
चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने षडयन्त्रमा सरकारको समर्थन फिर्ता – सञ्चारमन्त्री
भक्तपुर, ६ साउन । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने षडयन्त्रले वर्तमान सरकार विघटन गराउन माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपालको कायापलट हुने डरले नेपाली काँग्रेस र माओवादी केन्द्रले वर्तमान सरकार विघटन गराउन खोजेको आरोप लगाउनु भयो ।
काँग्रेस र माओवादीले गलत नियतले अँध्यारो कोठामा बसेर गरेको सम्झौताले सकारात्मक परिणाम नल्याउने दाबी गर्दै उहाँले यो गठबन्धन नेपाल र नेपालीको हितमा नभएको जिकिर गर्नुभयो ।
वर्तमान समयमा सभामुखले संसद्मा आफ्नो भूमिका निष्पक्ष राख्न नसक्दा राजनीतिक दलहरुबीच झडपको स्थिति उत्पन्न भएको बताउँदै उहाँले सभामुखका कारण संसद्को मर्यादामा समेत प्रश्न उठेको उल्लेख गर्नुृ भयो ।
संसद्मा सभामुखले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भए तापनि हाल उहाँको भूमिकालाई नियाल्ने हो भने निष्पक्ष नरहेको उहाँको भनाइ थियो । वर्तमान सरकारले ल्याएको नीति र कार्यक्रम अब बन्ने सरकारले जस्ताको त्यस्तै कार्यान्वयन गर्ने मन्त्री राईको भनाइ छ ।
सरकारको नीति तथा कार्यक्रम दुई करोड ८० लाख नेपाली जनताले अनुमोदन गरिसकेकाले यसलाई कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आर्थिक विधेयक पारित गरेर मात्रै संसद्मा सरकारविरुद्ध अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने एमालेको अडान रहेको बताउँदै उहाँले यसो नगरी बलजफ्ती गर्न खोजे अविश्वासको प्रस्तावमाथि छलफल नहुने बताउनुभयो ।
वर्तमान सरकारले सञ्चार क्षेत्रमा देखिएका विभिन्न अवरोधलाई नियन्त्रण गर्दै सञ्चार नीति सार्वजनिक गरेको र यसले सञ्चार क्षेत्रको विकासमा अहम् भूमिका निर्वाह गर्ने भएकाले जस्ताको तस्तै कार्यान्वयन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई