ता पक्राउ परेका छन् । उपत्यकामा ३५ सहित उपत्यका बाहिरका गरी जम्मा ६५ जना कार्यकर्ता पक्राउ परेको पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले राससलाई जानकारी दिनुभयो ।

बन्दको प्रभाव उपत्यकामा सामान्य परे पनि कामकाजी सर्वसाधारण भने मर्कामा परेका छन् ।

बन्दको क्रममा ट्रकमा आगजनी, छ जना पक्राउ

तनहुँ, १० साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा आज तनहुँमा ट्रकमा आगजनी भएको छ ।

भैरहवाबाट सिमेन्ट लिएर आउँदै गरेको ना४ख ३९१ नम्बरको ट्रकलाई अज्ञात समूहले बन्दीपुर नगरपालिका–५ आँधिखोलामा रोकी जलाएका हुन् ।

बिहान सवा ५ बजे ट्रकका चालक र सहचालकलाई ट्रकबाट ओराली उनीहरुले आगो लगाएका थिए । आगजनीबाट ट्रकको अगाडिको भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगजनी हुने बित्तिकै सशस्त्र र नेपाल प्रहरीले आगो निभाएका थिए ।

यस्तै सोही समूहले चोक्कर लिएर आएको ना५ख ४१३ नं को ट्रकमा ढुङ्गामुडा गर्दा ट्रकको अगाडिको सिसा फुटेको छ । ट्रकमा आगजनी गरेको आशङ्कामा प्रहरीले नेकपा माओवादीका छ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओम पन्त, डम्बर विक, राजन बराल, नरेश घिमिरे, बाबुराम विक र नवीन थापा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री